• सोमबार, २३ माघ, २०७९
  • ०२:५१:१०

पहिरोपीडितलाई राहत, पाँच किलो चामल

  • Netizen Nepal
  • बिहीबार, २८ पौष, २०७९- १३:०८:००/ Thursday 01-12-23

नेटिजन संवाददाता 
काठमाडौँ, २८ पुस। खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो ।

ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिएका थिए उनीहरू । विष्ट टोलको आँगनदेखि वरिपरि पहिरोमय नै भयो । नौ परिवार रहेको विष्ट टोल भर्खरै बनेको क्याम्पसको भवनमा गयो । त्यहाँ पनि नअटाएपछि गुलेनीचौर, कालुखेती, चाकेगडा गएर पनि आश्रय लिए । त्यसयता चार परिवार भने अझै क्याम्पसकै दुईकोठे भवनमा आश्रय लिइरहेका छन् ।

“खेती गर्नलाई जमिन छैन । सानो–तिनो मजदुरी गरेर पेट पालिरहेका छौँ”, भरत विष्ट दुःखेसो पोख्नुहुन्छ । आफ्नो अवस्था देखाएर धेरै निकायलाई गुहार्दा पनि कसैले कुनै सहयोग नगरेको उहाँको गुनासो छ । “दर्जनौँ सङ्घसंस्था, सरकारी निकायलाई गुनासो पोख्दा पनि कसैले पनि चासो देखाएनन् । अहिले त कसैलाई पीडा सुनाउन पनि औचित्यहीन लाग्छ”, उहाँले भन्नुभयो ।

पहिरो आएको दिन सम्झँदै भरतकी श्रीमतीले भन्नुभयो, “त्यो दिन त सम्झँदा पनि शरीर काँप्छ । मेरो त सातो उडिसकेको थियो । धन्न भाग्न सफल भयौँ । उतिबेला पहिरोबाट ज्यान त बचाइयो तर अहिले भोकभोकै मरिने अवस्था आयो ।”

बाढीपहिराले नोक्सान गरेको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षण गर्न खप्तडछान्नामै पुग्नुभयो । तर उहाँ सवार हेलिकोप्टर आकाशबाटै निरीक्षण गरेर फर्कियो । त्यसै दिन सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, कानुनमन्त्री पूर्णा जोशीसहितको टोली पनि निरीक्षणमा आयो । तर विष्ट परिवार भएको ठाउँमा कसैको नजर परेन ।

दोस्रोपटक फेरि प्रदेश सरकारको ठूलो टोली राहत वितरणमा आयो । टोलीले खप्तडछान्ना–१ मा एक–एक बोरा चामल दियो । विष्ट परिवारका नौ परिवारको भागमा भने २५–२५ केजीका दुई बोरा चामल, दुई केजी दाल, दुईवटा टर्च लाइट, नौवटा कम्मल परेको थियो । “राहतका नाममा पाएको त्यही हो”, विष्टले भन्नुभयो, “दुई बोरा चामल नौ परिवारलाई बाँड्दा साढे पाँच केजीजति मात्रै भागमा प¥यो ।”

सम्पत्तिका नाममा भएको जायजेथा सबै नोक्सान भएपछि स्थानीय सरकारसँग सहयोग माग्दासमेत केही नपाएको पुतली विष्टले बताउनुभयो । खातीगाउँका प्रेम खाती, धन्दुरी खातीको सर्वस्व बाढीले लुट्दा पनि राहत नपाएको गुनासो गर्नुहुन्छ । बाढीको दोस्रो दिनमा प्रदेश सरकारले एक बोरा चामल दिएकोबाहेक अहिलेसम्म केही नपाएको उहाँ बताउनुहुन्छ ।

बाढी आएको दुई सातापछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि बाढी प्रभावित क्षेत्रमा निरीक्षणमा आउनुभयो । बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र पूर्वाधार निर्माणमा जोड दिने आश्वासन दिनुभयो ।

मङ्सिर २१ गते सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दा बझाङका पनि चार स्थानीय तह परे तर त्यो घोषणा त्यसैमा सीमित रह्यो । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरूमा पुनःनिर्माणका लागि कत्ति पनि पैसा नआएको खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले बताउनुभयो ।

खप्तडछान्ना गाउँपालिकाका मात्रै बाढीपीडित ७६ परिवार छन् । गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले भन्नुभयो, “७६ मध्ये ६६ परिवारको विवरण भरिसकेका छौँ । अब १० परिवारको मात्रै बाँकी छ”, उहाँका अनुसार पीडितले जमिन किनेर लालपुर्जा प्राप्त गरेपछि प्राधिकरणले मागेको विवरणमा भरेर पठाउनुपर्छ ।

खप्तडछान्नामा विष्ट परिवारले भने जमिन खरिद नगरेको हुँदा विवरण पेस नगरेको उहाँले बताउनुभयो । “हामीले सबैको विवरण पेस गरिसकेका छौँ, पाटादेवलमा एक परिवार, माझिगाउँमा एकसहित विष्ट परिवारको लालपुर्जा ढिलाइ भएकाले पठाउन सकिएको छैन ।”

विष्ट परिवार बसेको टोलको लालपुर्जा एउटैको नाममा छ । तर दुई पुस्ताका सन्तानहरू अलग हुँदा नौ परिवार भइसकेको छ । सरकारले जमिन किनेपछि घर बनाउनलाई पैसा दिने भनेको छ । तर उनीहरूसँग जमिन किन्नलाई पैसा नभएकाले उनीहरूका लागि सरकारी आश्वासन केबल भनाइमै सीमित बनेको छ । रासस