• बुधबार, २० चैत, २०८१
  • ०८:२९:४१

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

 काठमाडौं ।  साँच्चै मानिसले कहिलेदेखि लेख्न थाल्यो ?, विश्वको कुन भागका मानिसले सबैभन्दा पहिले लेख्न थाले ? यी र यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा प्राचीन मेसोपोटामियामा पुगिन्छ । मेसोपोटामियाको सुमर भन्ने ठाउँबाट लेखन प्रणाली विकास भएको मानिन्छ । 

युफ्रेटस र टिग्रिज नदीको बीच भागमा अवस्थित भूगोल नै मेसोपोटामिया हो । आधुनिक नक्सामा मेसोपोटामियाको नामोनिसान भेटिँदैन । त्यो ठाउँ हालको इराकको दक्षिणी भागमा पर्छ । मेसोपोटामियाको दक्षिणी भागस्थित सुमरियाबाट लेखन प्रणाली विकास भएको धेरै इतिहासकारले उल्लेख गरेका छन् । 

 ती माटोका चाक्ला पाटा (क्ले ट्याबलेट) मा के कस्ता विषयमा लेखिन्थे भन्नेबारे पनि अध्ययन भएका छन् । सुमरविद स्यामुअल नोह क्रेमरले द सुमरेयिन : हिस्ट्री, कल्चर र क्यारेक्टर (सन् १९६३) नामक पुस्तकमा क्ले ट्याबलेटमा धार्मिक, साहित्यिक तथा राजनीतिक विषयवस्तु समेटिएका हुन्थे भनी उल्लेख गरेका छन् । यी विषयबाहेक कानुन, व्यापार, कृषि, ज्योतिषशास्त्र आदिबारे पनि लेखिन्थे भन्ने वर्णन पाइन्छ । 

 

लेखन प्रणाली कहाँ र कसरी सुरु भयो भन्ने प्रश्नसँगै पहिलो मानिसलाई लेख्ने प्रेरणा कुन तत्वले दियो ? यो प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । मानिस लेख्न कसरी प्रेरित भए भन्नेबारे थरीथरीका अड्कल काटिन्छन् । एकथरीको बुझाइमा गड्यौँला, सर्प वा यस्तै घस्रिने प्राणी हिलोमा हिँड्दा बनेको आकारबाट मानिसलाई लेख्ने प्रेरणा मिल्यो । 

अर्काथरीको बुझाइमा पातमा बनेका किरेमिरे धर्साहरू (जसलाई चराले लेखेको भन्ने चलन छ) बाट प्रेरित भएर मानिसले लेख्न सुरु गरे । जुनसुकै कारणले लेख्न सुरु गरेको भए पनि मानिसले लेखन प्रणालीको विकास गरेर युगान्तकारी इतिहास मात्र रचेन मानव सभ्यता र संस्कृतिलाई अपिरिमित गुन पनि लगायो । 

लेखन प्रणालीको विकासबारे विशेष अभिरुचि राख्ने अध्येता इतिहासकार जेरोल्ड एस. कुपरले आफ्नो पुस्तक द बेबिलोनियन बिगिनिङ : दी अरिजिन अफ क्युनियफर्म राइटिङ सिस्टम (सन् २००४) मा  सुमरियामा इसापूर्व ३१०० तिर लेखन प्रणाली विकास भएको चर्चा गरेका छन् । विश्वमा लेखन प्रणाली श्रीगणेश गर्ने सुमरेलीहरू संसारकै प्रथम लेखक मानिन्छन् । 

विश्वमा लेखन प्रणाली सुमरियामै विकास भएको बारे इतिहासकारहरू एकमत देखिए पनि त्यसको प्रारम्भकालबारे भने मतैक्य छैन । उनीहरूले लेखन प्रणाली प्रारम्भ भएको समय फरक फरक उल्लेख गरेका छन् । कसै कसैले इसापूर्व ५४०० तिर लेखन प्रणाली विकास भएको उल्लेख गरेका छन् भने बहुसङ्ख्यक इतिहासकारको मत अनुसार इसापूर्व ३१०० देखि ३५०० सम्मको कालखण्डमा लेखन प्रणाली विकास भयो । 

