• बुधबार, ५ असार, २०८१
  • ०६:२५:०२

तटबन्ध भत्किएपछि बस्तीतिर सोझिदै नदी

  • Netizen Nepal
  • शुक्रबार, ८ भदौ, २०८०- १३:२४:००/ Friday 08-25-23

नेटिजन संवाददाता 

काठमाडौँ, ८ भदौ ।  बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै  बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताउनुभयो । 

उहाँका अनुसार नदी बस्तीमा पस्ने डरले राप्ती सोनारीको र नरैनापुर गाउँपालिकास्थित तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित भएका छन् । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ”, यादवले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ ।”

तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा डुबानको जोखिम बढेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताउनुभयो ।

नदी नियन्त्रणका लागि थुपारिएका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाइएका तटबन्धसमेत राप्तीले बगाएको स्थानीयले बताएका छन् । तारजालीबिना खसालिएका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । “विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो”, उहाँले भन्नुभयो, “बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।” 

जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि गत असोजमा ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई पत्राचार गरे पनि चासो नदिएकाले राप्ती सोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ५ र ६ नं वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले बताउनुभयो । 

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिम मानिएका राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताउनुभयो । लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिनका लागि तत्काल ठूला ढुङ्गाको सहारामा नदी नियन्त्रणको काम थालिएको उहाँले बताउनुभयो ।

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, नायकले भन्नुभयो, “मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।” उहाँका अनुसार नदी नियन्त्रणका लागि राखिएका ढुङ्गा राप्तीले बगाइसकेको छ । 

नदी नियन्त्रणका लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा बारम्बार पहल भए पनि कुनै सुनुवाइ हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताउनुभयो । रासस।