• शनिबार, ८ असार, २०८१
  • ०४:३८:२१

फिल्म प्रदर्शन नजिकिदै, निर्देशक सुवेदी दौडधुपमा

नारी विभेद, स्वाभिमान र संघर्षको चित्रण सतीदेवी

काठमाडौं । पितृसतात्मक  मनोविज्ञान, संस्कार र अभ्यासले महिलालाई समाजमा सम्मान र गरिमासहित बाँच्न अझै पनि गाह्रो छ । कसैका लागि यी तर्कहरु अस्वीकार्य भए पनि गर्भ अवस्था, शिशुकाल, बाल्यकाल र वयस्क अवस्थासम्म नै बाँच्न, नाच्न र हाँस्न पाउँने आफ्नो अधिकारका लागि आफ्नै मान्छे र आफ्नै समाजसंग संघर्ष गरिरहेकाहरुका लागि भने यो जीवनको यथार्थ हो ।

कसैले यसलाई लैंगिक विभेद् भन्लान्, कसैले सामाजिक कुरितिको अवेशष भन्लान् कसैले हाम्रो परम्परागत अन्धविश्वास भनेर अथ्र्याउलान् । तर भरखरै निर्माण भएको सतीदेवी फिल्ममा भने मान्छेले मान्छेमाथि गरेको अन्याय, अत्याचार, शोषण र कुकर्म हो । त्यसमा पनि छोरी जन्मिएकै कारण एउटी आमा र उसका सन्तानले भोग्नु गरेको चरम दुब्र्यहारले घर परिवार र समाज नै गरिबी, विपन्नता र अभावको कुवामा थुनिएको हुन्छ । र, तिनै  अभ्यासहरु  सामाजिक रुपान्तरणका बाधकका रुपमा रहेको सत्यताकाो चित्रण हो सतिदेवी । 

यहि सेरोफेरोको हाम्रो सामाजिक यथार्थलाई चित्रण गरेको सतीदेबी चलचित्रले  प्रदर्शन अघि ब्यापक तयारी गरेको छ । यसैक्रममा भरखरै मात्र चलचित्रको दोस्रो पोष्टर सार्वजनिक भएको छ । एक दुधे शिशुकी आमालाई मलिन मुद्रमा चित्रण गरिएको उक्त पोष्टरमा दुई बालिकाहरु उनको दायाँबायाँ उभिएका छन् । पोष्टरले चित्रित पात्रहरु मार्फत उनिहरुले भोगेको पिडाको मर्मस्पर्सी भाव झल्काएको देखिन्छ । चलचित्रका निर्देशक लक्ष्मण सुवेदीका अनुसार फिल्मभित्रको  कथावस्तुको सारलाई झल्काउँनका लागि यो पोष्टर तयार पारिएको हो । 

“नेपाली समाजमा नारी अस्तित्व र गरिमाका लागि योगमाया देखि अन्य कैयौं महिलाहरुले क्रान्ति गरे, आवाज बुलन्द बनाए । कानून र औपचारिकतामा महिला पुरुषवीच समानता भएको देखाउँने प्रयास पनि भयो । तर अझै पनि घर घरमा लैंगिक विभेदको कसिंगर एक नारीको गर्भधारणबाटै शुरु हुने र यसले जन्म संगै हुर्काई, बढाइ हरेक क्षणमा फैलावटको रुप लिएको देखिन्छ । त्यहि फैलावट पछि पारिवारिक तथा सामाजिक कलहमा परिणत हुदै एउटा परिवार बर्बाद् हुन्छ भने समाज बद्नाम हुन्छ । जब परिस्थित नियन्त्रण बाहिर पुग्छ अनि मात्र गल्ती गर्ने पात्रले वास्तविकता स्वीकार गर्छ, जतिखेर ऊसंग आफूलाई धिक्कार्ने बाहेक विकल्प हुदैन । यो परिबन्ध विपन्न परिवारमा अझ बढि देखिन्छ । यहि परिवेशलाई समेटेर सतीदेबी बनाइएको हो“, निर्देशक सुबेदीेले नेटिजन नेपालसंगको कुराकानीमा भने ।

सुवेदीका अनुसार नयाँ पोष्टरबाट फिल्मको मर्मलाई झल्काउँने प्रयास गरिएको छ । लामो समय रंग पत्रकारितमा काम गरेका सुवेदी नेपाली समाजको बहुआयामिक विविधतालाई मिहिन ढंगले अध्ययन गरी वास्तविकतालाई कलात्मक ढंगले सरल रुपमा सन्देश तयार पार्ने क्षमता भएका युवा निर्देशक हुन् । फिल्मको पटकथा पनि सुवेदीले नै लेखेका हुन् । 

दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीले अभिनय गरेका छन् । 

आगामी साउन ४ गतेदेखि देशर प्रदर्शनीको तयारीमा रहेको सतीदेवीले दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म,शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म,सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेको छ । यी अवार्डहरुले पनि यो फिल्मलाई प्रदर्शन अघि नै चर्चामा ल्याएको छ ।  सुवेदी  सामाजिक विषयवस्तुको एक विशिष्ट पाटोलाई प्रस्तुत गरिएको यो चलचित्रको प्रदर्शन अघि नै धेरै चर्चा र चासो ब्यक्त भएको भन्दै यो फिल्मले लाखौं दर्शकको मन जित्नेमा आशावादी देखिन्छन् । 

निर्देशका सुवेदी यतिखेर महिला तथा बालबालिकाका क्षेत्र संग सम्बन्धित् सरकारी निकाय, नागरिक समाज तथा अभियान्ता र विज्ञहरुसंगको भेटघाटमा व्यवस्त छन् । सुवेदीले  यस फिल्मलाई व्यापारिक नाफा घटा भन्दा पनि यसमा समेटिएको सन्देशलाई व्यापक रुपमा फैलाएर सामाजिक जागरणमा योगादन कसरी पुर्याउँन सकिन्छ भन्ने रणनीति तय गरिरहेका छन् । प्रदर्शन अिघ नै फिल्मले विभिन्न अवार्डहरु जितिसकेकाले पनि यसको चर्चा बढिरहेको छ  भने सम्बन्धित् सरोकारवालाहरुले पनि फिल्मले उठान गरेको  सन्देशलाई  आम मानिस समक्ष फैलाएर एक अभियान नै संचालन गर्नका लागि सुझाव दिएको सुवेदी बताउँछन् । प्राप्त सुझावका आधारमा अघि बढ्ने रणनीति बनाउँन सुवेदी अहिले दौडधुप गरिरहेका छन् ।