सुमरियालीहरूले गिलो माटाको चारपाटे चाक्लो पाटामा तिखो वस्तुले लेख्ने गरेको पाइन्छ । माटोबाट निर्मित त्यस्ता वस्तुलाई ‘क्ले ट्याबलेट’ (clay tablet)भनिन्थ्यो । सुमरियालीले सु्रु गरेको लेखन प्रणालीलाई ‘क्युनिफर्म’ (cuneiform) भनिन्छ । ल्याटिन भाषाको शब्द क्युनिफर्मको अर्थ हुन्छ, किलाक्षर (wedge-shaped) अर्थात् किलाको जस्तो तिखो तिखो अक्षर भएको । किलाक्षर लेख्न प्रयोग हुने कलम बाँसबाट निर्मित तिखो वस्तु थियो भनी लेखनकलाका अन्वेषक जेरोल्ड एस. कुपरले चर्चा गरेका छन् । यस आधारमा बाँसबाट निर्मित तिखो वस्तुलाई नै विश्वको पहिलो कलम मान्न सकिन्छ कि ? 

 ‘हाइरोग्लिफस्’ मूलतः धार्मिक तथा आध्यात्मिक विषयको लेखनमा प्रयोग हुने भएकाले यसलाई पवित्र लेखन भनिएको हो भनेर सजिलै अनुमान गर्न सकिन्छ । मिश्रका प्राचीन धर्मग्रन्थ र पिरामिडमा रहेका कतिपय लेखोट ‘हाइरोग्लिफस्’ मा लेखिएको पाइन्छ ।

 

ती माटोका चाक्ला पाटा (क्ले ट्याबलेट) मा के कस्ता विषयमा लेखिन्थे भन्नेबारे पनि अध्ययन भएका छन् । सुमरविद स्यामुअल नोह क्रेमरले द सुमरेयिन : हिस्ट्री, कल्चर र क्यारेक्टर (सन् १९६३) नामक पुस्तकमा क्ले ट्याबलेटमा धार्मिक, साहित्यिक तथा राजनीतिक विषयवस्तु समेटिएका हुन्थे भनी उल्लेख गरेका छन् । यी विषयबाहेक कानुन, व्यापार, कृषि, ज्योतिषशास्त्र आदिबारे पनि लेखिन्थे भन्ने वर्णन पाइन्छ । 

कतिपयले सुमरसहितका मेसोपोटामियालीहरू समुद्र वारपार व्यापार गर्ने कारोबारी भएकाले व्यापारिक सामान आयात–निर्यातसम्बन्धी विवरण राख्न ‘क्ले टोकन’ (clay token) प्रयोग गरिन्थ्यो भन्ने पनि पढ्न पाइन्छ ।

लेखन प्रणालीको इतिहासमा मेसोपोटामिया (सुमर) पछि मिश्र (इजिप्ट) को नाम आउँछ । मिश्रवासीले चित्रात्मक लेखनकला सुरु गरेको देखिन्छ । कतै कतै सुमर र इजिप्टमा लगभग एकै समयमा समानान्तर किसिमले लेखन प्रणाली विकास भइरहेको थियो भन्ने मत जाहेर गरिएको छ । मिश्रमा विकास भएको लेखन प्रणालीमा चित्र तथा स्वर विकसित भएको पाइन्छ ।

मिश्रविद् जोन विन्सको पुस्तक भिजुवर एन्ड रिटन कल्चर इन एनसिएन्ट इजिप्ट (सन् २००७) का अनुसार मिश्रमा इसापूर्व ३१०० तिर ‘हाइरोग्लिफस्’ (Hieroglyphs)   लेखन प्रणाली विकास भएको थियो । ‘हाइरोग्लिफस्’ शब्द ग्रिक भाषाबाट आएको देखिन्छ । जुन ‘हाइरोज’ (Hieros) र ग्लाइफेन गरी दुई  शब्दको मिश्रण हो । ‘हाइरोज्’ को अर्थ पवित्र हुन्छ भने ‘ग्लाइफेन’ को अर्थ लेखन हुन्छ । समग्रमा यसको अर्थ हुन्छ, पवित्र लेखन ।

