• आइतबार, १६ बैशाख, २०८१
  • १२:५३:४८

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

  • Netizen Nepal
  • शनिबार, १९ फाल्गुण, २०८०- १६:५२:००/ Saturday 03-02-24

काठमाडौँ I राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।  

त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी  टिम भान डेर गुग्टेनले २४ रन जोडदा  रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 

यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।

नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो । भोलि नेदरल्यान्ड्स र नमिवियाबीच खेल हुनेछ ।  रासस