• बुधबार, १२ बैशाख, २०८१
  • ११:३५:०५

'ती आवाज गीतमात्र होइनन्'

  • Netizen Nepal
  • बुधबार, २९ चैत, २०७९- १७:५३:००/ Wednesday 04-12-23

चन्द्रकला भण्डारी
झापा, २९ चैत । कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । न्यून दृष्टियुक्त रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहनु भएको छ । चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएको छ । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उहाँसँग सुरिलो स्वर छ ।

झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका न्यून दृष्टियुक्त व्यक्तिको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । न्यून दृष्टियुक्त व्यक्ति गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् ।

कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुग्नुभयो । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उहाँले सङ्गीतको डिप्लोमा कोर्स पूरा गर्नुभएको छ । गाउने सुरिलो स्वर भएका उहाँ सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिनुहुन्छ । तर, नियतिले उहाँलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पुर¥यायो । “पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,” मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिनु भएको उहाँ भन्नुहुन्छ–“श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।”

मुर्मु चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आउनु भएको छ । पत्नी पनि न्यून दृष्टियुक्त नै हुनुहुन्छ । छोरा हाल विर्तामोडको एक आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न जानुभएको थिएन । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित सङ्गीत कक्षामा उहाँ प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । 

उहाँसँग सङ्गीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् । “बन्दबन्दी सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै सङ्गीत कक्षा पनि बन्द भइसकेको थियो,” मुर्मुले सकसका दिनहरु सम्झिदै भन्नुभयो–“परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।”हरेक बिहान डेरामै खाना खाएर उहाँ बाहिर निस्कनुहुन्छ । उहाँलाई सहरका चोक र गल्लीमा पु¥याउने जिम्मा एकजना सहयोगीले लिएका छन् । 

सिटी रिक्सा वा टेम्पो चढेर उनीहरु बाजाका सामानसहित निर्धारित चोकमा पुग्छन् । ट्र्याक्टरमा मीठामीठा गीत गुन्गुनाउँदा मुर्मुको वरिपरि झुम्मिने दर्शकले दया र सम्मान दुबै दृष्टिले नगद सहयोग गर्छन् । 
आर्थिक सङ्कलनका लागि गीत गाउँदै भारतको दार्जिलिङसम्म पुगिसकेको बताउनुहुन्छ उहाँ । मुर्मु र उहाँको अर्को न्यून दृष्टियुक्त साथी दिनभरि आर्जेको नगद एकै ठाउँमा हिसाब गर्छन् र आम्दानी बराबर बाँडेर लिने गर्छन् । जेठा मुर्मु कहिलेकाहीँ एक दिनमै रु. दुई हजारसम्म कमाउने गरेको बताउनुहन्छ । आर्जेको यही नगदले डेराको भाडा तिर्ने, बालबच्चाको पढाइखर्च व्यहोर्ने र परिवारको खानपान धान्ने गर्दै आएको उहाँ बताउनुहुन्छ । 

हल्दिबारी घर भएकी २८ वर्षीया न्यून दृष्टियुक्त रोजिना खातुनको पारिवारिक कथा दर्दनाक छ । चार वर्षअघि न्यून दृष्टियुक्त पति सुभाष लिम्बूले सौता भित्र्याए । अर्की पत्नी लिएर पति हिँडेपछि दुई नाबालक छोराको सम्पूर्ण जिम्मेवारी रोजिनाको एक्लो काँधमा आयो । उहाँको एउटा १२ वर्षको छोरो जुनकिरी आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेको छ भने चार वर्षको अर्को छोरोलाई साथमै लिएर सडकमा गीत गाउन हिँड्ने गर्नुभएको छ ।

दिनभरि एउटै थलोमा गीत गाउन बस्नु पर्दा चुलबुले छोरो टाढा नजाओस् भनेर उहाँले आफू र छोरालाई कम्मरमा सलले बाँध्ने गर्नुभएको छ । “त्यत्तिकै माग्दा कसैले केही दिदैन, पापी पेट भर्नै पर्यो,” विर्तामोडको हिकोला रोडमा गीत गाउँदै गर्दा भेटिनुभएकी उहाँले भन्नुभयो–“गीत गाएर मागेका छौँ । कसैले केही जागिर दिँदैन । काम पनि गर्न सकिने खालको पाइँदैन । कोठा भाडा तिर्नै पर्यो । दाल चामल किनेर खानै पर्यो। बच्चाको पढाइखर्च दिनै पर्यो ।”

