• सोमबार, २३ माघ, २०७९
  • ०२:४९:५३

अस्वस्थकर जीवनशैलीका मानिसहरु नै १०० वर्षमाथि बाँचेको तथ्य !

  • Netizen Nepal
  • शनिबार, ७ माघ, २०७९- १३:००:००/ Saturday 01-21-23

नेटिजन संवाददता 
काठमाडौँ, ७ माघ । यस वर्षको सुरुवातमा जब उनले दिनहुँ पिउने चुरोट माग्न छोडिन् तब योसेफा मारिया दा कोन्सिकोका आफन्तहरूले अनुमान गरे कि केही कुरा ठिक भइरहेको छैन ।

उनमा यस्तो परिवर्तन तब देखियो जब ब्रजिलका सेवानिवृत्त यी कृषकले १२० औँ जन्मदिन मनाएकी थिइन् । "मेरी आमाले आफ्नो जीवनभरि धुमपान गर्नुभयो," योसेफाका चार जीवित सन्तानमध्ये एक सिसेरा भन्छिन् ।

योसेफाका कुल २२ सन्तान थिए । "उनको उमेर घर्कँदै जाँदा हामीले सधैँ चुरोट छोड्न लगाउन कोसिस गर्‍यौँ । तर आमाले सधैँ आफैँ चुरोट लिन जाने धम्की दिनुहुन्थ्यो ।"

स्थानीय टेलिभिजनले "विश्वको सबैभन्दा वृद्ध महिला"को रूपमा प्रस्तुत गर्दा आफ्नो मूल थलोमा प्रसिद्धि कमाएकी योसेफा विगतका वर्षहरूमा भन्दा निकै कमजोर देखिएको आफन्तहरू बताउँछन् ।

योसेफाको परिचयपत्रले उनको जन्म ७ फेब्रुअरी १९०२ मा भएको देखाउँछ । तर, गिनिस वर्ल्ड रेकर्ड्समा उनको नाम लेखाउने प्रयास असफल भयो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति, सिस्टर आन्द्रे भनिने फ्रान्सेली महिला लुसिल र्यान्डनको ज्यानुअरी १७ मा ११८ वर्षको उमेरमा निधन भयो ।

गिनिस वर्ल्ड बुक अफ रेकर्ड्सले मान्यता दिएको उनको कीर्तिमानको उत्तराधिकारी अब को बन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ । हालसम्म उमेर प्रमाणिकरण गरिएको अर्को वृद्धा अमेरिकाकी मारिया ब्रान्यास मोरेरा हुन्। उनी आउँदो मार्च महिनामा ११६ वर्षको हुनेछिन् । 

पुरुषमा यो कीर्तिमान भेनेजुएलाका ११३ वर्षीय हुआन भिसेन्टे मोराले कायम गरेका छन् । तर एउटा कुरा निश्चित छ: कोही पनि त्यस्तो कीर्तिमान सुरक्षित राख्नबाट टाढा छन्। किनकि हालैका दशकहरूमा 'शताब्दी व्यक्ति' हरूको सङ्ख्या बढेको छ।

संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या सम्बन्धी मामिला हेर्ने विभागले अनुमान गरेअनुसार संसारमा सन् २०२१ सम्ममा कम्तीमा १०० वर्ष उमेरका ६२१,००० भन्दा बढी मानिसहरू बाँचिरहेका थिए। यो सङ्ख्या यस दशकको अन्त्यसम्ममा १० लाख नाघ्ने अनुमान गरिएको छ।सन् १९९० मा ९२,००० जना मानिस मात्र त्यो उमेरसम्म बाँचेका थिए र त्यतिबेला यसलाई कुनै सानो उपलब्धि ठानिँदैन थियो ।

मानिसहरूले औसत आयुको सन्दर्भमा लामो यात्रा तय गरेका छन्। विभिन्न क्षेत्रहरूमा भएको विकासले हामीलाई हाम्रा पुर्खाहरूको तुलनामा परिष्कृत औषधी, खाना र जीवनयापनको अवस्था प्रदान गरेको छ।

संयुक्त राष्ट्र सङ्घले विश्वव्यापी तथ्याङ्क राख्न थालेको पहिलो वर्षको आकलन अनुसार सन् १९६० मा जन्मिएको औसत व्यक्ति झन्डै ५२ वर्ष बाँच्ने आशा गर्न सकिन्छ ।

१०० वर्षसम्म सम्म बाँच्नु कति सहज ?

यद्यपि, १०० सम्म बाँच्नु सानो उपलब्धि होइन । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार त्यति उमेरसम्म बाँच्नेहरूको सङ्ख्या सन् २०२१ मा विश्वको जनसङ्ख्याको ०.००८ प्रतिशत मात्र थियो ।

अहिले विश्वभरका हामीमध्ये अधिकांशले आफ्नो ७५ औँ जन्मदिन मनाउने अपेक्षा गर्दैनौँ। किनकि विश्वव्यापी औसत आयु ७३ मात्र रहेको छ ।

यद्यपि, औसत उमेरको आकलन प्रत्येक देश अनुरूप फरक हुन्छ । उदाहरणका लागि, जापानमा औसत व्यक्ति ८५ वर्ष बाँच्छ भने मध्य अफ्रिकी गणतन्त्रमा ५४ वर्ष मात्र बाँच्ने अनुमान गरिएको छ ।

त्यस्तै वृद्धावस्थामा पुगेका अधिकांश व्यक्तिहरू दीर्घकालीन रोगहरूले ग्रसित हुने सम्भावना रहन्छ । "लामो समय बाँच्नुको अर्थ राम्रोसँग बाँच्नुको पर्यायवाची होइन," यूकेको युनिभर्सिटी अफ बर्मङ्गममा इम्युन सेल बायोलजी विषय पढाउने प्राध्यापक जेनेट लर्ड भन्छिन् ।

प्राध्यापक लर्डका अनुसार औसतमा, पुरुषहरूले आफ्नो जीवनको अन्तिम १६ वर्ष मधुमेहदेखि डिमेन्सियासम्मका अवस्थाहरूको सामना गर्छन्। महिलाहरूले उस्तै समस्या आफ्ना अन्तिम १९ वर्षमा भोग्ने उनी बताउँछिन् ।

'सुपरसेन्टेनेरियन्स'को रहस्य के हो?

उमेरले सय वर्ष पार गर्नु झनै कठिन छ। अमेरिकामा, बोस्टन युनिभर्सिटीले गरेको दीर्घकालीन अध्ययनको नतिजा अनुसार ५० लाख अमेरिकीहरू मध्ये एक जना मात्र एकसय वर्षभन्दा बढी उमेरको "सुपरसेन्टेनेरियन" चरणमा पुग्ने र कम्तीमा ११० वर्षसम्म बाँच्ने अनुमान गरिएको छ।

तर अनुसन्धाताहरूले सन् २०१० मा उक्त चरणमा करिब ६० देखि ७० जना मानिस पुगेको पाएका थिए भने सन् २०१७ सम्ममा त्यो सङ्ख्या १५० पुगेको थियो। "सुपरसेन्टेनेरियनहरू" मानव उमेरको अध्ययन गरिरहेका वैज्ञानिकहरूको ध्यान सधैँ आकृष्ट गर्छन् । "ती मानिसहरूको बुढ्यौली अन्य धेरैको जस्तो हुँदैन। र यस्तो किन हुन्छ भन्नेबारे हामी अझै प्रस्ट छैनौँ," प्राध्यापक लर्ड थप्छन् ।

दीर्घायुसँगै तुलनात्मक रूपमा सुपरसेन्टेनेरियनहरूको स्वास्थ्य उनीहरूको‌ उमेर अनुरूप निकै राम्रो हुन्छ । उदाहरणको लागि, योसेफा मारियाको परिवारले बताए अनुसार उनलाई नियमित औषधिको आवश्यकता छैन र सहजै मासु र मिठाई खान्छिन्।

निःसन्देह, उनको स्मरणशक्ति कमजोर छ र उनको दृष्टि स्पष्ट छैन। तर आफू कहिलेकाहीँ आमाको अवस्था देखेर छक्क पर्ने सिसेरा बताउँछिन् । "उहाँ पहिलेजस्तो हिँड्न सक्नुहुन्न र हामीले बोक्नु पर्छ। बच्चाको जस्तै उहाँको न्यापी फेर्नुपर्छ। तर मलाई अचम्म लाग्छ, बाल्यकालदेखि धूमपान गर्ने व्यक्ति जसले दशकौँसम्म कडा परिश्रम गर्नुभयो उहाँ यति लामो समयसम्म बाँच्नु भयो," ७६ वर्षीय वृद्धा सिसेरा भन्छिन् ।

लामो आयु बाँच्ने व्यक्ति स्वस्थ जीवनशैलीको सङ्केत हुन् ?

