• शुक्रबार, ७ बैशाख, २०८१
  • ०१:५५:३९

मोहम्मदले लिएको ७ लाख ऋण कसरी ८१ लाख भयो ?

  • Netizen Nepal
  • मंगलबार, १४ चैत, २०७९- १८:२२:००/ Tuesday 03-28-23

गीता अधिकारी   
काठमाडौँ, १४ चैत । सिरहा जिल्लाका मोहम्मद मुस्तकिन परिवारलाई सुख र खुशी दुवै दिन विदेश  जानै पर्ने भयो।   विदेश जाँदा भएको खर्च चुक्ता गर्दा नगर्दै घरायसी कामका लागि रकम आवश्यक पर्यो । उनका बाले घरजग्गा धितो राखेर गाउँकै साहुबाट ७ लाख ऋण लिए । मोहम्मदले कमाउँदै र तिर्दै गए।  तर जति तिरे पनि ऋण सकिएन ।

'ऋण तिर्दा तिर्दै २१ लाख रकम बुझाइसकेछु ।  साहुले अझै ६० लाख तिर्न बाँकी छ भनेर धम्कि दिन्छ', उहाँले मलिन अनुहार लगाउँदै भन्नुभयो । उहाँको भनाइ अनुसार ७ लाखको ऋणलाइ साहुले ८१ लाख बनायो।  तर कसरि भयो भन्ने प्रश्नको जवाफ र जानकारी मोहम्मदलाई नै छैन।  १२  दिनको पैदलले उहाँलाई त्यति पिडा भएको छैन जति पिडा साहु महाजनले दिएको ज्यादतीबाट भएको छ । घर पनि साहुकै कब्जामा भएकाले उहाँलाई बेला बेलामा कि घर खाली गर नत्र ६० लाख देउ  भनेर दबाब आइरहन्छ । मिटरब्याजीको अन्यायका बिषयमा आफुले स्थानीय प्रहरीलाई पनि खबर गरेको र प्रहरीले पनि चासो नदेखाएको उहाँको गुनासो छ । सरकारले सकेसम्म मिटरब्याजी बिरुद्धको कानुन बनाए पिडितहरु मिलेर मिटरब्याजीको पर्दाफास गर्ने उहाँको चाहना छ।

अर्का मिटरब्याजी पिडित तयाब अलिको पनि दुख पनि सुनीसाध्य छैन । उहाँले केहि वर्षअघि छोराछोरीको बिहे गर्न र छोरालाई विदेश पठाउन साहु महाजनबाट ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । ऋणदातालाई जग्गा बेचेर उहाँले ८२ लाख ३० हजार तिरिसक्नुभएको छ । तर आजसम्म पनि उहाँलाई मिटरब्याजीको कालो छायाँले छाडेको छैन । 'उनीहरुले मेरो जग्गा पनि भित्रभित्रै बेचेर खाइसकेछन्', उहाँले भन्नुभयो।  उहाँको एउटा जग्गा ३५ लाख र अर्को जग्गा ७८ लाखमा साहुले थाहै नदिइ बेचेर खाएको उहाँ बताउनुहुन्छ । सुगर र प्रेसरको रोगि अलीलाई रातमा निन्द्रा र दिनमा भोक पनि छैन । 'न रमजान मनाउन पाइयो न नमाज पढ्न नै।  साह्रै दुख पाइयो', उहाँले भन्नुभयो।

तराई मधेशका नागरिकहरु मिटरब्याजीको ज्यादतीले आक्रान्त भएका छन् । केहि एकल महिलाहरुलाई त उनीहरूले ऋण तिर्न नसके रात बिताउन आउनु समेत भन्ने गरेका छन् । त्यसैले न्यायको ढोका ढकढकाउन दुधे बालक काखमा च्यापेकी आमादेखि बृद्धबृद्धासम्म राजधानी आइपुगेका छन् ।

उनीहरु मिटरव्याजीविरुद्धको न्यायका लागि १२  दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका हुन् । तराई मधेशका विभिन्न जिल्लाबाट हिँडेर आएका उनीहरुले माग पुरा नभएसम्म विरोध प्रदर्शन जारी राख्ने अडान लिएका छन्।

उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् । पीडितले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार पनि माइतीघर , बानेश्वरलगायतका स्थानमा बिरोध प्रदर्शन गरिरहेका छन।

 

मिटरब्याजीविरुद्धको प्रदर्शनमा सप्तरी, सिरहा, धनुषा, जनकपुर लगायत जिल्लाका झन्डै ८० मानिसहरु १२  दिनको पैदल यात्रा मार्फत भोकै प्यासै काठमाडौँ आइपुगेका हुन् । मंगलवार बिहान  गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आन्दोलनरत मिटरब्याजपीडितसँग छलफल गरेको थियो। तर उनीहरुको समस्या तत्काल समाधान गर्न नसकिने बताइएको थियो।   

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भने मिटरब्याजलाई कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।   मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन कानुन संशोधन गरेपछि मात्र पीडितका माग सम्बोधन गर्न सकिने सरकारले बताएको छ।