महिलाको जिम्मामा बाँकेका सामुदायिक वन
- Netizen Nepal
- मंगलबार, २३ जेठ, २०८०- ११:२५:००/ Tuesday 06-06-23

रुपनी जिएम
जानकी, २२ जेठ । “वनले मेरो आत्मविश्वास बढाएको छ । आज म जे छु यही वनकै कारण छु”, बाँकेको राप्तिसोनारी गाउँपालिका–८ त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष उमा वली बस्नेत भन्नुहुन्छ । चालिस पुगेकी बस्नेतमा हिजोआज केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।
वन समूहको अध्यक्ष हुनुभन्दा पहिला र अहिले आफूमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । “पहिला बोल्नै डर लाग्थ्यो । अहिले नबोली हुँदैन । बोलीको विकास भएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । अवसरले महिलालाई अनुभवी मात्र नभई आर्थिकरुपमा पनि बलियो बनाउने उहाँको बुझाइ छ । विसं २०६६ मा स्थापना भएको उक्त त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहलाई महिलाले सञ्चालन गर्दै आइरहेका छन् ।
महिला नेतृत्वले मात्रै सञ्चालन गरेकाले सुरुसुरुमा समुदायका मानिसले पत्याउन गाह्रो मान्ने गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । “सुरुसुरुमा हामी महिलालाई कसैले पनि पत्याउँदैनथे । तर हामीले हिम्मत हारेनौँ । आफूले पाएको जिम्मेवारीमा इमान्दरीपूर्वक निरन्तर लागिरह्यौँ”, उहाँले भन्नुभयो, “खुट्टा तान्नेले तान्दै गए तर हामी समूहमा आबद्ध महिला अगाडि बढ्न छाडेनौँ र आज पनि हाम्रै नेतृत्वमा वन छ ।”
तेह्र वर्षमा तीन कार्यकाल बस्नेत अध्यक्ष बनेर जिम्मेवारी सम्हालीसक्नुभएको छ । हाल उक्त उपभोक्ता समूहमा दुई सय १९ उपभोक्ता छन् । विसं २०७३ मा वैज्ञानिक वनका रुपमा उक्त वनलाई विस्तार गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वनअन्तर्गत आन्तरिक खपतबापत पाँच हजार सात सय ५८ क्युफिट काठ उपभोक्तलाई वितरण हुने गरेको छ ।
उक्त सामुदायिक वनबाट बाटो, पुलपुलेसा, आर्थिक अवस्था कमजोर भएका वर्गलाई शौचालयजस्ता थुप्रै सामाजिक कामका लागि काठ सहयोग गरिँदै आएको अध्यक्ष बस्नेतले बताउनुभयो । “हामीले यस वनबाट बाटो, पुल बनाउनका साथै आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गका परिवारलाई शौचालय बनाउन काठ उपलब्ध गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।
शैक्षिक योग्यतामा एसएलसी उत्तीर्ण गर्नुभएकी अध्यक्ष बस्नेतले काम गर्दै जाँदा अनुभवले वन क्षेत्रमा परिपक्क बनाएको बताउनुभयो । पहिलाको तुलनामा अहिले वन उपभोक्ता समूहले आर्थिकरुपमा पनि प्रगति गरेको उहाँको भनाइ थियो । एक सय ९६ दशमलव ९७ हेक्टर क्षेत्रफलमा रहेको उक्त वनमा एक जना वन हेरालु र एक जना कार्यालय सहयोगी हुनुहुन्छ ।
वैज्ञानिक वनका रुपमा विस्तार गरेपछि प्रत्येक वर्ष गरिएको कटानसँगै यस वर्ष पनि १७ हजार चार सय ४१ क्युफिट काठ कटान गरिएको छ । “कटानको समयमा तीन–चारपटक मासिक बैठक बसेर मात्र रुख कटान सुरु गरिन्छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “कटानको समयमा हामी निकै नै संवेदनशील भएर काम गर्छौं । त्यसबेला हामी महिनामा तीन–चारपटकसम्म बैठक बस्छौँ र कामको जिम्मा दिन्छौँ ।”
त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बस्नेतको जस्तै अनुभव छ सोही गाउँपालिका वडा नं २ मा रहेको हर्लाफाँटा सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष डिला केसीको पनि । अध्यक्ष केसी ४४ वर्ष पुग्नुभएको छ । उहाँ पनि वनको अध्यक्षका रुपमा १२ वर्षदेखि जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ । बोलीमा भन्दा काममा विश्वास गर्ने केसीलाई उपभोक्ताले नै काम गर्ने अध्यक्षका रुपमा रुचाउने गरेका छन् ।
