• आइतबार, २० असोज, २०८१
  • १२:५८:४३

३ अर्ब ५० करोड रुपैयाँ बिगोसहित ६० किलो सुन प्रकरण प्रतिवेदन तयार

  • Netizen Nepal
  • बुधबार, २७ भदौ, २०८०- १५:०९:००/ Wednesday 09-13-23

नेटिजन सम्बाददाता

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । सिआइबीले आज पत्रकार सम्मेलन गरेर ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जानकारी दिएको हो । 

सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पक्राउ परेका ३२ जना प्रतिवादीसहित ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको जानकारी दिनुभयो । सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुन प्रकरणमा पूरक अनुसन्धान गरिने जानकारी दिँदै तस्करीमा संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा ३ सय ६२ किलो सुन तस्करी भएको पनि प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।