• बुधबार, १२ बैशाख, २०८१
  • ०३:१८:५१

युवाको पक्षमा उभिएको जनमत

  • Netizen Nepal
  • बिहीबार, २२ मङ्सिर, २०७९- १०:५७:००/ Thursday 12-08-22

मंसिर ४ भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतपरिणाम आइसकेको छ । निर्वाचनमा सहभागी ८७ दलमध्ये १२ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भएका छन् । तर ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । परिणामअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो दल बनेका छन् । नेकपा एकिकृत समाजवादी प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १० सिट जितेर पनि राष्ट्रिय दल बन्न सकेन । 

यसपालीको निर्वाचनमा होमिएका दलहरु सत्ता र शक्ति आर्जनका लागि चार समुहमा भएको मान्न सकिन्छ । सत्ता गठबन्धनअन्तर्गतका नेपाली कांग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादीलगायतका दलहरुको एउटा समूह थियो । नेकपा एमाले, राप्रपा, जसपालगायतका दलहरुको अर्को तालमेल समूह थियो । रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीहरु नयाँ दलको रुपमा आए र राम्रै सिट जित्न पनि सफल भए । यिनिहरुलाई फरक समूहको रुपमा जनताले हेरे र भोट पनि दिए । अर्को समूह भनेको स्वतन्त्र उमेद्वार दिएकाहरुको हो, जसले आफ्नै दलबाट बागी उमेद्वार दिएर पनि चुनाव जितेका छन् । 

यो चुनावमा ठुला पार्टीहरुलाई समेत जनमतले खुम्च्याइदिएको छ । जसले गर्दा कुनै पनि समूहको स्पष्ट बहुमत आएको छैन । यसको अर्थ यो हो कि पुराना र नयाँ दुवै उमेद्वारसंग मतदाता ढुक्क हुन भने सकेनन् । पुरानादलप्रति विश्वास गुमेको अवस्था, नयाँले राजनीतिक जिम्मेवारी पुरा गर्न सक्नेमा शंका व्यक्तको झलक यो मतपरिणामले देखाएको छ । 

 

यस पटकको निर्वाचनमा उमेद्वार ठिक व्यक्ति भएमा पैसा खर्च नगरीकन पनि जित्न सकिन्छ भन्ने कुराको सन्देश सहरी मतदाताले दिएका छन् । जनताले खुल्लारुपमा स्वीकार गरेका गगनथापा, रवि लामिछाने, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम र विश्वप्रकाश शर्मा लगायतका उमेद्वारहरुको पक्षमा देखिएको जनलहर र  शक्तिशाली भनिएका नेताहरु शंकर पोखरेल, ईश्वर पोखरेल, बालकृष्ण खाँण जस्ता व्यक्तिको पराजय यसको उदाहरण मान्न सकिन्छ । 

अब पार्टीको झण्डा र खोक्रो सिद्धान्तको रटान सुनेर हजुरबादेखि नाति पुस्तासम्म एकमत हुने जमाना पनि गइसक्यो भन्ने आवाज युवा मतदातामा देखिन्छ । चिठीको जमानाका हजुरबाले अहिलेको इन्टरनेट र स्मार्ट फोनको युगलाई बुझ्न सक्दैनन् र डन्डीबियो खेलेर केश पाकेका व्यक्तिले अहिलेको पब्जीलाई पनि स्वीकार गर्न सक्दैनन् भन्दै युवा मतदाताले विकासका यी नयाँ आयाम बुझ्ने नेतृत्व खोजिरहेको सन्देश पनि यो निर्वाचनमार्फत दिएका छन् । 

यस्तै, पार्टीले उर्दी गरेको आदेशअनुसार नै कार्यकर्ता पछिपछि लाग्छन र ’मह काट्ने र हात चाट्ने’ दुवै आफैंले गर्न सकिने भ्रम पालेर बसेका नेताहरुलाई समेत यो निर्वाचनको मतपरिणामले लोप्पा खुवाइदिएको छ । आफूलाई ’क वर्ग’को राजनैतिक ठेकेदार दाबी गर्ने नेताहरुको चुरीफुरीसमेत यो निर्वाचनले खुल्याइदिएको छ । 

