• शनिबार, १२ श्रावण, २०८१
  • १२:४३:३८

बबईको पानी तुलसीपुर ल्याइँदै

 काठमाडौं। दाङ जिल्लाको दक्षिणी क्षेत्र भएर बग्ने बबई नदीको पानी लिफ्टिङ प्रविधिबाट तुलसीपुर ल्याउन थालिएको छ । तुलसीपुरको उत्तरी क्षेत्रका मुहान सुक्दै गएपछि बबईको पानी ल्याउन थालिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको बजार र ग्रामीण क्षेत्रका वडामा खानेपानी वितरण गर्दै आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५६ करोड ८० लाखको लागतमा पानी ल्याउन थालेको हो । 

संस्थाले ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडामा १० हजार ७ सय धारा वितरण गरेको छ । संस्थाका सचिव सेवकराम भण्डारीका अनुसार बबईको पानी तुलसीपुरमा ल्याएपछि थप ४ हजार  ७ सय धारा वितरण गर्न सकिने बताउनुभयो । संस्थाले हाल १२ वटा बोरिङ र  ७ वटा मुहानबाट प्राप्त भएको पानी वितरण गर्दै आएको छ । संस्थाका सचिव भण्डारीका अनुसार बबई नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट ११ किलोमिटर उत्तरतर्फ तुलसीपुर बजार क्षेत्रमा ल्याएर वितरण गरिने छ । 

सचिव भण्डारीले बबईको पानी ल्याएपछि बजार क्षेत्रमा २० वर्षसम्म निर्धक्क भएर खानेपानी सहजै वितरण गर्न सकिने बताउनुभयो । हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ भने २०८२ असार महिनासम्म बबईको पानी उपभोक्ताको घरसम्म पुर्याइने योजना छ । बबई नदीको पानीलाई घोराही खानेपानी उपभोक्ता तथा संस्थाले समेत लिफ्टिङ प्रविधिबाट बजार क्षेत्रमा ल्याउने कामको सुरुवात गरेको संस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताउनुभयो । गोरखापत्र।