• सोमबार, २२ बैशाख, २०८२
  • ०२:१९:३३

मिश्र नेपाली काँग्रेस नर्वेको जनसम्पर्क समिति सभापतिमा निर्वाचित

ओस्लो नर्वे । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारमणि मिश्र निर्वाचित भएका छन् । हालै सम्पन्न पाँचौ अधिवेशनमा मिश्रल दुई सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी शालिकग्राम अर्यालले एक सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृत नविन थपलियाले बताए । 

अधिवेशनमा निर्वाचित भएपछि मिश्रले सबै पक्षलाई समेटेर संगठन अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले प्रतिक्रिया दिँदै भने, ‘निर्वाचनका क्रममा जे जस्तो भएपनि संगठनको काममा सबै साथीहरुलाई उत्तिकै भूमिका दिएर म अघि बढ्नेछु । आफ्नो कार्यकाल संगठन र नर्बेमा बसोबास गर्ने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समर्पित हुनेछु ।’ 

पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भएका छन् । अन्य उपाध्यक्षमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्पाचित भएका छन् । चार उपाध्यक्षको लागि सात जनाको प्रतिस्पर्धा भएको थियो । अधिवेशनमा सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले प्रतिस्पर्धा गरेपनि निर्वाचित हुन भने सकेनन् । त्यसैगर महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन् । सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बाँस्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डेले विजयी भएका छन् ।

पूर्व सभापति जीवन शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत छन् । नवनिर्वाचित उपाध्यक्ष रमेश घिमिरेका अनुसार अधिवेशन सम्पन्न गराउनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डे अधिवेशनका लागि नर्वे आएका थिए ।