‘हाइरोग्लिफस्’ मूलतः धार्मिक तथा आध्यात्मिक विषयको लेखनमा प्रयोग हुने भएकाले यसलाई पवित्र लेखन भनिएको हो भनेर सजिलै अनुमान गर्न सकिन्छ । मिश्रका प्राचीन धर्मग्रन्थ र पिरामिडमा रहेका कतिपय लेखोट ‘हाइरोग्लिफस्’ मा लेखिएको पाइन्छ ।

लेखन प्रणाली विस्तार

लेखन प्रणालीको विकास मेसोपोटामिया र मिश्रमा भए पनि समयक्रममा संसारका अन्य भागमा पनि यसले गति लियो । मध्यअमेरिका (माया सभ्यता), चीन, भारतीय उपमहाद्वीप (सिन्धुघाँटी) आदि सभ्यतामा कहीँ स्वतन्त्र किसिमले त कहीँ अन्तरसम्बन्धित किसिमले लेखन प्रणाली विकास भएको पाइन्छ ।  

विगतमा कागज सजिलै उपलब्ध नहुँदा पात तथा रुखका बोक्रा, ढुङ्गा, बाँसका खबटा, हड्डी, तामा तथा सुनका पाता आदिमा समेत लेख्ने गरिएको पाइन्छ । ढुङ्गा, तामा तथा सुनको पातामा लेखिएको अभिलेखलाई क्रमशः शिलापत्र, ताम्रपत्र तथा स्वर्णपत्र भन्ने चलन छ । अचेल कतिपयमा आधुनिक भवनको बोइलर प्लेट (boiler plate) पनि तामाको पाता हुने गर्छ । जसमा भवन कसले र कहिले उद्घाटन गरेको थियो भन्ने लेखिएको हुन्छ । 

 

सिन्धु घाटी सभ्यतामा प्रयोग भएको लिपि एसियामा भेटिएका लिपिमध्ये पुरानो मानिन्छ । जसलाई पढेर अर्थ लाउन सकिएको छैन  आजपर्यन्त पनि । ग्रगोरी पुसलकृत पुस्तक दी इन्डस सिभिलाइजेसन (सन् १९९७) मा सिन्धुघाँटी सभ्यतामा प्रयोग भएको लिपि इसापूर्व २६०० तिर विकास भएको उल्लेख गरिएको छ ।

यसपछि चिनियाँ लेखन प्रणाली अस्तित्वमा आएको देखिन्छ । बोल्जले सन् १९९४ मा प्रकाशित दी अरिजिन एन्ड अर्ली डेभलपमेन्ट अफ चाइनिज राइटिङ सिस्टम शीर्षक शोधपत्रमा उल्लेख गरे अनुसार चिनियाँ लेखन प्रणाली इसापूर्व १२०० तिर विकास भएको थियो । बोल्जले चिनियाँ लेखन प्रणाली सुरुमा चित्रात्मक अक्षर रहेकोमा समयक्रममा परिवर्तन भई अहिलेको अवस्थामा आइपुगेको उल्लेख गरेका छन् । कोरियाली तथा जापानी लिपि पनि चिनियाँ लिपिकै विरासत रहेको अध्येताको भनाइ छ ।    

ब्राह्मी लिपिका ज्ञाता रिचर्ड सोलोमनले सन् १९९८ मा प्रकाशित आफ्नो कृति इन्डियन इपिग्राफीमा उल्लेख गरे अनुसार ब्राह्मी लिपि इसापूर्व ३०० तिर विकास भएको थियो । जसलाई दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका कतिपय भाषाको जनक मानिन्छ । दक्षिणपूर्वी एसिया खमेर, बर्मेली, थाई आदि लिपि ब्राह्मी लिपिबाट विकास भएको मानिन्छ ।

यसै गरी तमिल, तेलुगु, मलायलम, सिङ्हला, कन्नड, बङ्गाली, देवनागरी, गुजराती, गुरुमुखी (पञ्जाबी) जस्ता दक्षिण एसियामा प्रचलित भाषाका लिपि पनि ब्राह्मी लिपिकै सन्तान मानिन्छन् । यद्यपि कुन भाषा कसको सन्तान भन्नेबारे कतै कतै परस्पर विरोधी धारणा पनि आएको पाइन्छ ।

