• आइतबार, १६ बैशाख, २०८१
  • ११:२२:३९

ध्रुवे हात्तीले ४ घर भत्कायो

काठमाडौं   चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर ४ घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा ४ घर भत्काएको जानकारी दिनुभयो ।

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उहाँले भन्नुभयो, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ ।

रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनुभयो । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उहाँले बताउनुभयो । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।