• शुक्रबार, २ श्रावण, २०८२
  • ०४:३७:५१

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गरिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताउनुभयो । “महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ”, मन्त्री लेखकले भन्नुभयो, “यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”

सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।