• शनिबार, १२ श्रावण, २०८१
  • ०१:४३:०५

सबैका लागि खुला गर्न लागिएको दियालो बङ्गला दरबारमा छ ?

  • Netizen Nepal
  • बिहीबार, २१ मङ्सिर, २०८०- १०:५६:००/ Thursday 12-07-23

चितवन। भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उहाँको भनाइ छ ।

के छ दरबारमा ?

दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिक रूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्विमिङ पुल’पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बङ्गलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छभने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ ।रासस