१५ वटा मुर्रा राँगा कहाँ राखिन्छ ?
-
नेटिजन संवाददाता
- शनिबार, ९ मङ्सिर, २०८०- ०६:४८:००/ Saturday 11-25-23

काठमाडौं। भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसीरमा नेपालमा ल्याइएको हो।
सातवटा राँगालाई पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा र पाँचवटालाई लाहान लगिँदैछ। बाँकी तीनवटालाई बाँकेको खजुरास्थित गौघाटमा राखिएको छ। भारतको पञ्जाबबाट राँगालाई स्थल मार्ग हुँदै जमुनाहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको थियो। गत जेठ महिनाको अन्तिम साता भएको प्रधानमन्त्री दाहालको दिल्ली भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको द्विपक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने प्रतिबद्धता भारतले जनाएको थियो।
प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थल मार्ग हुँदै रुपैडिया-जमुनाहा नाकाबाट नेपालगन्ज ल्याइएको हो। संसारभर नै मुर्रा धेरै दूध दिने जातको भैँसीका रूपमा परिचित छ। यो मुर्रा जातको राँगाबाट उत्पादन गरिएको वीर्य मार्फत नेपालमै रहेका अन्य भैँसीहरूमा प्राकृतिक गर्भाधान गराएर नस्ल सुधार गरिने छ।
प्रधानमन्त्री दाहालको भ्रमण पश्चात् प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागकी पूर्वउपमहानिर्देशक डा.सम्झनाकुमारी काफ्लेको संयोजकत्वमा एउटा टोली भारत पुगेको थियो।
करिब एक साताअघि सोही टोलीले टुङ्गो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारीले हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा राखेर नेपालगञ्ज ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका डाक्टर शिवनाथ महतोले बताए।
राँगा छनोट समितिमा समेत रहेका डाक्टर महतोले नेपाल प्रवेश गराइएका मुर्रा राँगाबाट अबको तीन महिनाभित्र लाभ लिन सकिने दाबी गर्छन्।
मुर्रा राँगा अन्य राँगाको तुलनामा जिउडाल ठूलो हुने र आहारा पनि धेरै खाने भएकाले पालनपोषण र हेरचाहमा बढी ख्याल गर्नुपर्ने हुन्छ। कुनै पनि जेनेटिक मेटेरियलहरू बेचबिखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यस कारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबीच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरीय भ्रमणमा यो कुराको टुङ्गो लागेको हो।
यी सबै दुईदेखि तीन वर्ष उमेर समूहका हुन्, साढे तीन वर्ष पुगेपछि वीर्य उत्पादनका लागि योग्य हुन्छन्। केही दिन राँगालाई तालिम दिइन्छ अनि यसबाट लाभ लिन सुरु गरिनेछ।
नेपाल प्रवेश गराइएका सबै राँगा उत्कृष्ट मुर्रा भैँसीबाट जन्मिएको जानकारी दिँदै उनले यसबाट नेपालमा नस्ल सुधारको राम्रो अवसर भएको बताए।
राँगासँगै मुर्रा जातकै भैँसी उपलब्ध भए शत प्रतिशत मुर्रा उत्पादन गर्न सकिने डाक्टर महतोले बताए। राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट बाँकेका डाक्टर मिलन कुमार चौधरीले खुला नाकाका कारण नेपालका कतिपय कृषकहरूले पहिलेदेखि नै भारतबाट भित्र्याएर मुर्रा भैँसी पालिरहेको बताए।
हरियाणा र नेपालको मौसम एकै किसिमको भएको बताउँदै उनले मुर्रा राँगा सहजै नेपालमा स्थापित हुने उनले दाबी गरे। मुर्रा राँगासँगै नेपालगन्ज आएका राष्ट्रिय भैँसी अनुसन्धान केन्द्र भारत हरियाणाका डाक्टर राजेश कुमारले भारतले औपचारिक रूपमा पहिलो पटक नेपाललाई मुर्रा भैँसी उपलब्ध गराएको बताए। मुर्रा राँगालाई नेपालको वातावरणमा घुलमिल हुन केही समय लाग्ने तर स्थापित हुन ठूलो समस्या नहुने बताइएको छ।