नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
-
नेटिजन संवाददाता
- मंगलबार, २९ फाल्गुण, २०८०- १६:४४:००/ Tuesday 03-12-24

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८.५८ अङ्कले बढेर २ हजार १ सय ११.२४ अङ्कमा कायम भएको छ । करिब १ महिनापछि मंगलबार नेप्से परिसूचक २ हजार १ सयको बिन्दु नाघेको छ ।
विभिन्न ३ सय ५ कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता शेयर ८२ हजार ७ सय ४६ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५.४४, लघुवित्त समूह ५.०५ र होटल तथा पर्यटन समूह ३.९३ प्रतिशतले बढेको छ । बैंकिङ ३.१०, विकास बैंक २.१७, वित्त समूह २.२९, जलविद्युत् ०.९९, लगानी समूह १.८७ र उत्पादन तथा प्रशोधन समूह २.३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड १.५५, निर्जीवन बीमा ३.१५, व्यापार १.६९ र अन्य समूह १.६४ प्रतिशतले बढेको छ ।
साथै ५ वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार ७ सय ८६ बराबरको ६ लाख ७३ हजार ७ सय ६ कित्ता किनबेच भएको छ । रासस।