मध्य अमेरिकी माया सभ्यताको लेखन प्रणाली पनि ब्राह्मी लिपि जत्तिकै पुरानो देखिन्छ । जस्टिसन र टेरन्स काउफम्यानले लेखेको पुस्तक दी डिसाइफरमेन्ट अफ दी मायान स्क्रिप्ट (सन् २००३) मध्य अमेरिकी माया सभ्यतामा उपयोग भएको लिपि इसापूर्व तेस्रो शताब्दीतिर विकास भएको तर्क अघि सारिएको छ । 

अरबी लिपि ब्राह्मी लिपिभन्दा नयाँ देखिन्छ । जोन एफ हिलीले सन् १९९० मा प्रकाशित आफ्नो कृति दी अर्ली अल्फाबेटमा इस्वीको चौथोदेखि छैटौँ शताब्दीमा अरबी लिपि विकास भएको चर्चा गरेका छन् ।

कागज आविष्कार

लेखन प्रणालीको विकाससँगै मिश्रवासीले अर्को महत्वपूर्ण योगदान पनि दिए । त्यो हो, कागज आविष्कार । नाइल नदीमा पाइने एक प्रकारको घाँसे वनस्पति wetland sedge बाट कागज उत्पादन गरी लेख्न सुरु गरिएको इतिहास भेटिन्छ । त्यस प्रकारको कागजलाई ‘पपाइरस’ (papyrus) भनियो । जुन कालान्तरमा अङ्ग्रेजी भाषाको सम्पर्कमा आएपछि ‘पेपर’ (उबउभच) नामले चिनियो भन्ने धेरैजसो अध्येताको राय छ ।

रिचर्ड ब्रुक  पार्किन्सनले आफ्नो कृति क्र्याकिङ कोड्सः दी रोसेटा स्टोन एन्ड डिसाइफरमन्ट (सन् १९९९) मा इसापूर्व ३१०० देखि २६०० तिर ‘पपाइरस’ विकास भएको उल्लेख गरेका छन् । सन् २०१५ मा प्रकाशित आफ्नो पुस्तक एक्प्लोरिङ रिलिजन इन इजिप्टमा स्टेफेन क्विर्कद्वारा ‘पपाइरस’ मा प्रशासनिक, धार्मिक तथा साहित्यिक विषयवस्तुले स्थान पाउने गरेको चर्चा गरिएको छ । 

मिश्रपछि चीनमा कागजको आविष्कार भएको पाइन्छ । परम्परागत रूपमा १०५ इस्वीमा पूर्वी हान वंशको समयमा चाइ लुनले कागज आविष्कार गरेका थिए भनी साइन्स एन्ड सिभिलाइजेसन (सन् १९८५) पुस्तकमा उल्लेख गरिएको छ । राजदरबारका अधिकारी रहेका चाइ लुनले रुखको बोक्रा, सन, कपडाका च्यातिएका टुक्रा र माछा मार्ने जालको मिश्रण प्रयोग गरी कागज बनाएका थिए । 

कागज निर्माण प्रविधि चीनबाट विस्तार हुँदै रेशममार्गमार्फत सातौँ  शताब्दीमा मध्यएसिया, आठौँ शताब्दीमा इस्लामिक मुलुक र १२ औँ शताब्दीमा युरोपसम्म फैलियो भन्ने विवरण भेटिन्छ । कागजको आविष्कारले ज्ञान, प्रशासन र शिक्षामा क्रान्ति मात्र ल्याएन इतिहास अभिलेखीकरण र ज्ञानको तीव्रतर विस्तारमा पनि अतुलनीय योगदान दियो ।    

रोमन वर्णमाला फोनेसियाली वर्णमालाकै विरासत थियो । ल्याटिन वर्णमाला नामले समेत चिनिने रोमन वर्णमाला पश्चिमी गोलाद्र्धमा प्रचलित बहुसङ्ख्यक भाषाको महत्वपूर्ण आधार बन्न पुग्यो । फोनेसियाली वर्णमालाको परिष्कृत रूप मानिने रोमन लिपि युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया, अफ्रिका तथा अस्टे«लियाका कतिपय भाषाको साझा लिपि बन्न पुगेको छ ।