उमेर विज्ञहरूलाई अझ बढी अन्योल के कुराको छ भने- एक सय वर्ष र त्यसभन्दा माथि पुगेका केही व्यक्तिहरू स्वस्थ जीवन अभ्यास गर्नेहरू होइनन् ।

माथि उल्लेख गरेजस्तै योसेफा मारियाले आफ्नो जीवनको अधिकांश समय धूमपान गरिन्। उनी ब्रजिलको सामाजिक रूपमा पिछडिएको उत्तर-पूर्वी क्षेत्रमा गरिबीमा हुर्किइन्।

अझ रोचक त के भने, अमेरिकन जेरियाट्रिक सोसाइटीको जर्नलमा प्रकाशित सन् २०११ को एक अध्ययन ९५ वर्ष वा त्यो माथिका ४०० भन्दा बढी अमेरिकी यहूदीहरू केन्द्रित थियो। त्यसमा ती यहूदीहरूले धेरै अस्वस्थ अभ्यासहरू गरेको देखियो।

तीमध्ये लगभग ६० प्रतिशतले अत्यधिक धूमपान गर्थे। तीमध्ये आधा यहुदीहरू जीवनकालमा प्रायः समय मोटा थिए र केवल ३ प्रतिशत मात्र शाकाहारीहरू थिए । अन्य उल्लेखनीय तथ्यहरू मध्ये धेरैले मध्यम खालको व्यायाम समेत गर्दैन थिए ।

"लामो समय बाँच्न चाहने मानिसहरूलाई 'सेन्टेनेरियन' वा 'सुपरसेन्टेनेरियन' हरूबाट जीवनशैली सम्बन्धी सुझावहरू नलिनु होला भनेर बताउन आवश्यक छ," युनिभर्सिटी अफ ब्राइटनका बायोजेरोन्टोलोजीका प्राध्यापक तथा वृद्धावस्था अध्ययनका प्रमुख विज्ञ रिचर्ड फरागर भन्छन्। "उनीहरूसँग जन्मजात असाधारण केही हुन्छ। किनकि उनीहरूले कसैलाई लामो समयसम्म बाँच्न के कुराले मद्दत गर्छ भन्नेबारे हामीलाई थाहा भएको तथ्य विपरीत काम गर्छन्," फरागर थप्छन्।

आनुवंशिक सुरक्षा कबज ?

दीर्घायु हुनुमा आनुवंशिक क्षमताको पनि ठूलो भूमिका हुने वैज्ञानिकहरूको अनुमान छ । शताब्दीभन्दा बढी बाँचेका मानिसहरू समय बित्दै जाँदा कम उमेरमा भोग्नु पर्ने खालका समस्याहरूबाट जोगिएको देखिन्छ। साथै उनीहरूलाई अस्वस्थ बानीहरूको पनि प्रभाव परेको देखिँदैन जसले हामीमध्ये कयौँलाई मृत्यु नजिक पुर्‍याउँछ।

लर्ड र फारागरजस्ता विज्ञहरूले त्यस्ता सम्भावित फाइदाहरू पहिचान गर्नका लागि काम गरिरहेका छन् जुन कसैले सोचेजस्तो स्पष्ट छैन।

शताब्दी बाँचेका यहूदी मानिसहरूमाथिको अर्को अध्ययन सन् २०२० मा सार्वजनिक गरिएको थियो। यस अध्ययनमा समाविष्ट मानिसहरूमा बुढ्यौलीमा रोग लाग्नेजस्ता थुप्रै नकारात्मक आनुवांशिक रोगहरू देखिएको थियो । सय वर्ष पुग्ने मानिसको बढ्दो सङ्ख्याले वैज्ञानिकहरूलाई मानव दीर्घायुको सीमा पनि बढ्ने हो कि भनेर सोच्न प्रेरित गरेको छ।

