• मंगलबार, ८ जेठ, २०८१
  • ०७:४९:१०

कोरिया–नेपालको सम्बन्ध अझ प्रगाढ बन्दै

  • Netizen Nepal
  • सोमबार, १७ बैशाख, २०८१- १३:०५:००/ Monday 04-29-24

काठमाडौं। दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध ५० औँ  वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । खासगरी नागरिक स्तरको सम्बन्ध मार्फत दुइ देशलाई जोड्नका लागि भएका प्रयासहरु प्रभावकारी पनि भएका छन् । यसै क्रममा  गणतन्त्र कोरियाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध ५०औँ वार्षिक उत्सबको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल सरकारले आरोहणका लागि पहिलो पटक खुला गरेको सिन्धुपाल्चोक जिल्लाको जुगल हिमालको सफल आरोहण सम्पन्न भएको  अवसरलाई जोडेर यहि बैशाख १६ गते काठमाडैंमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  प्रख्यात कोरियाली पर्वतारोही तथा मानार्थ नेपाली नागरिक अम होङ गिलले  दक्षिण कोरियाली टोलीको नेतृत्व तथा कीर्तिमानी आरोही दावा याङ्जुम शेर्पाले  नेपाली टोलीको नेतृत्व गर्दै यहि २०२४ अप्रिल ५ तारिखबाट २७ अप्रिल, सम्म  नेपाल र कोरियाको समूहले संयुक्त रुपमा आरोहण सम्पन्न गरेको थियो । 

संयुक्त आरोहण दलको सफल आरोहणले गणतन्त्र कोरिया र नेपाल दुई देशबीचको पर्यटन क्षेत्रमा नविन सहकार्यको थालनीका रूपमा लिन सकिने कार्यक्रमका वक्ताहरुको भनाइ थियो । सहभागित वक्ताहरुले यो प्रयासले  दुई देशबीचको सुमधुर मित्रतालाई थप मजबुत बनाउनुका साथै नेपालको प्राकृतिक सौन्दर्यता र पर्यटन क्षेत्रमा नयां गन्तव्यले पर्यटकको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने बताउँनुभयो । संयुक्त आरोहणले कोरिया  र नेपाल दुई देशबीचको पर्यटन क्षेत्रमा अविस्मरणीय अनुभव साटने तथा पर्यटन क्षेत्रमा सहकार्यको सम्भावनालाई थप मजबुत बनाएको उहाँहरुको भनाइ थियो । 

कोरिया र नेपाल मैत्री अभियान २०२४ ले  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठलाई स्मरणीय बनाएको  संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङ्गले बताउनुभयो । उक्त अवसरमा उहाँले आरोहरण टोलीलाई  शुभकामना तथा वधाई दिदै दुई देशवीच  कूटनीतिक सम्बन्ध स्थापना भएको विगत ५० वर्षमा दुवै देशले सदैव एकअर्कालाई सम्मान र विश्वास गर्दै आएको, मैत्रीपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा आपसी हितकारी सहयोगले फलदायी नतिजा दिएको  बताउनु भयो । 

उक्त कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत श्री पार्क थेयङज्यूले ५० वर्षको यात्रालाई उच्च मूल्याङकन गर्दै आपसी सम्मानका साथै विगत देखिको मित्रवत सम्वन्धको निरन्तरताको अपेक्षा राख्नु भयो।  नेपालको आर्थिक विकासमा कोरिया सरकारको योगदानलाई निरन्तरता दिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो। मन्तव्यका क्रममा उहांले व्यावसायिक शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधि क्षेत्रमा कोरिया सरकारले विगत १५ वर्ष देखि लगातार विकास साझेदार मुलुकको सूचिमा नेपाललाई समावेश गरिएको बारेमा उल्लेख गर्नुभयो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, विभिन्न मुलुकका कूटनीतिज्ञ, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी, पर्यटन क्षेत्रका व्यवसायी तथा जुगल हिमाल  आरोहण टोलीका  सदस्यको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेपाली वक्ताहरुले नेपाली कामदारले कोरियाबाट रोजगारी संगै शिप र अनुशासन समेत सिकेको र यसबाट नेपाली समाजलाई नै सकारात्मक सन्देश दिन सकिएको बताएका थिए । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।