 

विगतमा कागज सजिलै उपलब्ध नहुँदा पात तथा रुखका बोक्रा, ढुङ्गा, बाँसका खबटा, हड्डी, तामा तथा सुनका पाता आदिमा समेत लेख्ने गरिएको पाइन्छ । ढुङ्गा, तामा तथा सुनको पातामा लेखिएको अभिलेखलाई क्रमशः शिलापत्र, ताम्रपत्र तथा स्वर्णपत्र भन्ने चलन छ । अचेल कतिपयमा आधुनिक भवनको बोइलर प्लेट (boiler plate) पनि तामाको पाता हुने गर्छ । जसमा भवन कसले र कहिले उद्घाटन गरेको थियो भन्ने लेखिएको हुन्छ । 

रुखका बोक्रा तथा पातमा लेखिएका सामग्रीलाई ताडपत्र तथा भोजपत्र भन्ने गरिन्छ । गाउँघरमा कागज सजिलै उपलब्ध नहुँदा काठको पाटीमा खरीढुङ्गाले लेख्ने चलन पछिसम्म थियो । यति मात्र होइन सोही पाटीमा धुलो राखेर हातको औँलाले लेख्ने चलन पनि थियो । यस्ता धुलेपाटीमा बाँस वा काठबाट निर्मित कलम जस्तो वस्तुले अक्षर लेख्ने गरिएको पनि पाइन्छ ।

वर्णमालाको विकास 

आधुनिक वर्णमालाका दृष्टिले सुमरिया तथा मिश्रमा विकास भएको लेखन प्रणाली परिष्कृत र परिपूर्ण थिएनन् । ती लेखन प्रणाली एक हिसाबले आदिम लेखन प्रणाली (primitive writing system) मात्र थिए । लेखन प्रणालीलाई व्यवस्थित तुल्याउन वर्णमाला आवश्यक थियो । 

वर्णमालाको विकास फोनेसियामा भएको प्रमाण मिल्छ । फोनेसिया अहिलेको लेबनान र सिरियाको केही भागमा फैलिएको थियो । फोनेसियालीले इसापूर्व १०५० मा वर्णमाला विकास गरेका थिए ।

यो कुरा पुरातत्वविद् बेन्जामिन सासले सन् १९८८ मा प्रकाशित आफ्नो कृति दी जेनिसिस अफ दी अल्फाबेट एन्ड इट्स डेभलपमेन्ट इन दी सेकेन्ड मिलिनियम बिसीमा उल्लेख गरेका छन् । बेरी पावेलले आफ्नो कृति होमर एन्ड दी अरिजिन अफ दी ग्रिक अल्फाबेट (सन् १९९१) मा उल्लेख गरे अनुसार फोनेसियाली लिपि तथा वर्णमालामा २२ वटा अक्षर थिए । जसमा व्यञ्जन मात्र थिए, स्वर थिएन ।

बेरी पावेलका अनुसार ग्रिकहरूले करिब आठौँ शताब्दी इसापूर्वमा फोनेसियाली वर्णमाला अपनाई त्यसमा आवश्यक परिमार्जन पनि गरे । सन् २००२ प्रकाशित पुस्तक दी इट्रस्कन ल्याङ्गुएज : एन इन्ट्रोडक्सनमा लरिसा बोनफान्ते जुलियानो बोनफान्ते चर्चा गरे अनुसार ग्रिकहरूले परिमार्जन गरेको फोनेसियाली वर्णमालालाई इट्रस्कनहरू ९भ्तचगकअबलक० ले ग्रहण गरे । इट्रस्कन, रोमन सभ्यताको उदय हुनुअघिको प्राचीन सभ्यता हो । जुन वर्तमान इटालीको मध्यभागमा थियो ।    

