• आइतबार, ३० असार, २०८१
  • ११:४७:०५

 ‘यो चलन हटे हाम्रा छोरीले जिउँदै स्वर्ग देख्थे’

त्यस दिन बाछीगाउँमा भूमे पर्वको रमझम थियो। गाउँमा डेरा गरेकी १७ वर्षीया किशोरी एकछिन समय निकालेर नाचगान हेर्न पुगिन्। त्यसैबेला चार जना केटा मिलेर एक्कासी उनलाई तान्न थाले। घिसार्दै तकसेरा बजारसम्म पुर्‍याए।

किशोरी रुकुमपूर्व, पुथा उत्तरगंगा–७, जाङबाट १२ कक्षाको परीक्षा दिन आएकी थिइन्। बाटोमा लछारपछार हुँदा उनका कपडा च्यातिए। बचाउ गर्न थालेका स्थानीय महिलाले पनि कुटाइखाए।  

बुढापाकाका अनुसार उहिले केटाहरू बाहिरको कोठामा बसेर गाउँथे भने केटीहरू भित्र परिवारकै साथमा रहेर गाउँथे। जिल्ला समन्वय समिति रूकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ विस्तारै यो चलनले विकृत रूप लिंदै गएको बताउँछन्। ‘अहिले त केटीलाई समाउने, अँगालो हाल्ने र दुव्र्यवहार गर्नेसम्म हुनथाल्यो’ उनी भन्छन्, ‘कोही केटी मान्छे देख्नै नहुने, जिस्काउने, कोठामा गएर दुव्र्यवहार गर्ने र तानेरै श्रीमती बनाउनेसम्म भइरहेको छ।’

 

चल्तीका फिल्मको जस्तो यो दृश्य तानीविवाहका नाममा रुकुममा प्रचलित कुप्रथाका कारण भएको थियो। किशोरीलाई तान्नेमध्येका मुख्य व्यक्ति दुई सन्तानका बाबु थिए। उनी यी किशोरीलाई जबरजस्ती कान्छी श्रीमती बनाउन चाहन्थे।

प्रहरीले समयमै खबर पाएपछि बीच बाटोमै रोकेर किशोरीको उद्धार गर्‍यो। तान्ने चारै जना पक्राउ परे। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लैजान प्रहरीले गाडीमा राखिसकेको थियो। तर, स्थानीय अगुवा र जनप्रतिनिधिहरू बाटो छेक्न आइपुगे। ‘गाउँघरको परम्परा हो, कारबाही गर्न पाइँदैन’ भन्दै अघि बढ्न दिएनन्।

‘शुरुमा किशोरी जाहेरी दिन तयार थिइन्’ जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठ भन्छिन्, ‘तर अगुवा र जनप्रतिनिधिले परिवारलाई दबाव–धम्की दिएपछि उनले मानिनन्।’

कतैबाट पनि सहयोग नभएपछि प्रहरीले मुद्दा चलाउन सकेन। ‘स्थानीय परम्पराका नाउँमा किशोरीमाथि हिंसा र यौन दुव्र्यवहार भइरहेको छ’, डीएसपी श्रेष्ठले भनिन्।रुकुमपूर्वमा छोट्टी बस्ने नाममा किशोरीमाथि दुव्र्यवहार गर्ने र जबर्जस्ती तानेरै विवाह गर्ने प्रचलन छ। ‘यही प्रचलनका कारण किशोरीहरू सधैं त्रासमा रहन्छन्’ डीएसपी श्रेष्ठ भन्छिन्, ‘उनीहरूको पठनपाठन र दैनिक जीवन प्रभावित भएको छ। तर पनि कसैले उजुरी गर्दैनन्।’

छोट्टी बस्ने चलन रूकुममा पुरानो हो। साँझपख केटा–केटीहरू कुनै साझा ठाउँ वा केटीको घरमा भेला भई दोहोरी गाउने र नाच्ने, गीतबाटै प्रेम र विवाहको प्रस्ताव राख्ने प्रचलनलाई छोट्टी बस्ने भनिन्थ्यो।

