• मंगलबार, १८ बैशाख, २०८१
  • ११:१८:४१

पहरामा टाँसीएका अनौठा आकृति

वासुदेव अवस्थी पहिलोपटक ऐनापहरा पुगेका रहेछन्।  नुवाकोटको विदुर नगरपालिका-११ का उनी मुक्तिनाथ जान ४० जनाको टोलीसँग थिए। आबुखैरेनी-२ मा एक घन्टा रोकिए र घुमे ऐनापहरा। पहराबाट लामो झरना खसेको छ। नजिकै रहेको बडेमानको ढुंगामा विभिन्न आकृतिहरू कुँदिएका छन्।

ती आकृति हेरेर रोमाञ्चित नहुने सायदै होलान्।  ढुंगामा कुँदिएका गणेश, आमा र बच्चा तथा परीको आकृतिले मनमोहक बनाएको वासुदेवले सुनाए।

‘ढुङ्गामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो । ढुङ्गामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ,’ उनले भने।

अवस्थीले ऐनापहराको प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्ने बताए।‘म पनि फर्केपछि आफ्ना साथीभाईलाई यो ठाउँका बारेमा सुनाउँछु,’ उनले भने। 

 ऐनपहरा हेर्न फ्रान्सबाट आएकी एक महिलाले पनि त्यहाँ कुँदिएका आकृतिहरूको प्रशंसा गरिन्। ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो। यहाँ दैनिक दुई सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन्।

पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले बताए। उनका अनुसार गत माघदेखि यहाँका ढुङ्गामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो। ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाएका हौँ,’ चुमानले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौं।’

झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिए। उनका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ। ‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ,’ उनले भने।

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ। कलकल बगेको पानी, हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन्।

पृथ्वीराजमार्गबाट एक मिनेटको दुरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ। राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका स्थानीय बताउँछन् ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको घुइँचो लाग्छ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न डिपिआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ। डिपिआर अनुसार यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ। रासस