• आइतबार, १६ असार, २०८१
  • ०१:०५:२३

हिमा गाउँपालिका: छात्रवृत्तिमा डाक्टर,ईन्जिनियर र पाइलट पढाउँदै 

 

काठमाडौं । जुम्लाको गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम  र बजेट ल्याएको छ ।

सामुदायिक विद्यालय सुधारमा जोड दिँदै आएको हिमाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नीति र बजेट ल्याएको हो । 

हिमा गाउँपालिका भित्रका गरिब विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्र वृत्तिमा एमबीबीएस,इन्जिनियरिङ र पाइलट पढाउने भएको छ । पालिकाको १६ औँ गाउँसभाले ‘अध्यक्षसँग जनता कार्यक्रम’ अन्तरर्गत विभिन्न शैक्षिक सुधारका विभिन्न कार्यक्रम गर्नुका साथै एमबीबीएस, इन्जिनियरिङ र पाइलट अध्ययनका लागि प्रतिव्यक्तिलाई १० लाख छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पारित भएको छ । 

हरेक वर्ष एक/एक जनालाई एमबीबीएस,इन्जिनियरिङ र पाइलट तथा महिला तर्फ मास्टर नर्सिङ अध्ययनका लागि १० लाख छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । हिमाले शैक्षिक क्षेत्र सुधार र बालबालिकाको सिकाई वृद्धिका लागि गत वर्षबाट नियमित पढाई मेला गर्दै आएको छ । 

अध्यक्ष शाहीले भन्नुभयो,‘आगामी दिनमा पनि पढाइ मेलालाई पनि निरन्तरता दिइने छ । तर पालिकाभित्रै डाक्टर पाइटल जन्माउन आगामी आवदेखि कार्यान्वयन हुनेगरी एमबीबीएस,इन्जिनियरिङ र पाइलट पढाउने नीति ल्याएका छौ । रहेका प्रतिव्यक्तिलाई १० लाख छात्रवृत्ति दिने छौ । पढाई सकेपछि पालिकामा केही वर्ष सेवा गर्नुपर्ने मापदण्ड पनि बनाउने छौ ।’

शिक्षा प्रणाली सुधार नभई सामाजिक रूपान्तरण सम्भव नहुने तथ्यलाई स्वीकार गर्दै हिमाले आधारभूत तहदेखि उच्च शिक्षाको विकासका लागि उल्लेखीय लगानी गर्दै आएको छ । 

यसैबीच एकल पुरुषलाई भत्ता दिने कार्यक्रमलाई पनि हिमाले आगामी आवमा निरन्तरता दिने छ । भने, गैरसरकारी संस्थासँग एकद्धार प्रणाली मार्फत काम गर्न एनजिओ डेस्क स्थापना गर्ने, स्थानीय पाठ्यक्रम निर्माण तथा आधारभूत तहमा लागु गर्ने, निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिने,शिक्षकको क्षमता विकासमा लगानी बढाउने लगायतका नीतिलाई हिमाले प्राथमिकता दिएको छ । 

६/६ महिनामा पालिका स्तरीय खेलकुद प्रतियोगिता गर्ने,हिमा गाउँपालिकाका लोक सेवाबाट अधिकृत वा सोभन्दा माथिल्लो पदमा पुगेका लाई सम्मान गर्ने सहित कृषि,पर्यटन,सिँचाई,खानेपानी र पूर्वाधार विकास केन्द्रित नीति बजेट ल्याइएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । 

हिमा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो ।