• शुक्रबार, २ कार्तिक, २०८१
  • १२:१६:४५

नेपालको हवाई सुरक्षा माथि तेर्सिएका प्रश्नहरु 

नेपालमा सन् १९५२ देखि हवाई सेवाको सुरुवात भए यता दर्जनौं दुर्घना भएका छन् भने झण्डै एक हजार हाराहारी यात्रुको मृत्यु समेत भएको छ । हवाई सेवाको सघनतासँग सँगै पछिल्लो समयमा बढ्दै गएको हवाई दुर्घटनाले हाम्रो हवाई सुरक्ष प्रणली माथि प्रश्नहरु उठिरहेका छन् । यस भन्दा अगाडि नै नेपालले आइकाओको मापदण्ड अनुसार सुरक्षा सुनिश्चितता गर्न नसकेको भन्दै नेपालको हवाई सेवालाई कालो सूचिमा राखेको छ । उक्त कालो सूचिबाट नेपाललाई हटाउनको लागि नेपालले बारम्बार आइकाओलाई अनुरोध गर्दै आएको छ । र आइकाओले दिएका सुझावहरुलाई लागु गर्नका लागि प्रतिवद्धता दोहोराएको पनि छ । यस क्रममा केहि सुधारका कामहरु पनि भएका छन् । 

एकार्तफ सुधारका कामहरु भइरहेको भनेर  नेपाललाई कालो सूचिबाट हटाउनको लागि अनुरोध गरिएको अवस्था अर्को तर्फ बारम्बार रुपमा विमानहरु दुर्घटना बढिरहेका छन् ।  दुर्घटना बढ्दै जादाँ आइकाओले नेपाललाई कालो सूचिमा राखेर ठिकै गरेको छ कि क्या हो भन्ने प्रश्न आम नेपाली नागरिकहरुबाट नै उठ्न थालेको छ । पछिल्लो समयमा यहि साउन ९ गते भएको सौर्य एयरलाइन्सको दुर्घटना र यसबाट भएको १८ जनाको मानवीय क्षतिले विमान सुरक्षामा नागरिक आशंका नै जन्मिएको छ । प्राविधिक जाँचका लागि उडाइएको जहाजमा सामान्य उडानमा जस्तै यात्रुहरु समेत बोकेको घटनाले यो आशंकालाई मलजल गरेको छ । 

विमानको प्राविधिक कारणहरुले हुने या मौसमी कारणहरुले हुने र्दुघटना एउटा पाटो हो । जसमा मानविय नियन्त्रण हुदैन तर लापरवाहि गरेर र्दुघटना सँगै जोखिमको मात्रा बढाउने क्रम जुन बढिरहेको छ त्यसमाथि गम्भिर प्रश्न उठिरहेको छ । प्राविधिक चोक जाँच  अर्थात् सि चेक गर्नका लागि भएको उडानमा किन सर्वसाधारणलाई चढाइयो भन्ने गम्भिर प्रश्न चाहि उठेको छ । यो प्रश्न विमान कम्पनि माथि त उठेको छ नै त्यो भन्दा पनि कडा रुपमा नियमक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण माथि उठेको छ ।

कुनै पनि विमान उडान  गर्दा त्यसमा यात्रा गर्ने यात्रुहरुको सङ्ख्या, तिनिहरुको सुरक्षा लगायतका कुराहरु नियमक निकायले तोके बमोजिम हुनुपर्छ । प्राविधिक चेक जाचँ गर्न जान लागेको विमानमा सर्वसाधारण मानिसहरुलाई चढाउन हुदैन भन्ने कुरा एउटा नियमकै रुपमा रहेको छ । तर विमान र्दुघटना  भैसके पछि सरकारी कर्मचारि देखि नाबालकसम्मको  मृत्युको  घटनाले  विमान कम्पनि र नियमक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको लापरवाही देखिन्छ । यस किसिमका गलत अभ्यासहरु दुर्घटना हुनु अघि नै नियमक निकायले कडाइकासाथ पालना गराउँनु पर्दथ्यो  ।  घटना बाहिर आएपछि मात्र यस्ता किसिमका लापरवाहिका कुराहरु छन् भन्ने कुरा बाहिर आम नागरिकले थाहा पाउने अवस्ता रह्यो । अनि नियमक निकाय र विमान कम्पनी माथि नै प्रश्न तेर्सियो । 

 यसले विमान कम्पनिहरु माथिको अविश्वास त बढेर जाने छ नै त्यति मात्रै होईन हाम्रो समग्र हवाई उड्यनलाई नै यसले अप्ठ्यारोमा पार्नसक्छ ।  यसरी बाहिर उठेका प्रश्नहरुको जवाफ दिने, त्यसलाई विश्वस्त पार्ने र गुमेको साख आर्जन गर्नेमा कसरी काम गर्ने यो एउटा ठूलो चुनौतिको रुपमा  खडा भएको छ ।

यो घटनालाई चानचुने घटना मान्नु हुदैन । यो  एउटा घटनाबाट सिकेर अब नियमक निकायले कडाइकासाथ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना भएको सुनिश्चितता गर्नुपर्छ । विमान कम्पनिहरुले पनि यात्रुहरुको सुरक्षा माथि खेलबाड गर्नु हुदैन । त्यसमा उनिहरुलाई वाध्य हुने मापदण्डहरुलाई अनिर्वाय रुपमा लागु गर्नुपर्छ । यदि उनिहरुले लागु गर्दैनन् भने नियमक निकायले यस्ता विमान कम्पनिहरुलाई कडा भन्दा कडा कारवाहि गर्नुपर्छ । र नियमक निकायले पनि राम्ररी तिनिहरुको नियमन गर्न सक्दैन र त्यसलाई सुनिश्चितता गर्न सक्दैन भने त्यसको नेतृत्वलाई समेत सरकारले दण्डित गर्नुपर्छ ।

यो पाटोमा पनि पछिल्लो समयमा संसदिय समितिहरुमा पनि प्रश्न नउठेको होइन । यो प्रश्न उठेका छ, यो प्रश्नलाई प्रश्नकै रुपमा , सिमित गर्ने होईन कि यसलाई समाधानको एउटा उपाएको रुपमा निश्कर्ष निकाल्नुपर्छ । र आगामी दिनमा नेपालको हवाई क्षेत्र सुरक्षित छ भन्ने कुराको सन्देश दिनको लागि त्यो अभ्यास गर्ने एउटा आधार तयार गर्नु पर्ने देखिन्छ । त्यसमा सम्बन्धित सबै पक्षको ध्यान जान जरुरी छ ।