कतिपय अध्येताका दृष्टिमा मध्ययुगीन युरोपमा चर्चमार्फत अघि बढाइएको लेखन र साक्षरताको प्रसारले युरोपमा पुनर्जागरण र अन्ततः आधुनिक विज्ञान र विद्वताको उदयका लागि गजबको आधारशिला तयार गर्‍यो । वाल्टर ओङ आफ्नो पुस्तक ओरलिटी एन्ड लिटरेसी (सन् १९९२) मा लेख्छन्, लेखन प्रणालीले होमरका महाकाव्य, प्राचीन ग्रिस र रोमका दार्शनिक कार्य जस्ता ज्ञान–सम्पदाको संरक्षण र प्रसारणमा महत्वपूर्ण भूमिका खेल्यो (ओंग, १९८२) । वास्तवमा लेखन प्रणाली विगत, वर्तमान र भविष्यलाई जोड्ने सेतु बनेको छ ।

 

इट्रस्कनहरूले प्रयोगमा ल्याएको वर्णमालालाई रोमनहरूले इसापूर्व सातौँदेखि छैटौँ शताब्दीमा ग्रहण गरे र समयक्रममा त्यसमा थप आवश्यक परिमार्जन पनि गरेको कुरा जेम्स क्याकसन र जिफरी हरक्सले दी ब्ल्याकवेल हिस्ट्री अफ दी ल्याटिन ल्याङ्गुएज (सन् २००७) मा अघि सारेका छन् । 

रोमन वर्णमाला फोनेसियाली वर्णमालाकै विरासत थियो । ल्याटिन वर्णमाला नामले समेत चिनिने रोमन वर्णमाला पश्चिमी गोलाद्र्धमा प्रचलित बहुसङ्ख्यक भाषाको महत्वपूर्ण आधार बन्न पुग्यो । फोनेसियाली वर्णमालाको परिष्कृत रूप मानिने रोमन लिपि युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया, अफ्रिका तथा अस्टे«लियाका कतिपय भाषाको साझा लिपि बन्न पुगेको छ ।

सबै महादेश ढाक्ने गरी रोमन लिपि संसारभर कसरी फैलियो ? यो एक स्वाभाविक जिज्ञासा हो । जर्मन भाषाशास्त्री फ्लुरियन कुल्मसले आफ्नो कृति राइटिङ सिस्टम्स् (सन् २००३) मा साम्राज्यवाद, व्यापार तथा धर्मका माध्यमबाट रोमन लिपिको विश्वव्यापी विस्तार भएको चर्चा गरेका छन् । उनी पछिल्लो समयमा डिजिटल प्रविधिको आगमनले रोमन लिपि विस्तारमा थप सहजीकरण गरेको पनि उल्लेख गर्न बिर्सेका छैनन् ।

बिसाउनी

लेखन प्रणालीले ज्ञान विस्तार र इतिहास अभिलेखीकरणमा क्रान्तिकारी परिवर्तन ल्याएको तथ्य जाहेर नै छ । मानव सभ्यतालाई गतिशील र तरङ्गित तुल्याउने लेखन प्रणालीको लामो विकासक्रम कम रोचक छैन । 

प्राचीन चित्रलिपिदेखि डिजिटल युगसम्म आइपुग्दा धेरै उतारचढाव भोग्दै लेखन प्रणालीले बेजोड प्रगति गरेको छ । यसले प्रशासनिक, कानुनी, धार्मिक तथा सांस्कृतिक अभ्यासको दस्ताबेजीकरणलाई सहज बनायो । जसबाट मानव सभ्यतामा युगान्तकारी प्रभाव पारेको छ ।

कतिपय अध्येताका दृष्टिमा मध्ययुगीन युरोपमा चर्चमार्फत अघि बढाइएको लेखन र साक्षरताको प्रसारले युरोपमा पुनर्जागरण र अन्ततः आधुनिक विज्ञान र विद्वताको उदयका लागि गजबको आधारशिला तयार गर्‍यो ।

वाल्टर ओङ आफ्नो पुस्तक ओरलिटी एन्ड लिटरेसी (सन् १९९२) मा लेख्छन्, लेखन प्रणालीले होमरका महाकाव्य, प्राचीन ग्रिस र रोमका दार्शनिक कार्य जस्ता ज्ञान–सम्पदाको संरक्षण र प्रसारणमा महत्वपूर्ण भूमिका खेल्यो (ओंग, १९८२) । वास्तवमा लेखन प्रणाली विगत, वर्तमान र भविष्यलाई जोड्ने सेतु बनेको छ । यमबहादुर दुरा/युवामञ्चबाट ।