• आइतबार, २३ भदौ, २०८१
  • ०५:२८:०३

उत्कृष्ट विद्यार्थीलाई १ लाखसहित सम्मान

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा (एसईई) परीक्षा दिएकामध्ये उत्कृष्ट १ छात्र र १ छात्रालाई आईतबार जनही १ लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो । 

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भूजेल र उपाध्यक्ष दावा लामाले वडा नम्बर १ सिपिङस्थित सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरी र वडा नम्बर ३ बेखसिम्लेको वनदेवी माविका छात्रा मीरा श्रेष्ठलाई जनही  १ लाखसहित सम्मान गर्नुभयो ।

छात्र गिरीले ३.७० र छात्रा श्रेष्ठले ३.३५ अङ्क प्राप्त गरेका थिए । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने ३ विद्यालयमध्ये पहिलो हुने शारदा माविलाई ५० हजार, दास्रो सेतिदेवी माविलाई २५ हजार र तेस्रो वनदेवी माविलाई १५ हजारले सम्मान गरिएको छ । 

गाउँपालिका अध्यक्ष भूजेलले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति उर्जा एवम् प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रल तथा छात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताउनुभयो । गाउँपालिकाका १ सय ९५ विद्यार्थीले २०८० सालको एसइईमा सहभागी भएकामा ५९ विद्यार्थी उत्तीर्ण भएका हुन् । गत शनिबार नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोकले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बनेपामा सम्मान गरेको थियो । 

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति दुजाङ शेर्पालागतयले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सङ्घले जिल्लामा सर्वोत्कृष्ट नतिजा (चार सिजिपिए) ल्याउने बनेपास्थित लिङ्कन इन्टरनेशनल स्कुलका छात्र स्मृति श्रेष्ठ, ३.९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, ३.९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, ३.९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, ३.९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरेको थियो ।

सामुदायिकतर्फ ३.८६ सिजिपिए ल्याउने भालेश्वर मावि पनौतीको अविना कार्की, सोही विद्यालयबाट ३.८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र ३.८३ सिजिपिए ल्याउने प्रभा मावि कात्तिकेदेउरालीका रिया गिरीलाई सम्मान गरियो । प्राविधिक धारतर्फ उत्कृष्ट ३.७९ सिजिपिए ल्याउने खाँडादेवी माविको प्रतिजा श्रेष्ठ, ३.६८ सिजिपिए ल्याउने जनक मावि नमोबुद्धका श्रीखण्डराज खनाल, ३.६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र ३.६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरिएको थियो । रासस ।