बुढापाकाका अनुसार उहिले केटाहरू बाहिरको कोठामा बसेर गाउँथे भने केटीहरू भित्र परिवारकै साथमा रहेर गाउँथे। जिल्ला समन्वय समिति रूकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ विस्तारै यो चलनले विकृत रूप लिंदै गएको बताउँछन्। ‘अहिले त केटीलाई समाउने, अँगालो हाल्ने र दुव्र्यवहार गर्नेसम्म हुनथाल्यो’ उनी भन्छन्, ‘कोही केटी मान्छे देख्नै नहुने, जिस्काउने, कोठामा गएर दुव्र्यवहार गर्ने र तानेरै श्रीमती बनाउनेसम्म भइरहेको छ।’

.तपाईलाई आजसम्म छोट्टी बस्ने नाममा कसैले जिस्काउने, छुने, समाउने, यौन दुव्यवहार गर्ने गरेको छ ? 

गएको साउन ४ मा कुचिवाङकी २० वर्षीया युवतीलाई लुकुमका  जना युवाले हिंड्दाहिंड्दै तान्न थाले। तानिरहेको भिडियो खिचेर उनीहरूले सामाजिक सञ्जालमा समेत राखे। दुव्र्यवहारमा परेकी युवती जसोतसो उम्किन सकिन्। पीडित युवतीले प्रहरीमा जाहेरी दिने हिम्मत जुटाउन साउन २८ सम्म पर्खनु पर्‍यो। घटनामा संलग्न भूमे–२ का ४० वर्षीय जयकुमार पुन, २६ वर्षीयद्वय विकास पुन, कमल पुन र भूमे–३ का २९ वर्षीय विकास रोका मगर पक्राउ परे।

जिल्ला प्रशासन कार्यालयले असोज ४ गते प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना र पीडितलाई विकास रोका मगरबाट ४ हजार, जयकुमार पुन, विकास पुन र कमल पुनबाट ३/३ हजार क्षतिपूर्ति भराउने फैसला गर्‍यो।

छोट्टी बस्ने र तानीविवाहका नाममा हुने हिंसा विरुद्ध जिल्लामा कारबाही भएको यो नै पहिलो घटना भएको डीएसपी श्रेष्ठ बताउँछिन्। भन्छिन्, ‘पहिलो पटक पीडित युवतीबाट जाहेरी परेर कारबाही भएको छ। समाजले साथ दिएमा यो क्रम अझै बढ्नेछ।’

जम्मा तीनवटा स्थानीय तह (सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका) रहेको रुकुमपूर्व, पुरानो रुकुम जिल्लालाई टुक्र्याएर बनेको कान्छो जिल्ला हो। यी तीनमध्ये पुथा उत्तरगंगामा तानीविवाहका नाममा बालिका/किशोरीमाथि हुने हिंसा बढी छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुमपूर्वमा १० देखि २४ वर्षसम्मका बालिका/युवतीको संख्या ९ हजार ४३८ छ। उनीहरूमध्ये अधिकांशले यौन दुव्र्यवहार र हिंसा व्यहोरिरहेका छन्।

. छ भने आजसम्म कतिपटक यस्तो समस्याभोग्नुभएको छ?

‘हामीहरू पाइला–पाइलामा जोखिममा छौं। विद्यालय जाँदै गरेकी किशोरी बाटोमै कसैको श्रीमती बन्न सक्छे’ पुथा उत्तरगंगा–१० बाछीगाउँकी १६ वर्षीया संगीता राम्जाली भन्छिन्, ‘जीवन अनिश्चित हुँदा ठूलो सपना देख्न पनि पाइँदैन।’

८२ प्रतिशत माथि दुव्र्यवहार

रुकुमपूर्वमा किशोरी/बालिका हिंसा कतिसम्म भयावह छ भने हामीले कुराकानी गरेका ८२.६८ प्रतिशत किशोरीहरूले छोट्टी बस्ने नाममा आफूभन्दा धेरै ठूलो उमेरका पुरुषहरूबाट यौन दुव्र्यवहार खेप्नुपरेको बताएका छन्। यीमध्ये ११ वर्षका बालिकाहरू समेत उल्लेख्य संख्यामा छन्।

