राम्रो म !
- Netizen Nepal
- शुक्रबार, २९ बैशाख, २०८०- ११:१०:००/ Friday 05-12-23

उत्तम विचार
मान्छे बाहिरी रुपले भन्दा भित्री गुण र व्यवहारले सुन्दर हुनुपर्छ । हामीले कखरा सुरु गर्दा देखी नै भन्न सिकाइयो रामो 'म' भन्नु भनेर । तरबुजा त भन्दै गर्दा राम्रो तँ पनि त भन सकिँदो हो भनिएन किनकी हिजो त्यो सिकाइएन । त्यतिबेलाको बाल सुलभ दिमागले किन र कसरी भनेर प्रश्न गर्ने कुरा पनि आएन । जबजब हल्का जान्ने र बुझ्ने भइयो यही शब्द प्यारो लाग्न थाल्यो र आजसम्म भनिँदै छ कि राम्रो म भनेर ।
आफु भोकै बसेर पनि अरूलाई खुवाउनुपर्छ भनेर ठुलाले सिकाएका कुराले पछीसम्म प्रभाव पार्न सक्नुपर्छ, तबमात्र मान्छेमा म र मपाइत्वको मात्रा घटेर जाने छ ।
यसको मतलब हाम्रो बाह्रखरीमै गल्ति थियो भनेर त भन्न मिलेन तर पनि हाम्रो सिकाइ र यसको माध्यम भने अवश्य ठीक थिएनन् हो यहीँबाट सुरु हुन्छ मान्छेमा तँ भन्दा म राम्रो भने दम्भ र घमन्ड । मबाट सुरु हुने राम्रो म मात्र नभएर मेरो, मलाई नै चाहिन्छ, मेरै मात्र गुणगान गाइयोस् भन्ने मपाइत्वको विकास भएको हुनुपर्छ । र त मान्छेमा मेरो हुनुको दम्भ भेटिन्छ । बाले घरमा मैले नै भनेको सबथोक हुनुपर्छ भन्दा आमासँग कुरा मिल्दैन, आमाले त्यसो भनिदिँदा बासँग कुरा मिल्दैन । त्यसैगरि छोराछोरीले त्यसो भने भने बाबुआमासँग कुरा मिल्दैन । जब एउटा घरमा कुरा मिल्दैन, समाजमा कुरा मिल्दैन, हुंँदाहुँदा सिङ्गो देश नै मपाइत्वको सिकार बन्न पुग्छ । म वादका कारण मन्दिरजस्तो घर आशान्त र आक्रान्त बन्न समय लाग्दैन । आफु भोकै बसेर पनि अरूलाई खुवाउनुपर्छ भनेर सानो छँदा परिवारमा ठुलाले सिकाएका कुराले पछीसम्म प्रभाव पार्न सक्नुपर्छ तबमात्र मान्छेमा म र मपाइत्वको मात्रा घटेर जाने छ ।
बाहिरी सुन्दरताको कुरा गर्ने हो भने संसारका एक से एक सुन्दर मान्छेहरूका व्यवहार पशुवत रहेको हामीले पढ्ने र सुन्ने गरेका छौँ । रङ्गभेदी आन्दोलनका प्रणेता नेल्सन मण्डेला बाहिरी सुन्दरताले भन्दा आफ्ना भित्री गुण र आचरणका कारण आज संसारका राम्रा मान्छेहरूमा गनिन्छन् । लाग्दैन कि उनले कहिल्यै राम्रो म भनेर पढे होलान् न त मपाइत्व झल्काउने कुनै दम्भ नै पाले होलान् ।
त्यसैले आफु बाँचेको त्यो जमानाका मानिसहरूदेखी वाक्क हुँदै कवि शिरोमणी लेखनाथले कविता रछे होलान्,
म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ
म हासूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु ।
भनी दाह्रा धस्ने अबुझ सठ देखि छकपरि
चीता खित्का छोडी अभयसित हाँस्छ मरिमरि ।।
मै मात्र खाऊँ, लाऊँ म नै, सुख सुविधाको भोग म नै गरूँ, मोज लुटूँ, अरू सब मरून्, बस मै हाँसे पुग्छ, म मात्र बाँचे पुग्छ,... यस्ता अबुझ मूर्ख देखेर छक्क पर्दै स्वयम् चीता पनि खित्का छोडेर हाँस्छ भन्ने ओजपूर्ण भाव व्यक्त गर्नु भएको छ कविले यस कविताको पद्याम्समा
जता जाँऊँ मेरै गुणमय कुरा सुन्न सकियोस्
नराम्रा छन् जे जे गुपचुप बसी थुन्न सकियोस् ।
मलाई मेरै भो मनन जहिल्यै हुन्न परको
मभन्दा धर्तीमा सुझबुझ हुने हुन्न छ र को ??
यो माथिको पद्यले भनेजस्तै मान्छेमा एउटा आशा र अपेक्षा बाँची रहेको हुन्छ । ऊ सधैंँ म जता जता जाऊँ, बस् मेरै मात्र गुणगान परून् आफ्ना कानमा । नराम्रा नकारात्मक टिप्पणी र आलोचना सुन्नुअघि नै कान थुन्न सकियोस , म आफ्नै चिन्तन मनन गरेर ज्युँन चाहन्छु ताकी मलाई अरूको चिन्ता गर्ने चासो नहोस् । यस् अर्थमा यो संसारमा म भन्दा जान्ने सुन्ने सुझबुझवाला व्यक्ति अरू विरलै होलान् भन्ने अहम् बोकेर हिंड्छ मान्छे । आँफै सोच्नुस् त यो दम्भले मान्छेलाई कहाँसम्म पुर्याउला ।
मान्छे अरूको कमजोरी पत्ता लगाउन अर्काको बढी चासो राख्ने गर्दछ तर पनि फाईदा हुने कुरामा भने म र मेरै लागि भए पुग्छ भनिदिन्छ ।
भन्नु होला एकथरी मान्छे आफ्नो भन्दा बढी अरूको चासो गरेर समय गुजार्छ । ठिकै भन्नु भो सायद तपाईंले फेरि पनि यसमा मेरो तर्क रहन्छ, मान्छे अरूको कमजोरी पत्ता लगाउन अर्काको बढी चासो राख्ने गर्दछ तर पनि फाईदा हुने कुरामा भने म र मेरै लागि भए पुग्छ भनिदिन्छ ।
एउटा कथा जोड्न मन लाग्यो । छोरो सिकिस्त बिरामी भएपछि साधुले सल्लाह दिए कि परिवारको एकजनाले आफ्नो प्राणको बलिदानी दिनुपर्छ, अलिक अघिसम्म हे भगवान् बरू मलाई लैजाऊ, यो घोर अन्याय हुन्छ, सरासर उल्टो हुन्छ, हाम्रो छोरालाई केही नहोस् भन्दै रोई कराइ गर्ने परिवारका सदस्यहरू सबै तैं चुप मै छु बन्न पुगे , न बाबु, न आमा, न दाजु-भाइ, न दिदी-बहिनी। कसैले आफु त्याग गर्न तयार रहेको भनेनन् । बरु भनिदिए ठिकै छ त दैवको इच्छा नै यस्तै छ त के नै गर्न सकियो र । जय होस् राम्रो म को ।
आशा छ मानिसहरू छिट्टै म र मपाइत्वको भावनाबाट माथि उठ्ने छन् ।