• शनिबार, १२ श्रावण, २०८१
  • ०१:१६:०९

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाडौं  उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्मको यस पर्वको अन्तिम दिन सूर्य भगवानलाई अर्घ दिएपछि पर्व समापन भएको मानिन्छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।

सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाइने गर्दछ भने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरु अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । सो समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।