• शनिबार, ८ बैशाख, २०८१
  • ०८:३८:५६

ढोरपाटनबासीको सातो उडाउने तीन वर्षअघिको त्यो बाढी 

  • Netizen Nepal
  • बुधबार, २४ जेठ, २०८०- ११:१४:००/ Wednesday 06-07-23

नेटिजन संवाददाता 
काठमाडौँ, २४ जेठ ।  बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ । 

पानी प¥यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरु त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विक भन्नुहुन्छ– “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।”

बाढीबाट विककी २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाउनुभएको थियो । भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बन्नुभएको छ । उहाँ अहिले ढोरपाटन–९ सुप्राङमा बस्नुभएको छ । 

“पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ”, उहाँले भन्नुभयो । बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताउनुहुन्छ । बाढीले सबै बगाउँदा उहाँसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उहाँको भनाइ छ । विक भन्नुहुन्छ, “जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।”

सोही बाढीमा ढोरपाटन–९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाउनुभयो । बाढीले उहाँको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो ।  घरबारविहीन भएपछि उहाँ लामो समय माइतीको आश्रयमा बस्नुभयो । 

“अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु”, उहाँले भन्नुभयो । बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा जानुभएको थियो । “दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यहीँ गोठमा बस्यौँ”, विकले विगत सुनाउनुभयो–“त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ ।”

बाढीले ढोरपाटन–६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पु¥याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो ।