• शनिबार, ८ असार, २०८१
  • ०४:४४:३०

मनसुनबाट १८ लाख बढी मानिस प्रभावित हुने

 

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । 

प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख १ हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ । 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल ४ लाख १२ हजार घरघुरीका १८ लाख १ हजारभन्दा बढी मानिस कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ ।   

गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले यसपाली सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उहाँले बताउनुभयो ।

गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भएकाले सोही अनुसार अघि बढेको डा भट्टराईले जानकारी दिनुभयो । मौसम विभागका अनुसार अब मनसुन भित्रिने समय नजिकिएको छ । सोही अनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । रासस।