• आइतबार, १६ बैशाख, २०८१
  • ११:००:५७

पुरानो मान्छे !

मलाई काठमाडौंको व्यस्त सडकमा भेटिएका परिचितहरुसंग परैबाट मुसुक्क मुस्कुराउँदै सरक्क हात हल्लाएर हिंड्न मन पर्छ । साँझ बिहान त फुटपाथमा पनि यति भिडभाड हुन्छ कि कसैलाई टुप्लुक्क भेटेर दुई चार बात गर्न थाल्दा आफू हिंड्दै नहिंडी त्यही भिडमा ठेलिँदा ठेलिँदै कलंकीमा उभिएको मान्छे बाफलको पुल पुगेको पत्तै हुँदैन । त्यति हुँदासम्म पनि बाटोमा टुप्लुक्क भेटिएको परिचितको कुरो सकिंदैन ।  
‘ए...हिं, हिं, हिं...! —हवस् त हवस्’, भनेर बिदा हुन खोज्यो, ‘अनि...चाइनी...भनेर गफ पेलेको–पेलेइ, पेलेको–पेलेइ...।  

मान्छेलाई कति गफ छाँट्न आउने । कहिलेकाहीँ त लाग्छ, गफ गर्न नपाएर त्यो मान्छेलाई साह्रै सगसग–सगसग भइरहेको छ । अब मलाई गफ दिएपछि दुई–चार दिनलाई उसको बोझा हलुका हुने भयो । बुढापाकाले भन्छन् नि ‘धर्मकार्ज्य’—हो त्यस्तै । बिचराको कुरो मात्रै सुनिदिनु भनेको पनि ‘धर्मकार्ज्य’ नै हो । तर उसको कुरा सुन्न मन नलागेर दिमाग तातेर, त्यसै त्यसै धुवाँ निस्केलाजस्तो हुँदा त्यसको भरपाई चाहिँ कसले गरिदिन्छ ? सेवा बिनाको मेवा र मेवा बिनाको सेवा खासै स्वादिलो नहुने । खल्लो, खल्लो, टर्रो टर्रो–अलि बेस्वादिलो ! 

सेवा बिनाको मेवा र मेवा बिनाको सेवा खासै स्वादिलो नहुने । खल्लो, खल्लो, टर्रो टर्रो–अलि बेस्वादिलो ! 

अलि रवाफिलो मानिस भेटिए त गफ लडाउन पनि मजै हुन्छ, झुर मानिसको गफ के सुन्नु । मलाई दुनियाँमा सबैभन्दा बढी झर्को लाग्ने भनेको ज्ञान दिने मानिससंग हो । ज्ञानको कमि भएको महसुस हुँदा म आफैं ध्यान दिएर ज्ञान खोज्दै हिंड्नेछु । खोजेको बेला पाइएको ज्ञान साह्रै उपयोगी हुन्छ । पोलियो थोपा जस्तो जबर्जस्ति मुख आँऽऽऽ गराएर कोच्याइदिएको ज्ञान मलाई निकै तितो लाग्छ । बोझिलो लाग्छ । बरु मलाई ज्यान दिने मान्छे मन पर्छ, ध्यान दिने मान्छे पनि मन पर्छ । तर यो ज्ञान दिने मान्छे खासै निको लाग्दैन ।  

यति भनेपछि भूमिका बाँध्न पनि पुग्यो मलाई । मेरो कुरोको मतलब लगभग लगभग बुझ्नुभयो होला । सके मेरो बारेमा पनि अलि अलि बुझ्नुभयो । अब पेटबोलीलाई पक्रिन्छु है त । 

पेटबोली बोल्न थाल्दा, अघिको कुराको फ्ल्यास ब्याकमा नगइ सुख्खै छैन । कुरो हो एक दिनको । म हावा खाउँ भनेर चोकतिर निस्किएकी थिएँ । देख्छु त, मान्छे यति हतारिएर हिंडिरहेका !, मानौं उनीहरु अमर छन् र यसरी नै कुदिरहन्छन्—जुगौं जुगसम्म । म एउटी छु जो तिनीहरु हतारिएको हेरेर पनि मजा लिन्छु ।     

त्यही क्रममा एकदिन चिनजानको बहिनीसंग बाटैमा भेट भयो । अस्तिनै सिंगान पुछ्न पनि नजान्ने बहिनी अहिले त निकै रिमिक्क परेर हिड्दी रैछे । हुन त म पनि सिंगान पुछ्दै पुछ्दै जन्मिएको मनुष्य होइन । पछि, सिंगान पुछ्यो भने सफा भइन्छ भन्ने भ्रम भयो र पुच्छ्न थालेकी हुँ । उसको केसमा पनि त्यही भएको हुन सक्छ, भन्ठान्नु पर्ला । ल अगाडि पनि बढौं—। भेटेपछि त्यही हो, हालखबरका कुरा, व्यक्तिगत, पारिवारिक र छर छिमेकका कुरा । हालखबर आदान–प्रदानपछि—‘ल लागौं है त’ मात्र के भन्न आँटेकी थिएँ, उसले आफुसंगै भएको मानिसलाई मेरो परिचय गराई । ’सुन त, उहाँ चाहिँ हाम्रो गाउँको दिदी । हामी एउटै स्कुलमा पढ्थ्यौं । तर उहाँ निकै पुरानो मान्छे हो । मभन्दा धेरै अगाडि पढ्नुभएको उहाँले ।’     

