• शनिबार, १२ श्रावण, २०८१
  • १२:०९:१७

यसरी सुरु भयो हरितालिका तीज

  • Netizen Nepal
  • सोमबार, १ असोज, २०८०- ०९:०८:००/ Monday 09-18-23

नेटिजन सम्बाददाता

काठमाडौं,१ अशोज। हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् ।

पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ। 

तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।

भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरालगायतका खाना, फलफूल खाने गरिन्छ ।

आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।

खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाइ व्रतबस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पूजा आराधनापश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ। 

तीज पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।

हरितालिकाको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्री मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहौल नै पर्वमय बन्न पुगेको छ ।