अभिलेखमा सबैभन्दा वृद्ध मानिस

आजको मितिसम्म सबैभन्दा वृद्ध प्रमाणित व्यक्ति फ्रान्सिस्को जाँ क्याल्मे थिए जसको सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भयो। उनी आधिकारिक रूपमा १२० वर्षभन्दा बढी उमेरसम्म बाँच्ने एक मात्र मानिस हुन्।

तर अमेरिकाको युनिभर्सिटी अफ वाशिङ्गटनका अनुसन्धाताहरूले मानिसमा दीर्घायु यही शताब्दीमा अति लम्बिने दाबी गरेका छन्। र, सम्भवतः मानिसहरूले आफ्नो जन्मदिन विशेष केकमा १२५ वा १३० वटा मैनबत्ती बाल्न सक्ने उनीहरू बताउँछन् । "हामीलाई लाग्छ कसैले सन् २१०० सम्ममा बढी उमेरको कीर्तिमान तोड्ने छ र कोही १२६, १२८ वा १३० वर्षसम्म बाँच्ने सम्भावना छ," एक तथ्याङ्कविद् तथा अध्ययनका सह-लेखक माइकल पियर्सले आफ्नो तर्क राखे।

पियर्स र प्राध्यापक एड्रियन राफ्टरीले अर्को दशकका लागि उमेर सीमा अनुमान गर्न उच्च उमेर सीमाको अन्तर्राष्ट्रिय तथ्याङ्क प्रयोग गरे। उनीहरूले क्याल्मेको कीर्तिमान तोडिने सम्भावना शत प्रतिशत रहेको र कसैले १२७ औँ जन्मदिन मनाउने सम्भावना ६८ प्रतिशत रहेको निष्कर्ष निकाले।

वृद्धावस्थालाई बुझ्दै

वृद्धावस्थाबारे विज्ञानले जवाफ दिनुपर्ने धेरै प्रश्नहरू छन् जसले वृद्धावस्थालाई अझै राम्रोसँग बुझ्न सघाउँछ।
किङ्ग्स कलेज लन्डनका एजिङ रिसर्चका निर्देशक डा. रिचर्ड सिओजस्ता विज्ञहरू बढ्दो विश्वव्यापी जनसङ्ख्यामा बढ्दो बुढ्यौलीले जीवनको गुणस्तरमा निम्त्याउने समस्याहरूलाई सम्बोधन गर्न पनि यसबारे बुझाइ महत्त्वपूर्ण रहेको ठान्छन्। संयुक्त राष्ट्र सङ्घले अनुमान गरे अनुसार विश्वमा पहिले देखिनै ६५ वर्ष माथिका र ५ वर्षभन्दा मुनिका मानिसहरूको बसोबास छ।

"यहाँ सबैभन्दा ठूलो प्रश्न हामी कति लामो समयसम्म बाँच्न सक्छौँ भनेर छलफल गर्नु होइन। बरु हामी कसरी उमेर-सम्बन्धित कमजोरीको सुरुवात पछि धकेल्न सक्छौँ र अहिलेको भन्दा लामो समयसम्म स्वस्थ रहन सक्छौँ भन्ने हो । सरी यदि हामी वृद्धावस्थासम्म पुग्यौँ भने हामीले त्यस समय कष्ट भोग्नुको साटो मजा गर्न सक्छौँ " सिओले भने ।"

विश्वव्यापी वृद्ध वृद्धाहरूलाई सहयोग गर्ने गैरसरकारी संस्थाहरूको सञ्जाल हेल्पएज इन्टरन्याश्नल जस्ता संस्थाहरू सिओले उल्लेख गरेको विषय, वृद्ध जनसङ्ख्यालाई स्वास्थ्य र कल्याण प्रणालीमाथि बोझको साटो अवसरको रूपमा सम्बोधन गर्न मद्दत गर्न महत्त्वपूर्ण रहेको बताउँछ।

हेल्पएजका प्रवक्ता एडुआर्डो क्लाइनले भन्छन्, "बुढ्यौलीलाई समस्याको रूपमा हेर्ने दृष्टिकोणको कुनै तुक छैन। स्वस्थ वृद्ध वृद्धाले समाजका लागि आर्थिक रूपमा समेत विभिन्न सम्भावना प्रदान गर्छन्।" विविसी ।