• मंगलबार, १८ असार, २०८१
  • ०३:००:११

मनसुन सक्रिय : देशभर पानी पर्ने

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रवारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । 

केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । 

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले शुक्रवारदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभावले शुक्रवारदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका १-२ स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।