• शनिबार, ५ जेठ, २०८१
  • ०७:१४:४०

कैलालीका थारु समुदायमा भजहरको रौनक

काठमाडौं।  शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका  सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्र्किए । 

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैंयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित २ रात बास बसेर उनीहरु घर फर्के । 

यसरी नदी छेउ गएर खुला चौरमा उनीहरु कुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुर लगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुदायले गर्ने पूजामध्ये एक हो ।

यो पूजासँगै थारु समुुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ । 

भजहरको दिन बिहानै गुरुवा मार्फत् नव दुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुशी पार्न पशुपंक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुुधराम चौधरीले जानकारी दिनुभयो । यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताउनुभयो । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर, कुखुरा बलि दिने गरिन्छ । 

दुर्गालाई पूजा गरे सुख शान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरी बताउनुहुन्छ । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले  ९ देखि ७ दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले  १  दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि ५ दिन, ३ दिन र साढे २ दिन पनि बस्ने गरिन्छ । कठरिया समुदायमा २ दिन पुरा र १ दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका वडा न ११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिनुभयो । 

भजहरको किम्वदन्ती 

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुट्टा छुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा। रामप्रसाद चौधरी बताउनुहुन्छ । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले सुनाउनुभयो । रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात, जब रामले गर्भवती सीतालाई पुनः वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरी बताउनुहुन्छ । 

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुरुवाहरुले दुर्गाको पूजा आजा गर्ने चलन जोडिँदै गएको डा। चौधरीले जानकारी गराउनुभयो ।  उहाँका अनुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पुजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ । 

थारु समुदायको देवी–देवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेत लगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरी बताउनुहुन्छ । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उहाँले जानकारी गराउनुभयो ।  

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुुसी राख्न सके परिवार र गाउँ समाज नै सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबै जना जम्मा भएर एक अर्काका सुख दुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरी बताउनुहुन्छ । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रही आएको छ ।  रासस।