• आइतबार, ६ जेठ, २०८१
  • १०:३५:५९

विद्युत उत्पादन ठप्पले घाटैघाटा

काठमाडौं  पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका-७ गुठी सूर्यपुरास्थित जलविद्युत केन्द्रको उत्पादन करिब  २ महिनादेखि बन्द रहेको जलविद्युत केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । 

जलविद्युत केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । 

जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो ।

यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक-मङ्सिर र चैत-वैशाख गरी  २ पटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले ५ देखि साढे ५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । 

तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि ८ लाखसम्म घाटा रहेको जलविद्युत केन्द्रका प्रमुख भुसालले बताउनुभयो । ३ वटा टर्वाइन भएको जलविद्युत केन्द्रमा  २ टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । यसै गरी गण्डक जलविद्युत केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । रासस ।