• शनिबार, ८ बैशाख, २०८१
  • ०१:३३:०५

जताततै खरानी र डढेका बुटाका ठुटा 

  • Netizen Nepal
  • बिहीबार, १६ चैत, २०७९- १५:४९:००/ Thursday 03-30-23

गोपालप्रसाद बराल 
महोत्तरी, १६ चैत। फागुन मध्यदेखि नै महोत्तरीका वनक्षेत्रमा सुरु भएको डढेलो रोकिएको छैन । वनक्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् ।

“डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बुट्यान (भर्खरका बोट, लाथ्रा) हुन्, अनि रुख काट्न वन पस्नेको निशानामा पनि यिनै लाथ्रा पर्छन्” वनक्षेत्र नजिकको गौशाला–८ बेलगाछीका सामाजिक कार्यकर्ता मीन रहपालले भन्नुभयो, “वनमा नयाँ र भर्खरका लाथ्रा देखिन छाडेका छन् ।”

वनक्षेत्रमा धेरैजसो नयाँ बिरुवा साल (साखु) का रुख हुने भएकाले यिनै रुख तथा बिरुवा विनाश हुने गरेका छन् । यहाँका माटो र हावापानी सालका लागि उपयुक्त हुने भएकाले नयाँ उम्रने बिरुवामध्ये अधिकांश सालका हुन्छन् । डढेलो र लाथ्रा काटिने क्रम नियन्त्रण हुन नसक्दा विनाशको चपेटामा यिनै रुख तथा बिरुवा पर्ने गरेका गौशाला–१० बटौवाका लक्ष्मी महतोले बताउनुभयो । बर्सेनि डढेलोले वन सखाप पार्दै आए पनि यसको रोकथाम र नियन्त्रणका लागि उपयुक्त पहलकदमी नभएका कारण यो क्रम नरोकिएको स्थानीयको भनाइ छ । “लाथ्रा काटिने यदाकदा समातिए पनि डढेलो लगाउने कहिल्यै फेला परेका सुनिदैन । डढेलो नियन्त्रणका लागि के कानुनको अभाव छ ?”, बर्दिबास–३ गौरीडाँडाकी सामाजिक कार्यकर्ता डोमा शाही विष्टले भन्नुभयो । वन क्षेत्रमा डढेलोको जोखिम बढेसँगै वनक्षेत्र नजिकैका बासिन्दा डढेलाबाट असुरक्षित हुँदै गएका छन् ।

बर्दिबास–३ गौरीडाँडाका पुनिता शर्माले वनमा लागेको डढेलोले घरै भेट्ने हो कि भन्ने त्रास भइरहने बताउनुभयो । “दुई साताअघि नेवारडाँडा कामीडाँडा सामुदायिक वनमा लागेको डढेलोले छिमेकी सुरेश बस्नेतको घर जलेर खरानी भयो, डढेलो सम्झ्यो कि राति सुत्नै सकिदैन्”, उहाँले भन्नुभयो ।

वनमा डढेलोले भएका रुख जल्ने र काँचा लाथ्रा काटिने क्रम नरोकिएकाले महोत्तरीको वन क्षेत्र उजाड बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग वारिपारी पर्ने वन क्षेत्रमा डढेलो लगाउने र भएका लाथ्रा काट्ने क्रम रोकिएको छैन  । बर्दिबास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोका कारण रुख, बुटा खरानीमा परिणत भएका वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ ।

डढेलो लाउने र लाथ्रा काट्ने वनक्षेत्र नजिककै बासिन्दा हुने गरेका गौशाला–८ बेलगाछीका मञ्जु विश्वकर्माको भनाइ छ । “डढेलो लगाएपछि वनमा नयाँ घाँस पलाउने भएकाले वनक्षेत्र वरपरका पशुपालक किसानका गोठालाले डढेलो लाउँछन् भन्ने सुनिन्छ” विश्वकर्माले भन्नुभयो, “यो जघन्य अपराध भएकाले जसले यस्तो गरे पनि कडा कारबाही गरिनुपर्छ ।” अहिलेसम्म डढेलो लाउने नसमातिएकाले कुनै कारबाही हुन नसक्दा  डढेलो लाउने हौसिएका हुनसक्ने उहाँको अड्कल छ ।

मध्य फागुनदेखि नै वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । उक्त डढेलो नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम पनि बढेको स्थानीयको भनाइ छ । वन कार्यालयको उदासिनताले वन उजाड हुँदै गएको उनीहरु बताउँछन् ।

बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने गरेको थाहा भएर पनि वन कार्यालयले यसको नियन्त्रणमा सजगता नअपनाएको स्थानीयको गुनासो छ । ठूला रुख तस्करले काट्ने र स–साना बुट्यान वन क्षेत्र वरिपरिका बासिन्दाले बाट्ने गरेका स्थानीय प्रेमध्वज लामाले बताउनुभयो । उहाँले रुख कटान तथा डढेलो नियन्त्रण नहुने हो भने जिल्लाको वन क्षेत्र मासिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लामा सामुदायिक (राष्ट्रिय वन), साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला केही वर्षयता वन क्षेत्रको सुरक्षामा कमी हुँदा वन क्षेत्र रुखविहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताउनुभयो ।

डिभिजन वन कार्यालय महोत्तरीले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनका साथै वन क्षेत्रको प्रवद्र्धनमा स्थानीय बासिन्दाको सहयोग भए  सम्भव हुने वनसम्बद्ध कर्मचारी बताउँछन् । “हामीसँग भएको जनशक्ति सुरक्षाका लागि परिचालित गरेका छौंँ, जुन पर्याप्त छैन । “डढेलो नियन्त्रणमा समुदायको प्रत्यक्ष पहलकदमी चाहिन्छ”, डिभिजन वन कार्यालयका प्रमुख सन्तोसकुमार झाले भन्नसभयो । डढेलो नियन्त्रणका लागि वनसम्बद्ध कार्यालयसँगै वनक्षेत्र वरपर रहेका स्थानीयतह, सामाजिक सङ्घ संस्था, किसान समूह र आम नागरिक समाजको चासो र पहलकदमी आवश्यक हुने उहाँको भनाइ छ ।