• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:३२:०७

१४ हजार केरा बोटका मालिक हरिन्द्र बोहोेरा

  • Netizen Nepal
  • बिहीबार, २ चैत, २०७९- १७:३०:००/ Thursday 03-16-23

नेटिजन संवाददाता 
काठमाडौँ, २ चैत। पछिल्लो समय युवाहरुमा विदेशीने लहर नै चलेको छ । सरकारले गाउँगाउँमा ल्याएको ‘एक घर एक धारा’ अभियानको नारा जस्तै ‘एक घर एक विदेश’अनिवार्य नै भएजस्तो भएको छ । अधिकांश गाउँ रित्तो हुन थालेका छन् । गाउँमा बुढाबुढी र बालबालिका मात्र बाँकी हुन थालेपछि ती पनि सुख, सुविधाका लागि शहरतिरै बसाईं सर्ने क्रम बढ्दो छ । गाउँमा काम गर्ने मानिस नहुँदा खेतियोग्य जमिन पनि बाँझिंदै छ ।

देखासिखी र संकुचित मानसिकताले गाउँघरका बारी बाँझिंदै छन् भने काम गर्ने जनशक्ति डलर छाप्ने धुनमा छन् । केहि युवाहरु यस्ता पनि छन्, जसले स्वदेशमै सम्भावना देखेर यहि माटोमा मनग्य आम्दानी गर्न सफल भएका छन् । स्वदेशमै अथाह सम्भावना देखेर केराखेतीमा होमिनु भएका कृष्णपुर नगरपालिका, कन्चनपुरका ३५ वर्षीय हरिन्द्र बोहोरालाई एकैछिन फुर्सद हँदैन । विगत ९ वर्षदेखि केराखेती गर्दै आउनु भएका बोहोराले केराखेती गरेर घरपरिवार धान्ने र अन्य किसानले खेती गरेको केरा सङ्कलनसमेत गर्नुहुन्छ। उहाँले ३ जनालाई नियमित रोजगारी समेत दिनुभएको छ । मौसमी कामको रुपमा भने वर्षभरीमा ५ सय जनाले हरिन्द्रको केरा फार्ममा रोजगारी पाउँछन् । केरा खेतीबाट आफूले मात्र कमाउने होइन कि अन्य व्यक्तिलाई रोजगारी दिन सकिन्छ भन्ने उदाहरणको रुपमा बोहोरालाई स्थानीयले चित्रण गर्छन् । 

केरा उत्पादन र बजार

बोहोराका बुबाले पहिल्यैदेखि केरा खेती गर्नुहुन्थ्यो । त्यसैले पनि उहाँले बाबुको कामलाई नै निरन्तरता दिनुभयो । अहिले उहाँले झन्डै ८ बिघा जग्गामा केराखेती गर्नुभएको छ भने अन्य जग्गा पनि लिजमा लिएर पशुपालन तथा धानखेति गर्दै आउनुभएको छ । जसबाट उहाँको परिवारसमेत रोजगार भएका छन् । उहाँकाअनुसार केराको उब्जनी राम्रो हुनका लागि मलिलो बलौटे माटो र सिंचाइको पनि राम्रो व्यवस्था हुनुपर्छ । मेहेनत गरेअनुसारको प्रतिफल पाउँदा आफुलाई खुशी मिलेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘हुन त काम जे गर्दा पनि दुख भइहाल्छ । तर दुख गरेपछिको सफलताले अझै धेरै सन्तुष्टि दिने रहेछ ।’

बोहोराको ८ बिघा जमिनमा झन्डै १४ हजार ५ सय केराका बोट छन् । मौसम अनुकुल भएको समयमा एक घरिमा करिब २२ दर्जन केरा फल्ने गरेको छ । काँचो केरा बजारमा प्रतिदर्जन ५० रुपैंयासम्मका दरले बिक्रि हुने गरेको उहाँको भनाइ छ । प्रतिदर्जन ५० रुपैंया मान्दा उहाँले एक सिजनमा करिब ७ लाख २५ हजारको केरा बिक्री गर्नुहुन्छ।

बोहोराको ८ बिघा जमिनमा झन्डै १४ हजार ५ सय केराका बोट छन् । मौसम अनुकुल भएको समयमा एक घरिमा करिब २२ दर्जन केरा फल्ने गरेको छ । काँचो केरा बजारमा प्रतिदर्जन ५० रुपैंयासम्मका दरले बिक्रि हुने गरेको उहाँको भनाइ छ । प्रतिदर्जन ५० रुपैंया मान्दा उहाँले एक सिजनमा करिब ७ लाख २५ हजारको केरा बिक्री गर्नुहुन्छ।

सुरुमा बजारको राम्रो ज्ञान नहुँदा निकै सास्ती भोग्नुभएका उहाँलाई अहिले भने बजारको माग धान्न हम्मेहम्मे पर्छ । उहाँले उत्पादन गर्नुभएको केरा सुदुरपश्चिमदेखि मधेशी तथा पहाडी जिल्लाहरुसम्म पुग्ने गरेको छ । यसका अलावा स्थानीय क्षेत्रमा पनि केराले राम्रो बजार पाउने गरेको छ । ठाउँ ठाउँमा डिलरहरु राखेर उहाँ आफैंले पनि केरा बिक्री गर्नुहुन्छ । 