राजनीतिक चेतना यसरी बढेको देखियो कि राम्रो उमेद्वार छ भने एक पार्टीको युवाले अर्को पार्टीको व्यक्तिलाई समेत खुलेर भाोट दिए । नराम्रो उमेद्वार छ भने आफ्नै पार्टीको उमेद्वारलाई समेत खुलेर बहिस्कार गरे । यहि चेतको परिणाम हो कसैले अपेक्षा नगरेको जनमत आउँनु । यस पटकको निर्वाचनमा मतादाताको युवाप्रति बढि आशा र भरोसा देखियो । युवाहरुले पनि अब कुनै पनि पार्टीको झण्डा बोकेर झोले कार्यकर्ता हुनु छैन र पार्टीले उर्दी स्वीकार गर्दै ढुंगा हान्ने र झ्याल फोर्ने गरेर देशको विकास हुन सक्दैन भन्ने कुरा राम्रोसंग मनन गरेको देखियो । उनिहरुलाई त अब समुन्नति चाहिएको छ ।  विकास, निर्माणमा पनि प्राविधिक विकास चाहिएको छ । नेपालमा बसेर अमेरिकाको जागिर खाने वातावरण मिलाउन सक्ने नेतृत्व उनीहरु चहिरहेका छन् । 

उनिहरुको यो स्वरमा अधिकांश अग्रजहरुले पनि साथ दिएका छन् । यहि कारणले गर्दा यसपटक मतदाताले नयाँ विकल्प खोजेको स्पष्ट सन्देश दिएका छन् । मतदाताको यो अपेक्षलाई भरोषा दिलाउनका लागि दलहरुले आर्थिक, सामाजिक र राजनैतिक मोडेल खोज्न जरुरी छ । यसका लागि हरेक पार्टीका युवाहरु अघि बढ्न आवश्यक छ भने पाका पुस्ताका नेताले युवाहरुलाई राजनीति र राजकाजको नेतृत्व हस्तान्तरण गर्न आवश्यक देखिएको छ । 

नेपालमा सबैभन्दा पुरानो र नेतृत्व तहमा पनि पाका व्यक्तिहरुकै हालीमुहाली रहेको भनिने दल नेपाली कांग्रेसमा पछिल्लो समयमा युवाहरुले जसरी हस्तक्षपकारी भूमिका निर्वाह गरेका छन्,यसले मतदाताको मनोभावनाअनुसारको युवा कदमको रुपमा केहि आशा पलाएका छन् । अन्य दलहरुमा पनि युवाहरु त्यसरी नै तात्न जरुरी छ । आवाज उठाउने बित्तिकै पार्टीबाट पाइरहेको सेवा सुविधा खोसिने हो कि भन्ने डरलाई युवा नेतृत्वले हटाउन आवश्यक छ । 

अब पनि पाका नेताहरुले आफ्नो राजनीतिक ढर्रामा सुधार गर्न सकेनन् भने उनिहरुले आजसम्म नेपालको राजनैतिक व्यवस्थाका लागि गरेका योगदानहरु समेत छायामा पर्नेछन् । युवाहरु पनि पाका पुस्ताले दिए खाउँला नदिए जोखाना हेरेर बसौला भनेमा उनिहरुप्रतिको विश्वास पनि गुम्नेछ । लोकतन्त्रमा जनमतको कदर सबैभन्दा ठूलो धर्म हो । त्यसैले जनमतको अंक गणित मात्र होइन, त्यो भन्दा कैयौं गुणा बढि तौल भएको मतदाताको मनोज्ञिानलाई सम्मान गर्न नेतृत्व,राजकाज शैली र विकासको तरिकालाई बदल्न आवश्यक छ भन्ने कुरालाई मनन् गरौं ।