• आइतबार, १६ बैशाख, २०८१
  • ११:२७:००

प्रहरीको पोलिग्राफ शाखाबाट ५ हजारभन्दा बढीको परीक्षण

काठमाडौँ । नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म  हजार  सय ७८ मुद्दाका  हजार  सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो ।

आर्थिक वर्ष २०७० र ७१ मा २ सय २५, आव २०७१ र ७२ मा ४ सय ६८, आव २०७२ र ७३ मा ३ सय ९१, आव २०७३ र ७४ मा ५ सय ४३, आव २०७४ र ७५ मा ५ सय ८५, आव २०७५ र ७६ मा ५ सय ८८, आव २०७६ र ७७ मा ७ सय ५९, आव २०७७ र ७८ मा ६ सय ५, आव २०७८ र ७९ मा ३ सय ८१, आव २०७९ र ८० मा ४ सय ८२ र चालु आवमा २ सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको जनाइएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २ सय ४१, पूर्वप्रहरी कर्मचारी छजना, नेपाली सेनाका ४०, राष्ट्रिय अनुसन्धान विभागका ५ र सशस्त्र प्रहरी बलका २९ गरी जम्मा ३ सय २१ जना रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिले बोलेका कुराको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ भएको र यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो ।

नेपाल प्रहरीमा विसं २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ ।”

यस प्रविधिलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणको प्रयोगलाई विशेष ध्यान दिने गरिएको र समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कनसमेत गर्ने गरिएको प्रवक्ता ढकालको भनाइ छ । पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्टटेष्ट गरी तीन चरणमा परीक्षण गरिने गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको र आशङ्कित व्यक्तिले झुठ बोलेरनबोलेको परीक्षणले सङ्केत गर्ने गर्दछ ।

चालु आर्थिक वर्षको माघसम्मको ७ महिनामा १ सय ४३ वटा मुद्दाका २ सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको प्रवक्ता ढकालले बताउनुभयो । तीमध्ये २ सय ६३ पुरुष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको सङ्केत  १ सय ६ जना, झुठ नबोलेको सङ्केत १ सय ७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणका लागि अपर्याप्त सङ्केत एकजनामा देखिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्याक्ति वा शङ्कित वा पीडित वा साक्षीहरूले बोलेको कुराको सत्यता परीक्षण गर्नका लागि पोलिग्राफको प्रयोग गरिने तथा पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुरा पहिचान गर्न सकिने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नवीनराज राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यताअनुरुप परीक्षण गर्ने गरिएको र कार्यरत कर्मचारीको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।”

हाल केन्द्रीय पोलिग्राफमातहत रही अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत ७ वटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको प्रहरीले जनाएको छ ।