माघ, फागुनको महिनामा भने उत्पादन गरेको केराले बजार माग धान्न नसकेपछि उहाँले भारतबाट आयात गरेर पनि केराको आपुर्ति गर्नुहुन्छ । ‘केराको बजार धेरै राम्रो छ, सरकारले केरा खेतीमा सहुलियतअनुदान सहयोग गर्ने हो भने विदेशमा जत्तिकै आयआर्जन गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

सीप तथा तालिम

हुन त बोहोरालाई केरा खेतीका बारेमा सामान्य जानकारी पहिल्यैदेखि थियो । तर व्यवस्थित ढङ्गबाट खेतीगरि आम्दानी बढाउने तरिका भने राम्ररी थाहा थिएन । ’स्किलअप’ परियोजनाले शीप विकासका लागि दिएको तालिमले आफुलाई केरा खेती गर्न झनै सजिलो भएको उहाँ बताउनुहुन्छ । झन्डै ३८÷४० जना किसान सामेल भएको उक्त तालिममा केराखेती गर्ने तरिका, सिंचाइ र मलजल कसरी गर्ने लगायतका कुराहरु सिकाइएको थियो । तालिममा कम्पोष्ट मल बनाउने तरिका आफुलाई निकै उपयोगी भएको उहाँको भनाई छ ।

तालिमपछि गाउँमा नयाँ कृषकहरु थपिएका छन् । केरा खेती गर्नुअघि यसको खेती प्रक्रियाबारे जान्न र तालिम लिन जरुरी रहेको उहाँको सुझाब छ । एउटाले सिकेको शीप अर्कोलाई सिकाउन कन्जुस्याईं गर्न नहुने र शीप हस्तान्तरणको पनि खाँचो रहेको उहाँ बताउनुहुन्छ । ‘सीप सिकेर नयाँ ढंगबाट केराखेती गर्दा श्रम र शक्तिको बचत हुनाका साथै भारतीय केरालाई प्रतिस्थापन पनि गर्न सकिन्छ’, उहाँले भन्नुभयो । साथै सरकारले पहल गर्ने हो भने बेमौसमी केरा खेती पनि गर्न सकिने उहाँको भनाइ छ ।

अप्ठ्याराहरु 

केरा पकाउन आवश्यक केमिकलको अभाव, र चर्को राजस्व तिर्नुपर्दा भने उहाँलाई किन केराखेती गर्न थालेछु भन्ने महसुस हुन्छ।

केराखेती गर्दा सुरुका दिनहरुमा निकै नै अफ्ठ्याराहरु आइपरेको उहाँ सम्झनुहुन्छ । आफुले उत्पादन गरेको वस्तुले बजार नपाउने, व्यापारी भनेको समयमा नआइदिने, बिचौलियाको बिगबिगीले आफु केहि निरास भएको उहाँ बताउनुहुन्छ । त्यहिमाथि केरा पकाउन आवश्यक केमिकलको अभाव, र चर्को राजस्व तिर्नुपर्दा भने उहाँलाई किन केराखेती गर्न थालेछु भन्ने महसुस हुन्छ। सरकारले केरा पकाउने केमिकल(जुन भारतबाट ल्याउनुपर्छ र निकै महँगो पर्छ) को व्यवस्था गरिदिए मात्रै पनि आफु र आफुजस्तै केराखेतीमा लागेका किसानलाई सजिलो हुने उहाँको भनाइ छ। 

पछि आफुले उत्पादन गरेका वस्तुलाई आफैंले बजार पुर्याउनुपर्छ र आफ्नो 'मालको मोल' पाउनुपर्छ भन्ने उदेश्यले आफ्नै लगानीमा च्याम्बर(आधुनिक भण्डारण) को निर्माण गरेर आफ्नो र अन्य साना किसानहरुले लगाएको केरा संकलन गरेर बजार पुर्याउन थाल्नुभयो । अहिले उहाँलाई बजारको समस्या छैन ।  

केरालाई प्रशस्त पानी चाहिन्छ तर आधुनिक सिंचाइको व्यवस्था नहुँदा भलबाट एकैचोटी पानी खेतमा लाउनुपर्ने हुन्छ । यसो गर्दा कतै पानी धेरै हुने त कतै पानी नै नपुग्ने अवस्था आउने गरेको उहाँको भनाई छ । सरकारले सिंचाइको सहजताका लागि सहयोग गरिदिए खेतिमा अझै जोश बढ्ने उहाँ बताउनुहुन्छ । साथै सहुलियतमा जग्गा लीजमा पाए आफ्नो क्षेत्रलाई केराखेतीको हब नै बनाउने र नेपालभरको केरा अभावलाई टार्न मदत पुग्ने उहाँको भनाइ छ।

बोहोराका अनुसार कृषि क्षेत्रमा अनेकौं बेथितिहरु छन् ।जसलाई सुधार गर्दै अवसरमा परिणत गर्न सकिन्छ । यसका लागि स्थानीय र केन्द्रिय दुवै सरकारले सक्दो पहल गर्नुपर्ने उहाँको भनाइ छ । ‘सरकारले एउटा कोठामा सिमित नभई किसानकै खेतबारीमा पुगि समस्याको पहिचान गरेर ऐन बनाउने हो भने नेपाललाई कृषि र पशुपालनको क्षेत्रमा कायापलट गर्न त्यति समय लाग्दैन’, उहाँले भन्नुभयो ।