यो स्टोरीका लागि छोट्टी बस्ने र तानीविवाहको प्रचलन धेरै रहेको पुथा उत्तरगंगा गाउँपालिकाका नौ वटा वडाका १७९ किशोरीहरूमाझ हामीले नमूना सर्वेक्षण गरेका थियौं।

सर्वेक्षणमा सहभागी अधिकांश (८२.६८ प्रतिशत) किशोरीले छोट्टी बस्ने नाममा आफूभन्दा धेरै उमेरका पुरुषले समाएको र यौन दुव्र्यवहार गरेको बताए। तीमध्ये ५६.४२ प्रतिशत किशोरीले एकपटक, २०.६७ प्रतिशतले दुईदेखि पाँचपटक र ५.५ प्रतिशतले पाँचपटकभन्दा धेरै यस्तो दुव्र्यवहार र हिंसा खेपेका छन्।

. तपाईले गाउँमा तानी विवाह भएकाे देख्नु भएकाे छ ?

सर्वेक्षणमा सहभागी ११ देखि २० वर्षसम्मका बालिका/किशोरीमध्ये ७७.०९ प्रतिशतले तानीविवाह भएको प्रत्यक्ष देखेका छन्। १.११ प्रतिशत त आफैं तानीविवाहमा परेका छन्।  

छोट्टी बस्ने र तानीविवाहको त्रास बालिकाहरूमा यति बढी छ कि, ७८.७७ प्रतिशत किशोरीकोे दैनिक जीवन र पढाइमा यही पीडाको असर छ। यो परम्पराका कारण ३९.१० प्रतिशतले आफू सधैं त्रासमा रहेको र त्यसैकारण परीक्षामा राम्रो गर्न नसकेको बताएका छन्। ८.९३ प्रतिशतले हिंसाकै डरले आफ्नो घरदेखि टाढा गएर पढ्न नसकेको जवाफ दिएका छन्। १४.५२ प्रतिशतले कसले कुन बेला तान्छ भन्ने त्रासकै कारण पढाइ नै छोड्नुपरेको छ।

 

अझ उदेकलाग्दो त बालिका र किशोरीमाथि यत्रो हिंसा भइरहँदा पनि सबैजसो (९७.२० प्रतिशत) ले कतै उजुरी गरेका छैनन्। उजुरी गर्ने २.७९ प्रतिशतले पनि न्याय पाएका छैनन्।

आखिर उजुरी नगर्नुको कारण के होला त ?

धेरै (९३.८५ प्रतिशत) ले हिंसा गर्नेलाई कारबाही भएको देखेकै छैनन्। त्यसैले उनीहरूलाई न्याय पाउनेमा विश्वास नै छैन। यही कारण उनीहरू हिंसा चुपचाप सहिदिन्छन्। झण्डै एकतिहाइ (२७.९३ प्रतिशत) लाई समाजमा निरन्तर देख्दै–भोग्दै आएको यो प्रचलन हिंसा हो र पीडकलाई कारबाही हुन्छ भन्ने नै थाहा छैन। उनीहरू भाग्य नै यस्तो भन्दै बस्छन्।

त्यस्तै २२.९० प्रतिशतले कारबाही हुँदैन भनेर, १५.६४ प्रतिशतले चलिआएको चलन भनेर, ११.१७ प्रतिशतले अभिभावक र समाजको डरले तथा २२.३४ प्रतिशतले माथिका सबै कारणले उजुरी दिएका छैनन्।

छोट्टी बस्ने र तानीविवाहको त्रास बालिकाहरूमा यति बढी छ कि, ७८.७७ प्रतिशत किशोरीकोे दैनिक जीवन र पढाइमा यही पीडाको असर छ। यो परम्पराका कारण ३९.१० प्रतिशतले आफू सधैं त्रासमा रहेको र त्यसैकारण परीक्षामा राम्रो गर्न नसकेको बताएका छन्। ८.९३ प्रतिशतले हिंसाकै डरले आफ्नो घरदेखि टाढा गएर पढ्न नसकेको जवाफ दिएका छन्। १४.५२ प्रतिशतले कसले कुन बेला तान्छ भन्ने त्रासकै कारण पढाइ नै छोड्नुपरेको छ।

