• आइतबार, २८ बैशाख, २०८२
  • ०२:०९:२१

प्रविधिमैत्रि बन्दै पाथीभरा मन्दिर

  • Netizen Nepal
  • मंगलबार, ९ असोज, २०८०- १०:५६:००/ Tuesday 09-26-23

नेटिजन सम्बाददाता

काठमाडौं , ९ असोज । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडानसमेत गरिएको छ ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।”

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिनुभयो ।  

उहाँका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा १, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने १, मन्दिरभित्र देखिने गरी १, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । 

त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा ’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा २ गरी ८ सिसी क्यामेरा जडान भएको छ । रासस।