• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:५२:५५

९५ औं ओस्कर अवार्ड: 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' बन्यो उत्कृष्ट फिल्म

  • Netizen Nepal
  • सोमबार, २९ फाल्गुण, २०७९- १०:५३:००/ Monday 03-13-23

नेटिजन संवाददाता 
काठमाडौँ, २९ फागुन । ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्ट पाएका छन् । उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो' ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ ।