• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:००:४९

नाक 

नाक अनुहारको ढाँचा मिलाउन भगवानको इन्जिनियरले डिजाइन गरेको उपकरण हो । त्यसमा अलिअलि सिँगान भरियो, अलिअलि इज्जत, अलिअलि रिस । पछि मानिस आफैंले नाकमा अलिअलि जातको गन्ध पनि मिसाइदिए ।

 

मैले सानोमा एउटा चुटकिला सुनेकी थिएँ । तीनजना गफाडी थिए । उनीहरु कहिल्यै सामान्य कुरा गर्दैनथे । जहिले पनि असामान्य कुरा गरेर एक अर्कालाई जित्न चाहान्थे । एकदिन उनीहरु आफ्नो दाईको बारेमा धाक लगाउँदै थिए । 
पहिलोले भनेछ, 'हेर केटा हो, मेरो दाईको नाक यत्ति लामो छ नि, घरमा जे पाकेको छ त्यसको गन्ध सबैभन्दा पहिले उहाँले नै थाहा पाउनुहुन्छ ।'  
त्यसपछि दोस्रो गफाडीले त्योभन्दा एक स्तर माथिको गफ दिंदै भनेछ, 'ह्या छाड तेरो कुरा, मेरो दाईले खाना खाने बेला थालमा नाक ठोकिन्छ । त्यस्तो 'डेन्जर' छ उहाँको नाक ।' 
फेरि तेस्रो गफाडी त झन् झोक्कि थियो । उसले झोक्किदै भनेछ, 'तैट् ! तिमीहरुको दाईको नाक त के नाक ।  मेरो दाईको नाक पो नाक । उहाँ त बाहिर गएर घर आउँदै गरेको कुरा हामीलाई पहिल्यै थाहा हुन्छ ।  
दुईटा गफाडीलाई उत्सुकता भएछ र सोधेछन्, 'कसरी, कसरी ? 
'कसरी हुनु नि, मेरो दाई आउनुभन्दा अघि नै उहाँको नाक घरमा आइपुग्छ ।'

यो चुटकिला सुनेर सानोमा खुबै हाँसियो । साथीहरुले दोहोर्याई दोहोर्याई पनि भनिरहन्थे ।  हामी उनीहरुको चित्त बुझाउनका लागि पटक पटक  हाँसो लागेको जसरी हाहाहा... गरिदिन्थ्यौं ।  कहिलेकाहीं त चुटकिलाले होइन अरु हाँसेको देखेर पनि हाँसो लाग्थ्यो । उ बेलाको त तालै भिन्दै नि ।  

अहिले पनि बेला बेला त्यो चुटकिलाको याद आउँछ । आजकाल संगै हाँस्ने ती साथीहरु छैनन् तर सम्झना ताजै छ । आवाज निकालेर हाँसो नफुत्किए पनि त्यो बेला सम्झिँदा थोरै थोरै मुस्कान छुटिहाल्छ । चुटकिला भन्दा बढी यादहरु सम्झिएर मुस्कुराउन मन लाग्छ । जबजब ऐना हेर्छु, यो चुटकिला सम्झिहाल्छु । अनि आफ्नै नाक देखेर हाँस्छु । कहिलेकाहीं त लाग्छ, यो नाक किन बनाइएको होला ? फेरि अनुहारको 'सेन्टर'मै ।  

जीवजनावरको जस्तो सास फेर्न मिल्ने मात्र बनाएको भए पनि भइहाल्थ्यो नि ।  कुकुरको नाक मानिसको जस्तो चुच्चो हुँदैन, तैपनि उसले त सुँघेरै धेरै कुरा थाहा पाउन सक्छ । अनि अन्तिममा एउटा निष्कर्ष निकालेर यो कुराको छिनोफानो लगाउँछु कि नाक अनुहारको ढाँचा मिलाउन भगवानको इन्जिनियरले डिजाइन गरेको उपकरण हो । त्यसपछि त्यसमा अलिअलि सिँगान भरियो, अलिअलि इज्जत, अलिअलि रिस । पछि मानिस आफैंले नाकमा अलिअलि जातको गन्ध पनि मिसाइदिए । त्यसैले त यदाकदा सुनिन्छ, 'नाक देखेरै थाहा भयो !'

ऐना हेर्दा सबैभन्दा पहिला नाक देखिन्छ । मेरो नाक मलाई कहिल्यै मन परेन । मेरो नाक र अनुहारको लम्बाई झन्डै झन्डै उत्रै होला । बेलाबेला मानिसले सोध्छन् पनि, 'तिम्रो नाक किन यति चुच्चो ?' 
मलाई उत्तर आउँदैन र उत्तरतिरै फर्किएर बस्छु ।  सायद मेरो नाक त्यहि हिमालजत्तिकै अग्लो हुने होडमा छ ।

त्यसपछि छिमेकी काकाले भनेको सम्झिन्छु, 'प्राय मानिसलाई आफ्नो नाक मनै पर्दैन । गहिरिएर हेर्यो भने अनुहारको सबैभन्दा नमिलेको भाग नै नाकजस्तो लाग्छ।' सायद उनि पनि आफ्नो नाकप्रति सन्तुष्ट थिएनन् की ।  

लामो नाक भएर जिन्दगीमा केहि उपलब्धि भएन । अँ, चस्माचाहिं ट्याक्क ठाउँमा अडिन्छ । अरु त बग्रेल्ती समस्या छन् । नाक लामो भएकै कारण मास्कले ओठसम्म मात्र छोप्छ, च्यापु छोप्दैन ।  

मिठो बास्ना आउने ठाउँमा त नाकको फुर्ति नै बढी हुन्छ । यसले स्फुर्ति पनि ल्याउँछ । तर नाकमा आइपुगेको गन्धले मुखै अमिलो बनाउनुपर्ने ठाउँहरुमा त नाक नभएको भए पनि हुने नि ।  

अरु जेसुकै भए पनि नाकचाहिं जोगाउनुपर्छ है', बाले दशैंमा टिको लाएर सबैभन्दा पहिले दिने आशिर्वाद नै यहि हो । बाको वर्षौंदेखिको आशिर्वाद कहिल्यै परिवर्तन हुँदैनन् ।  जोगाएर राख्नैपर्ने चिज भएर नै त्यसो भनेका हुन् कि ।

जाडो महिनाले चटक्कै छाड्न लाग्यो । एउटा मौसमले लत्तो छाडेर अर्को मौसम चुमचुम गर्न थालेपछि मलाई जहिले पनि रुघाखोकीले धडीहाल्छ । यसपाली पनि घाँटी दुखेर सुरु भएको समस्याले ज्वरो नै फुटायो । त्यति मात्र भए त हुन्थ्यो नि, पहाडको टुप्पाबाट हिमनदी रसाएर छङछङ बगेजस्तो नाकको हिमनदी पनि रसाइहाल्छन् । जाडो महिनामा पनि नाकलाई नै बढी चिसो भएजस्तो लाग्ने किन होला ? सायद नाक शरीरको उच्च तथा पहाडी भेगमा हुने भएर होला । सिँगान पुछ्दा पुछ्दा नाकमा घाउ नै भो । नाकबाट अक्सिजन र कार्बनडाइअक्साइडको संचार पनि बन्द भयो ।  पुरै सास मुखबाट तान्नुपर्ने । सुगन्ध र कुगन्ध पनि छुट्याउन सकेन । रुघा लाग्दा जहिले नाकले दुख पाउने । 

यो रुघाले मलाई धेरै पटक अप्ठ्यारोमा पारेको छ । मानिस नभएको ठाउँमा ठिकठाक हुन्छ । जब मानिस भएको ठाउँमा पुगिन्छ, तब नाकबाट पानी बग्न सुरु हुन्छ, खोकीको मात्रा बढ्दै जान्छ । कहिलेकाहीं त खाना खाने बेलामा नाकका नाकाहरु खुला हुन्छन् । आफुलाई भन्दा पनि वरिपरि बस्नेलाई पक्कै खाना खान दिगमिग लाग्दो हो । यो इज्जत जोगाइदिनुपर्ने नाकले बेलाबेला समस्या निम्त्याइदिने क्या ।

