• शनिबार, १५ बैशाख, २०८१
  • ०८:३४:२८

नेतृत्वमा राजनीतिक अस्तित्व भेट्टाएकी प्रमिला

काठमाडौँ । ‘स्थानिय सरकारको बजेट यसै पास हुँदैन । सुरुमा समुदायमा पुगेर टोल भेला हुन्छ । भेलाबाट आएका विषयहरुमा वडा समितिको बैठकमा छलफल हुन्छ । वडाको ५ जना कमिटि र एकजना सचिव बसेर त्यसलाई छाँटकाँट गरेर पालिकामा पठाउँछ । त्यसपछि सो कार्यक्रम कार्यपालिकाले अनुमोदन गर्छ । बजेट पासचाहिं गाउँ परिषदले नै गर्ने रहेछ । अत्यावश्यक विषयलाई पहिलो प्राथमिकता र अरुलाई क्रमागत रुपमा पास गर्ने रहेछ । सबै कार्यक्रम एकै वर्षमा अनुमोदन गर्दा बजेटले भ्याउँदैन नि त, त्यसैले ।’ 

आजभोलि उनी बजेटका बारेमा मात्र होइन पालिकामा हुने हरेक प्रशासकीय गतिविधिका बारेमा यसैगरी बताउँन सक्छिन् । २०७४ सालको चुनावमा गन्यापधुरा गाउँपालिका वडा नं ३ मा वडा सदस्य निर्वाचित भएकी प्रमिलादेवी भुलको ५ वर्ष अलमलमै बित्यो । आफ्नो काम, कर्तव्य अधिकार र जिम्मेवारीका बारेमा समेत नबुझेकी उनलाई अहिले भने सबै कुराको जानकारी भएको छ । अहिले उनी सोही पालिकाको कार्यपालिका सदस्य हुन् । ५ वर्षसम्म बैठकमा उपस्थित भएर हस्ताक्षर मात्र गरेर फर्कने भुल अहिले भने निर्धक्कसंग आफ्ना राय राख्छिन् । उस्तै परे, चित्त नबुझेको विषयमा हस्ताक्षरै नगरेर दवाब सिर्जना गर्छिन् ।    

समाज सेवामा त प्रमिलालाई पहिलेदेखि नै रुचि थियो । तर राजनीतिमा आइहाल्ने इच्छा भने थिएन ।  २०७४ को निर्वाचनमा गन्यापधुरा गाउँपालिका वडा नं ३ बाट दलित महिला सदस्यका रुपमा निर्वाचनमा उमेद्वारी दिने कोही भएनन् । त्यसपछि एक्कासी राजनीतिमा हाम फाल्न पुगेको बताउँदै उनी भन्छिन्, ‘मेरो सानो बच्चा भएकाले पनि तत्कालै राजनीतिमा लाग्ने सोच थिएन । सायद सरकारले दलित महिलाका लागि कोटा नछुट्याइदिएको भए म राजनीतिमा आइहाल्ने थिइनँ ।’
२०७४ मा उनी निर्वाचित भइन् । त्यत्तिका वडाबासीले भोट दिएर जिताएको खुशी एकातिर र आफुलाई राजनीतिका बारेमा सामान्य जानकारी समेत नहुँदा भित्र भित्रै खल्लो महसुस पनि भइरहेको थियो । उनी भन्छिन्, ‘मेरो ५ वर्ष सिक्दा सिक्दै नै बित्यो । खासै केही काम गर्नै भ्याइनँ ।’
२०७८ सालमा जब उनी महिला नेतृत्व मंचमा आवद्ध भइ राजनीतिक नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम लिइन्, तब उनलाई ५ वर्षमा केके हुँदै आएका थिए भन्ने कुराको सम्झना भयो । टोल भेला, बजेट, प्रशासकीय कामलगायत राजनैतिक विषयका धेरै कुराहरुको जानकारी पाएपछि २०७९ को निर्वाचनमा उनले वडा सदस्यका रुपमा निर्वाचित हुँदै कार्यपालिका सदस्यमा बनिन् । ५ वर्ष अघि र पछि निर्वाचनमा भाग लिंदा र राजनीति गर्दा उनले आफुमा धेरै परिवर्तन भएको महसुस गरिन् । उनी भन्छिन्, ‘राजनीति गर्नुअघि राजनीति के हो र किन गर्ने भन्ने बारेमा स्पष्ट हुन जरुरी रहेछ । पहिले म न आफु स्पष्ट थिएँ, न आफुले गर्ने कामका बारेमा ।’