झापाको पहिलो ब्याचका एसएलसी उत्तीर्ण न्यून दृष्टियुक्त दीपक थापा नेपालमा न्यून दृष्टियुक्त व्यक्ति र अपाङ्गहरुले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण नभएको बताउनुहुन्छ । “सडकमा मागेर हिँड्नु राम्रो होइन, तर यसोगर्नु न्यून दृष्टियुक्त व्यक्तिको बाध्यता हो,” विर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्षसमेत रहनुभएको थापा भन्नुहुन्छ–“पेट छ, खान मन लागिहाल्छ । घरमा खानेकुरा केही पनि छैन । बाँच्नका लागि बाध्य भएर तातो घाममा पसिनाले निथ्रुक्कै भिजेर न्यून दृष्टियुक्त भाइबहिनी गीत गाएर माग्न बाध्य छन् । यो कसैको पनि रहर होइन ।”

रोजगारी नपाएका र बिहेपश्चात आर्थिक सङ्कट झेलिरहेका न्यून दृष्टियुक्त व्यक्ति प्रायः सडकमा गीत गाएर माग्नुपर्ने बाध्यतामा परेको उहाँको भनाइ छ । राज्यले न्यून दृष्टियुक्त व्यक्तिका लागि तालिमको सीमित अवसर प्रदान गरे पनि तालिमपछि उनीहरुलाई स्वरोजगार बन्न चाहिने पुँजी र बजारको प्रबन्ध नगरेको थापाले गुनासो गर्नुभयो । झापा नेत्रहीन सङ्घकी अध्यक्ष यशोदा बराल न्यून दृष्टियुक्त व्यक्तिको स्वरोजगारीका लागि सङ्घले स्थानीय तह र संस्थासँग मिलेर विभिन्न तालिम दिलाउने गरेको बताउनुहुन्छ । 

कनकाई नगरपालिकाले उनीहरुलाई उद्यमी बनाउन बीउ पुँजीसमेत दिएको उल्लेख गर्दै अध्यक्ष बरालले विभिन्न सीपमूलक र आयमूलक तालिममा न्यून दृष्टियुक्त व्यक्तिलाई समावेश गरिँदै आएको जानकारी दिनुभयो । नेत्रहीन युवा सङ्घको झापा शाखा अध्यक्ष दिलकुमार राजवंशी सडकमा माग्न विवश न्यून दृष्टियुक्त व्यक्तिको बढ्दो सङ्ख्याले मुलुकमा न्यून दृष्टियुक्त व्यक्तिहरुको अवस्था नाजुक रहेको सावित हुने बताउनुहुन्छ । “कतिपय साथी सडकमा गीतको माध्यमबाट माग्न गइरहनुभएको छ, यसरी जानु नपरोस् भनेर प्रयास गरिरहेकै छौँ,” सङ्घको कोषाध्यक्षसमेत रहनुभएको राजवंशी भन्नुहुन्छ–“जेठा मुर्मु जस्तो पढेलेखेको सक्षम साथी पनि सडकमै पुग्न बाध्य हुनुभएको छ ।”

ती आवाज असक्षमताको मात्र होइन । मुर्मुजस्ता सक्षम व्यक्तिहरुको 'अवसर देउ' भन्न गुञ्जिएको प्रतीकात्मक आवाज हो । राज्यले न्यून दृष्टियुक्त व्यक्तिलाई वर्गीकरण गरी तीन तहको परिचयपत्र प्रदान गर्दै आएको छ । रातो, नीलो र पहेँलो रङको कार्ड उनीहरुले पाउने गरेका छन् । न्यून दृष्टियुक्त व्यक्ति र अल्पदृष्टि भएका आधारमा राज्यबाट उनीहरुले पाउने मासिक भत्ताले जीविका चलाउन सम्भव छैन । न्यून दृष्टियुक्त व्यक्तिलाई सरकारले मासिक रु चार हजार भत्ता दिँदै आएको छ । कतिपय न्यून दृष्टियुक्त व्यक्तिहरु अन्तरनिहीत प्रतिभाका कारण राष्ट्रिय व्यक्तित्वसमेत बन्नुभएको छ । चर्चित वक्ता तथा साहित्यकार रमेश प्रसाईं र प्रसिद्ध गायिका मेनका पौडेल झापा नेत्रहीन सङ्घको सदस्य हुनुहुन्छ । 

दुबैले झापामै माध्यमिक तहको शिक्षा र सङ्गीतको अध्ययन पूरा गर्नुभएको हो । झापामा सङ्घका ११५ सदस्यमध्ये पाँच जना स्नातकोत्तर तह उत्तीर्ण, ३० जना स्नातक र अधिकांश एसईइ तहका छन् । सङ्घमा सदस्य नरहेकासमेत जोड्ने हो भने झापामा न्यून दृष्टियुक्त व्यक्तिको सङ्ख्या दोब्बर रहेको अनुमान गरिन्छ ।