कोरियाद्वारा नेपाललाई ५ करोड ३५ लाख बढीको स्वस्थ्य सामग्री हस्तान्तरण
-
नेटिजन संवाददाता
- सोमबार, ४ मङ्सिर, २०८०- १४:०१:००/ Monday 11-20-23

काठमाडौं। गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिबृद्धिका लागि ५ करोड ३५ लाख ३२ हजार ५ सय बराबरको पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जांच सामाग्री (Automated Biochemistry Analyzers) उपलव्ध गराएको छ। सोमबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल मार्फत एक कार्यक्रमकावीच नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो।
उक्त पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जांच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षण कलेजो, मृगौला, र प्यान्क्रियाज सहित महत्त्वपूर्ण अंगहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने बताइएको छ। यस डायग्नोस्टिक उपकरणले सीरम, प्लाज्मा र पिसाब जस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
कोरियाली सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान गरि उपचारका लागि सहज बनाउ सहयोग पुग्ने भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षणलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा समेत पुग्ने कुरा बताउनुभयो।
राजदूत पार्कले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि कोरियाली सरकारको प्रतिबद्धता रहेको भन्दै कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सदा समर्थन रहने बताउनुभयो। कोरियाले नेपाललाई विगत १५ वर्ष देखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ। विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी,शिक्षा, ग्रामीण विकास तथा उर्जा क्षेत्र रहेका छन्।
कोरिया सरकारले कोईका मार्फत सन् १९९१ देखि नेपाललाई १ सय ८८.६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराएको छ, जसमध्ये २६.८ प्रतिसत स्वास्थ्य क्षेत्रमा छ। त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत थप १५० शय्याको अस्पताल निर्माण चरणमा रहेको छ।
सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड–१९ को महामारी लगायतका कठीन समयमा कोरिया सरकारले नेपाललाई सहयोग गर्दै आएको छ। हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावितहरुलाई ३ लाख अमेरिकी डलर बराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको छ।
आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपाल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको नजिक रहेको अवसरलाई सदुपयोग गर्दै विभिन्न विकास साझेदारी कार्यक्रम मार्फत दुई देश बीचको सम्वन्धलाई झनै मजबुत बनाउँदै जान दुवै देशले प्रयास गरिरहेको कार्यक्रममा बताइयो।