सर्वेक्षणमा सहभागी सबैलाई अन्योलपूर्ण भविष्यका साथ बाँच्नुपर्ने बाध्यताबाट तत्कालै छुटकारा चाहिएको छ। यसको उपचारका लागि कडा कानूनी कारबाही, चेतना अभिवृद्धि र अभिभावकले पहलकदमी लिनुपर्ने उनीहरूको सुझाव छ।

 

समाजमा स्त्रीद्वेषी सोचाइ कतिसम्म छ भने एकपटक कसैले तानिसकेको किशोरीलाई समाजले ‘दाग लागेको’ ठान्छ। ‘फलानोले छोइसकेको केटी हो भनेर पछिसम्म अरूले विवाह गर्न रुचाउँदैनन्’ बाछीगाउँकी १४ वर्षीया नवीना बुढा भन्छिन्, ‘अपहरण गरेर लगिएकी केटी फिर्ता आएपछि गाउँमा पुनस्र्थापना हुन सजिलो छैन। तानीविवाह स्वीकार्न बाध्य हुनुपर्छ।’

हिंसाको यो हद !

छोट्टी बस्ने र तानीविवाहको प्रचलनको त्रासबारे प्रष्ट्याउँदै बाछीगाउँकी १६ वर्षीया बबिता शेर्पाइली भन्छिन्, ‘नयाँ केटी देख्नेबित्तिकै केटाहरू सीधै कोठामा आएर छुने, चलाउने गर्न थाल्छन््। राति पनि ढोका ढकढकाउन आउँछन्।’

स्थानीय सरकारले पनि यो अमानवीय व्यवहार र हिंसालाई ठूलो  समस्याका रूपमा लिएका छैनन्। त्यसैले यसलाई रोक्ने प्रयास समेत गरेका छैनन्।

पहिले स्थानीय बाल क्लबमा आबद्ध बालिकाहरूले स्वतस्फूर्त रूपमा गठन गरेको किशोरी अधिकार मञ्चले अलिक सक्रियता बढाएपछि गाउँपालिकाले प्रोत्साहन त गर्न थालेको छ तर मञ्चका प्रदर्शन, सभा र सन्देशमूलक कार्यक्रमको प्रभाव स्थानीय समाजमा परेको देखिंदैन।

. छोट्टी बस्ने र तानी विवाहका नाममा हिंसा हुँदा कतै उजुरी गर्नु भएको छ?

अभिभावकलाई सचेत बनाई किशोरीहरूमाथि भइरहेको यो यौन दुव्र्यवहार रोकथामका लागि गाउँपालिका र युनाइटेड मिसन टु नेपाल को समन्वयमा गएको असोज २४ र २५ गते तकसेरामा बालिका सभा आयोजना गरियो। सभामा बालिकाहरूले गत जेठमा भएको तानीविवाहको घटनालाई आधार बनाई नाटक प्रदर्शन गरे। बालिका बचाउन अभिभावक र स्थानीय सरकारलाई हारगुहार गरे।  

विद्यालयस्तरका प्रतियोगिता, किशोरी समूहका कार्यक्रम र अन्य काममा घरदेखि टाढा जानुपरे धेरैपटक सोचविचार गर्नुपर्र्ने अवस्था रहेको पुथा उत्तरगंगा–१२, कोलकी रूपा बिक बताउँछिन्। १० कक्षामा अध्ययनरत उनी भन्छिन्, ‘घरबाट निस्कन डर छ। कतै केही सिक्न जान सक्दैनौं। हाम्रो सुरक्षा गरिदिने कोही छैन।’

 

तर पनि अभिभावकबाट साथ नपाएको उनीहरूको गुनासो छ। पुथा उत्तरगंगा गाउँपालिका स्तरीय किशोरी अधिकार मञ्चकी अध्यक्ष सरिता शेर्पाइली भन्छिन्, ‘धेरैको १५/१६ वर्षमै विवाह भइसक्छ। कति तानीविवाहमा पर्छन् त कतिलाई तानीविवाहबाट बचाउन छिटै विवाह गरिदिने चलन छ।’ अभिभावकले समेत ‘ठिकै छ, यस्तै हो चलिआएको चलन’ भन्ने गरेको उनले सुनाइन्।