अरु कुरा त ठिकै थियो, ‘पुरानो मान्छे’ भन्दा चाहिँ ताजुब लाग्यो । ऊ ५ कक्षामा पढ्दा म १० मा थें’ । म पुरानो मान्छे रे, ऊ चाहिँ न्ययाँ; फ्रेस ! —यस्तो नयाँ कि, टिलिक्कै टल्किरहेकी छे । मानौं, गुडिया पसलमा पुगी भने ‘कति नयाँ गुडिया, मेरो बच्चाले देख्यो भने रमाइलो मानी मानी खेल्छ’ भनेर तोते बोली बोल्दै गरेको बच्चा भएकी आमाले उठाएर लैजान्छिन् । अचम्म ! तपाईं आफैं भन्नोस् न, म ८० वर्षको हुँदा ऊ पनि ७५ वर्षकी हुन्छे । म ७० नै हुँदा पनि ऊ ६५ त पुगीसक्छे । मेरो गाला चाउरी पर्न थाल्दा उसको पनि आँखामा रिङ्कल आउन त थाल्ला ।

एक हिसाबले त उसको कुरा ठिकै हो;—म टुकी बाल्ने जमानाको मान्छे । गाउँमा गाडी चलेको देख्दा गडीले उडाएको धुलोमा छोपिँदा पनि पछाडि पछाडि कुदेर सडक बाटो आएको ‘सेलिब्रेट’ गर्ने मान्छे । गिट्टीलाई गट्टा भनेर खेल्ने मान्छे, अनि कलम हरायो भने फेला पर्छ भनेर कागजको टुक्रामा ‘नेम कोड’ राखेर हिंड्ने मान्छे । म उन्नाइसौं सदाब्दीमा जन्मिएको मान्छे; पुराऽऽनोे मान्छे ।  

सबैले ‘बुढी भइस् ब्या गर्, बुढी भाइस ब्या गर्’ भनेको सुन्दा सुन्दै आजभोलि मलाई खुट्टो टेकेर हिंड्दा पनि लौरो टेकेर हिंडेजस्तो अनुभव हुन्छ भन्या ।     

उसले मात्र होइन, आजभोलि मलाई अर्काथरि अर्ती दिनेहरुले पनि त्यसै भन्छन् । उनीहरु भन्छन्,—‘बुढी भाइस् ब्या गर’ । अनि दोधार हुन्छु, बिहे गरेपछि पनि कसैको बुढी भइन्छ, म त बिहे नै नगरी बुढी भइसकें । अब पनि बिहे गर्दिनुपर्ला र ? अचम्म !  

त्यसपछि आउँछन्, सानोमा देखेका आफन्तहरु । ‘अस्तिसम्म त इत्री थी, अहिले त ब्या गर्ने बेला भइसकेछ’ । मेरो स्पेसल आफन्तले बढेको अनुभव गर्न पाउनुहुन्न भनेर नबढी बस्नु पनि त भएन । म आफ्नो सुरले बढें । म बढेको सुचना प्राविधिक गडबढीका कारण ती आफन्तसम्म पुर्याइदिन सकिनँ । म बढेको कुरो ख्याल गर्दागर्दै उनीहरुले आफू बुढो भएको याद गर्नै बिर्सिएछन् । त्यसैले त म भन्छु, म सधैं यत्रै छु—न बढेकी छु, न घटेकी नै । अँ त, मानिसहरुलाई यस्तो लाग्छ कि, ’ठुली हुनु’ र ’बिहे गर्ने बेला हुनु’ भन्ने वाक्यांश पर्यायवाची शब्द हुन् । सबैले ‘बुढी भइस् ब्या गर्, बुढी भाइस ब्या गर्’ भनेको सुन्दा सुन्दै आजभोलि मलाई खुट्टो टेकेर हिंड्दा पनि लौरो टेकेर हिंडेजस्तो अनुभव हुन्छ भन्या ।     

तर ऐना हेर्दा म आफूलाई जस्ती छु, त्यस्तै देख्छु । म सानी थिएँ भनेको सुन्दा मलाई हाँसो लाग्छ । म यत्रै नै थिएँ सधैं । मैले जहिले ऐना हेर्दा पनि आफुलाई यत्री नै पाएकी छु । बचपनकै कुरा गर्नुहुन्छ भने, मलाई ललिपप अहिले पनि मन पर्छ । ५ रुपियाँमा दुइटा आउने चाउचाउ म अहिले पनि बेला मौकामा किनेर कुटु–कुटु पारिरा’ हुन्छु । मेरो सबै ‘टेस्ट’ उस्तै छन् । जति बढेको भए पनि म आमाको आमा हुन सकेको छैन । म आमाकै छोरी भइरहेकी छु । म ठुली भएको होइन । दुनियाँलाई भ्रम भएको हो ।  

तपाईंलाई एउटा कुरा थाहा नहुन सक्छ, थाहा पाउनुभयो भने पनि खासै अनौठो चाहिँ नलाग्ला ।  अनौठै लाग्यो भने मेरो कुरो तलदेखि माथिसम्म अवश्य पनि हेर्नुहुनेछ । म नब्बेको दशककी नानी हुँ ।  मेरो हजुरबा पनि वि.सं १९९९ मा जन्मनुभएको रे । उहाँ अझै जवान हुनुहुन्छ; टिमटिम हिंड्नुहुन्छ । मलाई उहाँ पुरानो मान्छे हो भन्ने लाग्दैन । मलाई उहाँ हजुरबा हो भन्ने चाहिँ लाग्छ । म हजुरआमा भइसक्दा पनि हजुरबा मेरो हजुरबा नै रहनुहुहुन्छ । त्यसैले म सबैसामु एउटा कुरो जाहेर गर्न चाहान्छु, म ठुली भएकी छैन । नाइन्टिज किड कहिल्यै बुढो हुँदैनन् । ज्ञान दिने र ध्यान दिनेहरुमा समर्पित...