“मेरो काम गर्ने तरिकालाई यहाँका अपभोक्ताले रुचाउनुभएको छ । त्यसैले १२ वर्षदेखि अध्यक्षको जिम्मेवारी पाएकी छु”, अभ्यक्ष केसीले भन्नुभयो । उपभोक्ताले दिनुभएको जिम्मेवारीलाई इमान्दरीपूर्वक गरिरहेको उहाँले बताउनुभयो । “वनसम्बन्धी केही पनि जानकारी थिएन । क्युफिट र इन्चको हिसाब कसरी गर्ने हो भन्ने चिन्ता हुन्थ्यो तर काम गर्दै जाँदा अहिले सबै कुरामा जानकार भएकी छु”, उहाँले भन्नुभयो । अध्यक्ष केसीका अनुसार उहाँका अनुसार महिलाले चलाएका सामुदायिक वन पुरुषको तुलनामा आर्थिक पाटोमा निकै विश्वासिलो छन्
हर्लाफाँटा सामुदायिक वन समितिको रुख कटान चार वर्षपछि भएको बताउँदै हालसाँ दुई पटक कटान गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय १६ हेक्टर क्षेत्रफलमा रहेको उक्त वनबाट वैज्ञानिक परम्पराअनुसार सात हजार क्युफिट दाउरा र गोलिया कटान गरिएको छ । सत्तरी जना उपभोक्ता रहेका उक्त वन समितिमा गरिएको वन पैदवार सङ्कलनले उपभोक्ता खुसी भएका छन् ।
वैज्ञानिक कटानअनुसार सात हजार क्युफिट दाउरा र ढलापरा कटान गरिएकोमध्ये नौ सय क्युफिट आन्तरिकरुपमा उपभोक्तालाई वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार उक्त उपभोक्ता समूहमा चार सल्लाहकारसहित १५ जना कार्यसमिति र २३ थान चट्टा छन् । “आन्तरिक खपत वितरणको प्रक्रिया अझै नसकिएकाले लिलाममा जाने विषय टुङ्गो लागेको छैन”, अध्यक्ष केसीले भन्नुभयो
सोही पालिकाको वडा नं ९ ढकेरीमा रहेको झिझरी महिला सामुदायिक वन उपभोक्ता समूह पनि महिलाले सञ्चालन गर्दै आएका छन्। शम्शेरगञ्ज सवडिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार महिलाद्वारा सञ्चालित सामुदायिक वन अन्यको तुलनामा निकै प्रभावकारी र व्यवस्थित छन् । “महिला आफैँमा विश्वासिलो पात्र हुन् । उहाँहरुमा पुरुषको तुलनामा इमान्दारिता हुन्छ । लगनशील भएर काम गर्ने महिलाको विशेषता हो”, उहाँले भन्नुभयो, “यस सवडिभिजनको मातहतमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहको तुलनामा महिलाद्वारा सञ्चालित वन निकै व्यवस्थित र प्रभावकारी छन् ।”
प्रमुख सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार छ सय ७१ दशमलव ६१ क्युफिट काठ र छ सय ६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ । पच्चीस प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्याएर बाँकी लिलामी प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन छन् । उन्नाइस वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।
वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म कटान, मुछान र ढुवानीबाट करिब ६० हजारका लागि रोजगारी सिर्जना हुनुका साथै चार वन प्राविधिकले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चार वर्षदेखि काठ, दाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन् ।
जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काले अवसर दिए महिला कुनै पनि कुरामा पुरुषभन्दा कम नभएको बताउनुभयो । “महिलाले अवसर पाए भने गर्न नसक्ने भन्ने केही हुँदैन”, उहाँले भन्नुभयो, “वन कटानका समयमा धेरै नै दौडधुप हुन्छ । त्यस्तो अवस्थामा पनि महिला घर र वन दुवै कुरामा सक्रिय भएर जिम्मेवारी निर्वाह गरिरहनुभएको छ ।”
सहायक वन अधिकृत खड्काले महिलाद्वारा सञ्चालित तीन वटा सामुदायिक वन उपभोक्ता समूहको विकास अन्यको तुलनामा उल्लेख्य र व्यवस्थित रहेको बताउनुभयो । उपभोक्ता समूहको उद्देश्य स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने रहेको उहाँको भनाइ थियो । वैज्ञानिक वन व्यवस्थापन सुरु भएका वनमा स्थानीयले सुकेका, ढलेका, रोग लागेका, पुराना र उमेर पुगेका रुख कटान गर्ने, कटान भएका क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्ने गरिएको वन अधिकृत खड्काले बताउनुभयो
यसरी वन व्यवस्था गर्दा काठ दाउरा सहजरुपमा उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र व्यवस्थित हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीयस्तरको विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने अधिकृत खड्काले बताउनुभयो । उहाँले वैज्ञानिक प्रणालीबाट वन व्यस्थापन गर्दा वनको सघन व्यवस्थापन समेत हुने बताउनुभयो । रासस ।