चीनको सम्पत्ति विकास लगानी: पहिलो २ महिनामा ९ प्रतिशतले गिरावट
-
नेटिजन संवाददाता
- सोमबार, ५ चैत, २०८०- १५:२३:००/ Monday 03-18-24

काठमाडौं । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो २ महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब १ खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस)ले सोमबार बताएको छ ।
यसै अवधिमा नवनिर्मित सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २०.५ प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ ।
मूल्यको हिसाबले वार्षिकरूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९.३ प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्याङ्कले देखाएको छ ।
यस वर्षको पहिलो २ महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा ९.६ प्रतिशतको गिरावटको तुलनामा ०.६ प्रतिशतले कम भएको एनबिएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताउनुभयो ।
सम्पत्ति बिक्री र घरको मूल्य दुवैको तथ्याङ्कका आधारमा चीनको सम्पत्ति बजार अझै समायोजन र रूपान्तरणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
नयाँ सहरीकरणको विकास प्रवृत्ति र रियल इस्टेट बजारमा आपूर्ति र मागमा आएको परिवर्तनलाई अपनाएर चीनले घरजग्गाका लागि नयाँ विकास मोडेललाई बढावा दिने उहाँको भनाइ थियो । रासस।