• शनिबार, १२ श्रावण, २०८१
  • १०:०३:५४

संग्रहालयको विकासका लागि घर -घरबाट काम गरौं : उपसभामुख राना  

काठमाडौं । संग्रहालय क्षेत्रका सरोकारवाला, संग्रहालयकर्मी र विज्ञहरुले नेपालको मूर्त र अमूर्त सम्पदाको  विकासका  लागि संग्रहालयको विकास आवश्यक भएको र त्यसका  लागि सबैसंग  सहकार्य र साझेदारीमा जोड दिनु पर्ने बताएका छन् । नेपालका संग्रहालयकर्मी आबद्ध संस्था आइकम नेपालले अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रम सहभागिहरुले उक्त कुरा बताएका हुन् । रसियन हाउसको सहयोग र नबिल बैंकसंगको सझेदारीमा  आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले हाम्रो इतिहास, संस्कृति र सभ्यताको विविधताले हामीलाई घर घरमा संग्रहालय बनाउँने अवसर दिएको छ ।

यो अवसर र संभावनालाई सबै क्षेत्रको योगदानबाट उपयोग गर्ने सकिने र यसैबाट नै संग्रहालयको विकासको यात्रा तय गर्न सकिने भएकाले घर घरबाट काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संग्रहालयलाई सिकाइ केन्द्रको रुपमा विकास गर्दै विद्यालय तह देखि विश्वविद्यालयसम्मका विद्यार्थीसंग जोडेमा यसबाट उनिहरुको सिकाईलाई सजिलो र प्रभावकारी बनाउने सकिने धारणा राख्नुभयो । उपसभामुख रानाले संग्रहालय सम्बन्धी कानूनको आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै यो कानूनलाई अघि बढाउँने आवश्यक अग्रसरता लिने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले नेपालका संग्रहालय स्थापना र संचालनका लागि विशिष्ट कानून नभएको तर छरिएर रहेका कानून मार्फत काम गर्नु पर्ने भएकाले संग्रहालयको अभिलेख र अनुगमनमा समेत अप्ठ्यारो भइरहेको बताउँदै  संग्रहालय सम्बन्धीको कानूनको  आवश्यकता बढेको बताउनुभयो । उहाँले मन्त्रालयले २०६४ सालमा नै संग्रहालय सम्बन्धी कानूनको मस्यौधा तयार गरे पनि अघि बढ्न नसकेको जानकारी दिदै अहिले फेरी अर्को मस्यौधाको तयार भइरहेको र यो मस्यौधाले कानूनी रुप पाउँनेमा विश्वास ब्यक्त गर्नुभयो । श्रेष्ठले संग्रहालयहरुलाई अनुरान्धानमा लागनी बढाउँनका लागि अनुरोध गर्नुभयो ।

काठमाडौंस्थित रसियन हाउसका निर्देशक एन्टोन मस्लभले नेपालमा संग्रहालयको विकासको प्रसस्त संभावना भएको भन्दै खासगरी संग्रहालयलाई शिक्षा र अनुसन्धानमा उपयोग गर्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउँनुभयो । मस्लभले रसियामा संग्रहालयको विकास धेरै नै भएको प्रसंग जोड्दै नेपालले संग्रहालय क्षेत्रको अनुसन्धानमा कार्यलार्य जोड दिएका यसको विकासका लागि पनि मद्दत पुग्ने धारणा धारणा राख्नुभयो ।

आइकम नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले अन्तर्राष्ट्रिय संग्रहालय दिवसमा आयोजित  कार्यक्रममा भएको उच्च सहभागिताले आइकमलाई थप काम गर्ने प्रेरणा र उर्जा मिलेको भन्दै यहाँबाट आएका सुझावहरु आइकमका लागि आगामी दिनका मार्ग दर्शन बन्ने धराणा राख्नुभयो । उहाँले आइकम नेपाल सम्बन्धित् सबै क्षेत्रसंग सहकार्य र हातेमालो गर्न तयार रहेको भन्दै यसका लागि आइमकले थप पहल गर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग प्रमुख प्रा. डा. सोमप्रसाद खतिवडा र पाटन संग्रहालय विकास समितिका सदस्य शोभानानी शाक्यले यस वर्षको अन्तर्राष्ट्रिय संग्रहालय दिवसको नारा शिक्षा र अनुसन्धानका लागि  संग्रहालय विषयमा प्रस्तुति राख्नुभएको थियो । उहाँहरुले  नेपालका संग्रहालयहरुमा शिक्षा र अनुसन्धानका  जे जति गतिविधि हुनु पर्ने हो, त्यो मात्रामा हुननसकेको दृष्टान्त उल्लेख गर्दै आइकम नेपालले आगामी दिनमा यतातर्फ ध्यान दिन सुझाव प्रस्तुत गर्नुभयो । 

सरकारी, सुरक्षा निकाय, विश्वविद्यालय, न्यायिक निकाय, सामुदायिक, निजि संग्रहालय तथा प्रज्ञा प्रतिष्ठानहरुलगायतबाट ६ दर्जन भन्दा बढिको  उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागिहरुले आइकम नेपालले आगामी दिनमा संग्रहालय क्षेत्रमा अनुसन्धान, क्षमता विकास र सचेतनाका लागि काम गर्न सुझाव दिएका थिए । सहभागिहरुले खासगरी देशभरका संग्रहालयलाई आइकममा जोड्नु पर्ने, साझेदारीलाई अझ बढाउँनु पर्ने र सचेतना तथा पैरवीका लागि कार्यक्रमको सघनता बढाउनु पर्नेमा जोड दिएका थिए । 

आइकम नेपाल फ्रान्सस्थित युनेस्को अन्तर्गत रहेको अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को राष्ट्रिय समिति हो ।  मे १८ तारिखमा अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाइने हुदा उक्त दिवसका लागि  आइकम पेरिसले नै नारा तय गर्छ र त्यहि नारामा आधारित भएर यो दिवस विश्वभरी मनाइन्छ । यहि सन्दर्भ पारेर आइमक नेपालले यो कार्यक्रम आयोजना गरेको हो । रसियन हाउस काठमाडौंको सहयोग र नबिल बैंकसंगको साझेदारीमा आयोजित उक्त कार्यक्रम नेपालमा संग्रहालयसंग जोडिएका शिक्षा र अनुसन्धानका बहुआयामिक पाटोलाई घनिभूत रुपमा उजार गरेको सहभागिहरुले बताएका थिए ।