डडेलधुरा तथा बैतडी जिल्लामा राजनीति गर्न चाहाने तथा संलग्न रहेका महिलाहरुको क्षमता विकास गर्दै उनीहरुलाई सक्रिय राजनीतिमा संलग्न गराउने उद्देश्यले अक्सफाम र ग्रामिण विकास सशक्तिकरण मंच (रुडेक)ले सञ्चालन गरेको ’महिला नेतृत्व मंच’ मार्फत संचालन गरिएको महिला नेतृत्व तालिमबाट भुलजस्ता १५७ महिलाहरुको क्षमता अभिवृद्धिमा सघाउ पुगेको रुडेककी कर्मचारी चन्द्रा शर्माले बताउनुभयो । मंचको तालिम लिएका डडेलधुराका १२ जना महिलाहरु २०७९को निर्वाचनमा सहभागी भएकोमा १० जना निर्वाचित भएका छन् । जसमध्ये ३ जना दलित महिला छन् ।  

मंच गठन गर्नुअघि नै ती पालिकाका महिलाहरुलाई कस्ता खालका तालिम आवश्यक छ भनेर अध्ययन गरेपछि मात्रै महिला नेतृत्व तालिम संचालन गरिएको उनी बताउँछिन् । पाठ्यक्रम निर्देशित तालिम नभए पनि आवश्यक विषयबस्तु निर्धारण गरेर पालिकाकै सम्बन्धित विषयका विज्ञद्वारा महिलाहरुलाई सिकाउने तथा बुझाउने काम भएको थियो । जस्तैः महिला हिँसाका बारेमा तालिम दिंदा पालिकाका महिला शाखाका सम्बन्धित व्यक्तिले तालिम दिएका थिए । यही व्यवहारिक तालिमले गर्दा नै राजनीतिलाई सजिलोसंग बुझ्न सकिएको प्रमिलाको भनाई छ । ‘नेतृत्व विकास, योजना तर्जुमा, बजेट, क्षमता विकास, हिँसा, छुवाछुत, छाउपडी, बालविवाह, मेलमिलाप, राजनीतिक क्रियाकलाप, अभिव्यक्ति कला लगायतका विषयमा गरिएको तालिम तथा छलफलले माहिलाहरुको बुझाइमै परिवर्तन भएको पाइएको छ’, शर्माले भनिन् । अझ प्रत्येक महिना बस्ने बैठकमा महिलाहरुले गरेका गतिविधि, बुझेका कुराहरु, वडामा भएका गतिविधिका बारेमा समिक्षा गर्दा एक–आपसमा सिकाइको वातावरण सिर्जना भएको छ भने महिलाहरुलाई उपलब्ध गराइएको सम्बन्धित विषयका पुस्तकहरुले समेत सिकाइमा थप सहयोग गरेको उनको अनुभव छ । 

डडेलधुराको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा मंच गठन गरिएको थियो । प्रत्येक समूहमा २५–२५ जनाको मंच गठन गरीएता पनि यसको आवश्यकता महसुस गरी धेरै महिलाहरुले सहभागिताका लागि स्वतः इच्छा देखाएको बताउँदै उनी भन्छिन्, ‘दुई पालिकाका प्रत्येक वडाबाट निर्वाचित महिला जनप्रतिनिधि २÷२ जना र आगामी दिनमा राजनीति गर्न तथा उमेद्वारी दिन चाहाने महिलाहरुलाई तालिममा सहभागी गराइएको थियो । डडेलधुराका दुई ओटा पालिकाका दुई ओटा महिला मंचमा ६७ जना महिला आवद्ध छन् ।’ गन्यापधुरामा ५ र अमरगढी नगरपालिकामा ११ ओटा वडाहरु छन् ।  

तालिम पाएका महिलाहरुमा अहिले उल्लेखनिय परिवर्तन आएको महसुस गरेको बताउँदै चन्द्रा भन्छिन्, ‘पहिला जनप्रतिनिधि हुँदा उनीहरु अलमलमा हुन्थे । बैठकहरुमा सहभागी भएर आफ्नो राय पेश नै नगरी हस्ताक्षर मात्र गरेर फर्कन्थे । तर आजभोलि बैठकमा सहभागी भएर आफ्ना राय राख्छन्, चित्त नबुझेका कुराहरुको तत्कालै खण्डन र खबरदारी गर्छन् । पहिलाको तुलनामा बुझाइमा धेरै विकास भएको छ ।’    

हुन त जे काम गर्दा पनि सुरुमा त्यससम्बन्धि ज्ञान र दक्षता जरुरी हुन्छ । राजनीति पनि त्यस्तै हो । बुझेर र नबुझी राजनीति गर्नुमा आकाश जमिनको फरक हुने बताउँदै प्रमिला भन्छिन्, ‘मलाई विश्वास गरेर भोट दिनेहरुका लागि मैले के योगदान गर्न सक्छु भन्ने कुरामा स्पष्ट हुन जरुरी हुने रहेछ । म राजनीति सुरु गर्दा त्यस्तै भएँ । वडा सदस्यका रुपमा मेरो नाम मात्र थियो, मेरो पदको कुनै भूमिका र अस्तित्व थिएन । अहिले मैले राजनीतिमा आफ्नो अस्तित्व फेला पारेकी  छु ।’ तालिममा सहभागी नभएको भए यी कुराहरु राम्ररी बुझ्न आफुलाई थप ५ वर्ष लाग्ने बताउँदै यसले गर्दा अलमलमै बित्ने समय उत्पादनमुलक र सिर्जनशील भएको उनको धारणा छ ।

तालिमकै कारण प्रमिलामा थप आँट बढेको छ । त्यसमा उनको परिवारको समेत पूर्ण सहयोग छ । आगामी निर्वाचनमा वडाअध्यक्ष या उपाध्यक्षमा उमेद्वारी दिने उनको चाहाना छ ।    
महिलाहरुको बढ्दो क्षमताका कारण आफूलाई काम गर्न निकै सहज भएको गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवा बताउँछन् । ‘वडाका कर्मचारी तथा वडा सदस्यहरुले टोल टोलमा पुगेर जनताका दुःख, अप्ठ्यारा, आवश्यकता र सम्बोधन गर्नुपर्ने कुराहरु ल्याएर कार्यसमिति बैठकमा प्रस्तुत गर्नुहुन्छ । त्यसो गर्दा स्थानिय रुपमा अप्ठ्यारामा परेका मानिसहरुको समस्याको सम्बोधन हुने गरेको छ’, उनले भने ।  

स्थानिय निर्वाचन ऐन २०७३ ले दलगत मनोनयनमा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहनुपर्ने व्यवस्था गरेको छ भने वडास्तरमा अनिवार्य रूपमा दुई महिला सदस्य सुनिश्चित गरेको छ । कानुनले व्यवस्था गरे पनि राजनीतिमा महिला सहभागिता न्युन नै रहेको अवस्थामा यस्ता तालिमहरुले प्रमिलाजस्ता महिलाहरुको राजनीति प्रतिको बुझाइ, आकर्षण तथा अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि सघाउ पु¥याउँछ ।