'अरु जेसुकै भए पनि नाकचाहिं जोगाउनुपर्छ है', बाले दशैंमा टिको लाएर सबैभन्दा पहिले दिने आशिर्वाद नै यहि हो । बाको वर्षौंदेखिको आशिर्वाद कहिल्यै परिवर्तन हुँदैनन् ।  जोगाएर राख्नैपर्ने चिज भएर नै त्यसो भनेका हुन् कि । या बालाई लाग्दो हो, नाक चाइनिज सामानजस्तै हो ।  बिग्रीहाल्ने । त्यसैले नै जतन गरेर राख्नुपर्छ ।

हात पाखुरा बलिया भएका मानिसको नाक पनि बलियो हुनुपर्ने हो नि । यसको विशेष सुरक्षा किन गर्नुपर्ने ? नाक शरीरको भीआइपी अंग पो हो की ? हाम्रो देशमा त इज्जत भनेकै भीआइपीको हुन्छ भनेर बुझिन्छ । त्यसैले त एकजनालाई हिंडाउन हजारौंको भिडलाई रोकिन्छ । बाले बारम्बार सचेत गराए पनि मैले रुघाको ब्याक्टेरियाबाट भने नाक जोगाउन सकिन ।  'सायद नाक जोगाउनुपर्छ है' भन्नेको नाक पनि राइनो भाइरसले जोगाइदिंदैन होला । 

नाक काटिएको भिडले देख्छ, समाजले देख्छ, परिवारले र आफन्तले पनि देख्छन्  तर आफैंले हेर्दा चाहिं मरिकाटे देखिंदैन । कहिलेकाहीं काटिएको नाक ठाउँको ठाउँमा ल्याउने मौका पाइन्छ । त्यसका लागि धेरै नै पापड बेल्नुपर्ने हुन्छ ।

नाक जोगाएन भने नाक काटिन्छ अरे । तर नाक काटिएको भनिएको मानिसको पनि नाक त सग्लै हुन्छ ।  सायद मानिसको नाकभित्र पनि नाक हुन्छ । उनीहरुको इज्जत जाँदा भित्रको नाक काटिन्छ । नाक काटिएको भिडले देख्छ, समाजले देख्छ, परिवारले र आफन्तले पनि देख्छन्  तर आफैंले हेर्दा चाहिं मरिकाटे देखिंदैन । कहिलेकाहीं काटिएको नाक ठाउँको ठाउँमा ल्याउने मौका पाइन्छ । त्यसका लागि धेरै नै पापड बेल्नुपर्ने हुन्छ । पहिलाकै अवस्थामा नआए पनि केहि हदसम्म ठाउँमा बसेजस्तो पनि देखिन्छ । मानिसको आदर्शअनुसार नाकले स्थान पाउँछ । आदर्शलाई मन पर्यो भने नाक ठाउँमै बस्यो, मन परेन भने काटियो ।  

म त कहिलेकाहीं लजाउँदा पनि नाक छोप्दीरेहिछु । सायद नाकलाई पनि लाज लाग्दो हो । अझ मेरो रिस त नाककै टुप्पामा छ अरे । नाक धेरै जिम्मेवारपूर्ण जिनिस रहेछ ।  मानिसका हरेक भावनादेखि इज्जतसमेत धानेर बसेको हुन्छ । जुन काम एउटी आमा या जिम्मेवार नारीले मात्र गर्न सक्छे ।  

इज्जत, रिस, लाज, बासना, गन्धलगायत घरभित्र, भान्छा र टोल समाजमा मात्र सिमित छैन नाक । यसले राजनीतिमा पनि ठुलो हिस्सा ओगटेको छ । नाककै कारण कोटा प्रणाली, नाककै लागि आरक्षण, नाककै गुटबन्दीसम्मका सिलशिलाहरु पनि चलिरहेका छन् । कहिलेकाहीं त नाककै कारण सामाजिक संजालमा भक्कु गालीका वर्षातहरु पनि देखिन्छ । एउटा नाक र अर्को नाकबीच टक्करबाजी पनि चल्छ । यो ठिक होइन । अब सबैले सबै प्रकारका नाकहरुको इज्जत गर्नुपर्छ । देश भनेको सबैभन्दा ठुलो नाक हो । यो ठुलो नाक जोगाउन हामी सबैले आफ्नो आफ्नो नाक जोगाउन जरुरी छ ।