• शनिबार, १५ बैशाख, २०८१
  • ०९:४१:२९

अरुण तेस्रो जलविद्युत् आयोजना : कति सकियो काम ?

काठमाडौं   सङ्खुवासभामा निर्माणाधीन  सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्‌गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजनाको मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।

यसैगरी चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्‌गृह निर्माण भइरहेको छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब २ वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ ।

परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको १ वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख गरिएको छ । पिडिएअनुसार परियोजनाबाट रु १ अर्ब ६० करोड स्थानीयलाई शेयर दिइने छ ।

करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतीय सहित ४ हजार कामदार कार्यरत छन् ।

जलविद्युत् उत्पादनको केन्द्र मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले ४ वटा ठूला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि ३ हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ ।

अरुण तेस्रोकै ढाँचामा सतलजले तल्लो अरुण ६ सय ६९ मेगावाट निर्माणका लागि मुआब्जा वितरणको तयारीमा छ । यी दुवै आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने छ ।

माथिल्लो अरुण १ हजार ६३ मेगावाटको विद्युत् आयोजना निर्माणको जिम्मा भने नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाका लागि भोटखोलामा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । किमाथाङ्का अरुणबाट ४ सय ५४ मेगावाट बिजुली निस्कन्छ । यसका लागि २ सय ९० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।एनटिभि।