• आइतबार, २३ असार, २०८१
  • ०३:४५:०४

भजनी नगरक्षेत्र जलमग्न, ३ हजार बढी घर डुबानमा

 काठमाडौं । पछिल्लो समयमा देशभर मनसुन सक्रिय हुदै गर्दा बढी, डुबान र पहिरोजन्य विपद् बढेर गएको छ । यसले गर्दा ठूलो धनजनको क्षति पनि भएको छ । यसैविच कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो ।

 बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उहाँले जानकारी दिनुभयो । “वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्”, नगरप्रमुख चौधरीले भन्नुभयो, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।”

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । 

बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । “घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ”, उहाँले भन्नुभयो, “सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यो ।” लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् ।

काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताउनुभयो । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उहाँले जानकारी दिनुभयो ।

घर डुबानमा परेपछि मानिसहरु घरबारविहिन भएका छन् । हरेक वर्ष मनसुनको समयमा यस्तै समस्या दोहोरिने गरे पनि यसको स्थानीय समाधानको बारेमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । नगरपालिकाले भने यो समस्या स्थानीय सरकारले मात्र समाधान गर्न नसक्ने बताएको छ ।