यही कुप्रथाको त्रासले पढाइ र परीक्षामा समेत असर परेको तकसेराकी १५ वर्षीया आरती घर्ती बताउँछिन्। स्थानीय विद्यालयमा नौ कक्षामा पढ्ने उनी भन्छिन्, ‘पढ्दापढ्दै पनि कतिबेला कसले के गर्छ भन्ने चिन्ता हुन्छ। यस्तो नराम्रो चलन रोक्न कोही अघि सर्दैनन्।’

विद्यालयस्तरका प्रतियोगिता, किशोरी समूहका कार्यक्रम र अन्य काममा घरदेखि टाढा जानुपरे धेरैपटक सोचविचार गर्नुपर्र्ने अवस्था रहेको पुथा उत्तरगंगा–१२, कोलकी रूपा बिक बताउँछिन्। १० कक्षामा अध्ययनरत उनी भन्छिन्, ‘घरबाट निस्कन डर छ। कतै केही सिक्न जान सक्दैनौं। हाम्रो सुरक्षा गरिदिने कोही छैन।’

यो गलत प्रचलन नियन्त्रणका लागि समाजले सहयोग नगर्दा प्रहरी एक्लैलाई कठिन भइरहेको इलाका प्रहरी कार्यालय तकसेराका इञ्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक डम्बर गिरी बताउँछन्। गिरी भन्छन्, ‘यो अभ्यासलाई सबै मिलेर रोक्न नसके अझै लामो समयसम्म यहाँका महिला मानिस भएर बाँच्न नपाउने स्थिति छ।’

५ .छोट्टी बस्ने र तानी विवाहका नाममा हिं;सा गर्नेलाई कारवाही भएको छ

बालविवाह, तानीविवाह र छोट्टी बस्ने प्रथाले बालिकाहरू समस्यामा रहेको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर स्वीकार्छिन्। तर, उनी समाधानको जिम्मेवारी पनि किशोरीलाई नै दिन्छिन्। उनले भनिन्, ‘किशोरीहरू नै सचेत हुनुपर्छ। उनीहरूको पनि केटाहरूसँग सजिलै भुल्ने बानी छ।’

अवसरबाट वञ्चित

तानीविवाहको प्रचलनका कारण रुकुमपूर्वमा बालविवाह दर पनि उच्च छ। तानीविवाहमा परेका बालिका कलिलै उमेरमा सन्तान जन्माउन बाध्य छन्। त्यसैले अरू कसैबाट तानिनु भन्दा, गतिलो लागेको मान्छेसँग सानैमा विवाह गर्नु बालिकाका लागि बाध्यता भइदिन्छ वा परिवारले नै कथित सुरक्षाका नाममा विवाह गराइदिन्छन्।

. उजुरी गर्नुभएको छैन भने किन नगर्नुभएकाे?

राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुमपूर्वमा १५ देखि १७ वर्ष उमेरमा विवाह गर्ने बालक १४.८ प्रतिशत र बालिका २९.७ प्रतिशत छन्। बालक भन्दा बालिका विवाहको दर दोब्बर हुनुको कारण यही बालिकाद्वेषी प्रथा हो। यहाँका सबै स्थानीय तहमा बालविवाहको यो दर उस्तै उस्तै छ।भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ यो गलत चलनले बालविवाह बढाएको र विशेषगरी बालिकाहरूको शिक्षा र सीप विकासमा असर पुगेको बताउँछन्। भन्छन्, ‘विद्यालय पढ्दै गरेका केटाभन्दा केटीहरूको धेरै विवाह भएको छ। यस्तो चलन रोक्न गाउँपालिकाले योजना बनाएर काम गर्न खोज्दैछ।’

गाउँपालिकाले काम गर्न खोजिरहेको भन्ने अध्यक्षको जवाफले नै थाहा हुन्छ, जनप्रतिनिधि आफैं कति संवेदनशील छन्। 

 बालविवाह गर्ने/गराउने व्यक्तिलाई त तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।त्यस्तै दफा १७५ को उपदफा १ र २ मा बहुविवाह गर्न नहुने प्रावधान छ। उपदफा ४ मा बहुविवाह गर्नेलाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ र यस्तो विवाह स्वतः बदर हुन्छ। तर, तानीविवाह गर्नेमध्ये पहिले विवाह गरिसकेका पुरुषहरू उल्लेख्य संख्यामा छन्।

