• शुक्रबार, २६ बैशाख, २०८२
  • ०२:३५:२२

भूकम्पपीडितको क्षति विवरण अझै सङ्कलन भएन

काठमाडौं  कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको छ ।

भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् ।

भूकम्पपीडितका लागि आवा निर्माण ढिलाइ भइरहेकाले चिसोका कारण नागरिकको ज्यान जाने सम्भावना बढिरहेको भन्दै सरोकारवालाले तत्काल अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने बताइरहेका छन् । विभिन्न राजनीतिक दलहरू भने प्रभावित क्षेत्र केन्द्रित भएका छन् । सबैजसो दलबाट हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता स्वयंसेवकका रूपमा प्रभावित क्षेत्रको व्यवस्थापनमा जुटेका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल भूकम्प प्रभावित क्षेत्रमा सक्रिय बनेका छन् । दलहरूले आफ्ना भ्रातृ सङ्गठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक तथा नेताहरू अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको बताउँछन् । मङ्सिरभित्र पालमुक्त गरेर अस्थायी आवासमा स्थानान्तरण नगर्ने हो भने चिसोले ज्यान जाने खतरा बढिरहेको नेताहरूको भनाइ छ । सरकारले अस्थायी आवास निर्माणबारे अहिलेसम्म कुनै तदारुकता नदेखाएको पीडितको गुनासो छ ।