ट्राफिक कारबाट १४ करोड बढी राजस्व सङ्कलन
-
नेटिजन संवाददाता
- शुक्रबार, ४ जेठ, २०८१- १०:१८:००/ Friday 05-17-24

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार ३ सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।
सो कारबाहीबाट रु. १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा १ लाख ८४ हजार ३ सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गर्न कारबाही गरेको हो ।
दुई सय ६१ जनाको मृत्यु
उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका १ हजार १ सय ७६ सवारी दुर्घटनामा २ सय ६१ जनाको मृत्यु भएको तथा २ हजार ५ सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।
उक्त कार्यालयले गत आवमा २ लाख ९१ हजार २ सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५ सय राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा १ हजार ३ सय ६२ सवारी दुर्घटनामा ३ सय ४ जनाको मृत्यु भएको थियो । आव २०७८-७९ मा २ लाख ५० हजार ९ सवारी साधनमाथि कारबाही गरी रु २ करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो ।रासस।