को पक्षी, को विपक्षी ?
- Netizen Nepal
- मंगलबार, १० माघ, २०७९- ११:३५:००/ Tuesday 01-24-23
नेटिजन संवाददाता
काठमाडौँ, १० माघ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पुस २९ गते प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त हुने सुविधा माग गरेर पत्र पठाए बमोजिम सचिवालयले प्रमुख विपक्षी दलको सुविधा पाउने जनाएको हो ।
सचिवालयले लेखेको पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभाका विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भइआएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ का सम्बन्धित दफाहरू र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ । सचिवालयका महासचिव भरतराज गौतमको निर्देशनमा सचिवालयका उपसचिव रामहरि थापाले पत्र लेख्नुभएको हो ।
विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गाडीकाे इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि प्राप्त गर्नेछन् । विपक्षी दलका नेतालाई स्वकीय सचिव, गाडी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुष २६ गते कांग्रेसले पनि विश्वासको मत दिएको थियो । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा २ को (ङ) मा ‘मन्त्रिपरिषद्को गठन गर्ने वा मन्त्रिपरिषद्को गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधिसभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलमध्ये सबैभन्दा बढी सदस्य भएको दल विपक्षी दल हुनेछ’ भनिएको छ ।
ऐनसनुसार सरकार गठन प्रक्रियामा समर्थन गर्ने दललाई विपक्षी दलको मान्यता नदिने उल्लेख छ । आफैं नियम बनाउने र आफैं उलंघन गर्ने नेताहरुको यो प्रवृत्तिले राजनीति प्रति जनताको वितृष्णा झनै बढेर गएको छ । अझ जनतामा ऐनको कुरा पत्याउने कि नेताहरुको हर्कतलाई सहि ठान्ने भन्ने भ्रम समेत पैदा भएको छ ।