 

रुकुमपूर्वको कुल जनसंख्या ५६ हजार ७८६ हो। साक्षरता दर ७१.४ प्रतिशत। यीमध्ये ६३.७ प्रतिशत महिला र ७९.७ प्रतिशत पुरुष साक्षर छन्। प्राथमिक तहसम्म अध्ययन गरेको जनसंख्या ३४.८ प्रतिशत छ। निमावि तहमा पुग्दा यो संख्या घटेर २१.४ प्रतिशत र १० कक्षामा ६.९ प्रतिशतमा झरेको छ। स्नातक तहमा पुग्ने विद्यार्थी त ६८८ जना (१.९ प्रतिशत) मात्रै छन्।

समाजमा रहेको स्त्रीद्वेषी प्रचलनका कारण बालिका/महिलाको जीवनमा गम्भीर नकारात्मक असर परिरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम बताउँछन्। उनी भन्छन्, ‘परम्पराका नाममा बालिकामाथि भइरहेको हिंसाले उनीहरूको शिक्षा र स्वास्थ्य मात्र होइन जीवनको दिशा नै अर्कैतिर मोडिदिएकोे छ।’

.छोट्टी बस्ने र तानीविवाहले तपाईको पढाइ र जीवनमा कुनै असर गरेको छ कि छैन ?

प्रायजसो एसईई परीक्षाको केन्द्र अध्ययन गरिरहेको विद्यालयभन्दा टाढा हुने गरेको र, त्यस्तो अवस्थामा केन्द्र नजिक डेरामा बसेका बालिका/युवती जोखिममा पर्ने उनले सुनाए। ‘परीक्षाका बेला उनीहरूको तनाव दोब्बर हुन्छ– छोट्टी बस्ने युवा आएर दुव्र्यवहार गर्लान् भन्ने त्रासले’ उनले भने, ‘यस्तो गलत चलन रोक्न स्थानीय सरकारले प्रभावकारी काम गर्नुपर्छ।’

खै सम्मानित जीवनको हक ?

‘रुकुममा पहिले रोदी बस्ने, मामाकी छोरीमाथि अधिकार ठान्ने चलन थियो’ जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ भन्छन्, ‘त्यसैको विकृत रूप यौन दुव्र्यवहारसम्म आइपुग्यो। अहिले त थप गलत हुन थाल्यो।’

सामाजिक मान्यता एकैपटक हटाउन कठिन हुने भएकाले पहिले समाजमा चेतनाका लागि काम गर्नुपर्ने र त्यसपछि कानूनी कारबाहीमा जानुपर्ने उनको सुझाव छ।

छोट्टी बस्ने, तानीविवाह, बालविवाह र बहुविवाह कानून विपरीतका काम रहेकाले यसलाई कानूनी रूपमा निरुपण गर्न सकिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा बताउँछन्।शर्मा भन्छन्, ‘यस्ता घटनामा तत्काल प्रहरीलाई खबर दिएमा हामी पीडितको उद्धार र पीडकलाई कारबाही गर्छौं। समाजले साथ दिनुपर्छ।’

तानीविवाह र छोट्टी बस्ने प्रचलन दुवै कानून विपरीतका काम हुन्। कानूनले निषेध गरेका कामलाई अपराध नमान्ने सरकारी निकाय र सामान्य प्रचलन ठान्ने सामाजिक सोच बालिका/महिलाका लागि दुर्भाग्य भएका छन्।

तानीविवाह, बहुविवाह, बालविवाह, छोट्टी बस्ने नाममा हुने यौन दुव्र्यवहार र शरीर बन्धकको यो प्रथामा मुलुकी अपराध संहिता २०७४ का दफा १७१, १७५, २११, २१२, २१९ र २२४ आकर्षित हुन्छन्।

. छोट्टी बस्ने र तानी विवाहले तपाईको पढाइ र जीवनमा कुनै असर गरेको छ भने कस्तो असर गरेको छ ?

