• शनिबार, ८ असार, २०८१
  • ०४:३२:३५

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

 

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको २ नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले ३ दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै ५ हजार २ सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताउनुभयो । टोलीमा ६ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट ५ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी हुनुहुन्थ्यो ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म ५ जनाले अनुमतिपत्र लिएका उहाँले  जानकारी दिनुभयो । 

नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्न सहमति भएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले  संयुक्त रूपमा नाका पुनः सञ्चालनको घोषणा गर्नुभएको थियो ।रासस।