बालविवाह गर्ने/गराउने व्यक्तिलाई त तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।त्यस्तै दफा १७५ को उपदफा १ र २ मा बहुविवाह गर्न नहुने प्रावधान छ। उपदफा ४ मा बहुविवाह गर्नेलाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ र यस्तो विवाह स्वतः बदर हुन्छ। तर, तानीविवाह गर्नेमध्ये पहिले विवाह गरिसकेका पुरुषहरू उल्लेख्य संख्यामा छन्।

तानीविवाह अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरको काम हो। मुलुकी अपराध संहिता २०७४ को दफा २११ अनुसार अपहरण गर्न नहुने र दफा २१२ अनुसार शरीर बन्धक लिन नहुने कसुरमा तानीविवाहको घटनामा मुद्दा चलाउन सकिन्छ। यसमा सातदेखि दश वर्षसम्म कैद सजाय र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।   

 दिलज्योतिका अनुसार रुकुमपूर्वका बालिका युवतीहरू आजसम्म आफ्नो भविष्य पुरुष र भाग्यको भरमा छोडेर बसेका छन्। यहाँका बालिका/युवतीहरूले रोजेको मान्छेसँग विवाह गर्न नपाउने र पढेर ठूलो मान्छे बन्ने कुरा सोच्न पनि नसक्ने उनी बताउँछिन्। भन्छिन्, ‘हेर्दाहेर्दै यो चलन हट्यो भने हाम्रा छोरीहरूले जिउँदै स्वर्ग देख्थे।’

 

तानेर जबर्जस्ती श्रीमती बनाउने काम मुलुकी अपराध संहिताको दफा २१९ अनुसार जबर्जस्ती करणी गर्न नहुने कसुरअन्तर्गत पनि पर्छ। जसमा सात वर्षदेखि जन्मकैदसम्मको सजाय र तीन लाखदेखि सात लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

. छोट्टी बस्ने र तानी विवाहको परम्परा तपाईलाई कस्तो लाग्छ?

छोट्टी बस्ने नाममा हुने हरेक क्रियाकलाप यौन दुव्र्यवहारका घटना हुन्। यो काम मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार यौन दुव्र्यवहार गर्न नहुने विरुद्धको कसुर हो।

दफा २२४ को उपदफा २ मा कसैको मञ्जुरी विना करणीको आशयले समातेमा, निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा, अस्वाभाविक रूपमा एकान्त ठाउँमा लगेमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा, अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा यौन दुव्र्यवहार गरेको मानिने प्रावधान छ।उपदफा ३ मा यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर ऐनका यी व्यवस्था कार्यान्वयन गराउन जनप्रतिनिधि, सरकारी निकाय र समाज कोही तयार देखिंदैनन्।

१०. छोट्टी बस्ने र तानी विवाह गर्ने परम्परा रोक्न के गर्नुपर्ला?

छोट्टी बस्ने र तानीविवाह गर्नेलाई कारबाही गर्न सकिने यति धेरै कानून भएको विषयमा जानकारी दिंदा अभिभावकहरू पनि जिब्रो टोक्छन्। ‘हामी त जसले तान्छ उसको जोई भन्दै बस्यौं’ पुथा उत्तरगंगा–११, उपल्लो सेराकी ५३ वर्षीया दिलज्योति बुढा भन्छिन्, ‘छोट्टी बस्ने भनेर तरुनी समाउने र तानेर विवाह गर्ने कुरा पुरुषको अधिकार जस्तो लाग्थ्यो।’

दिलज्योतिका अनुसार रुकुमपूर्वका बालिका युवतीहरू आजसम्म आफ्नो भविष्य पुरुष र भाग्यको भरमा छोडेर बसेका छन्। यहाँका बालिका/युवतीहरूले रोजेको मान्छेसँग विवाह गर्न नपाउने र पढेर ठूलो मान्छे बन्ने कुरा सोच्न पनि नसक्ने उनी बताउँछिन्। भन्छिन्, ‘हेर्दाहेर्दै यो चलन हट्यो भने हाम्रा छोरीहरूले जिउँदै स्वर्ग देख्थे।’ खोज पत्रकारिता केन्द्र |