• शुक्रबार, २ कार्तिक, २०८१
  • ११:२८:३५

ओली नेतृत्वको सरकारमा २२ सदस्यीय मन्त्री परिषद्, को - को भए मन्त्री ?

  • Netizen Nepal
  • सोमबार, ३१ असार, २०८१- १२:१९:००/ Monday 07-15-24

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।  नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको छ । नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । 

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभाका २ ठूला राजनीतिक दल कांग्रेस र एमालेबिच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

ओली नेतृत्वको सरकारमा २ उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले  पनि शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्रीहरुमा कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखक गृह, र आरजु राणा परराष्ट्रमन्त्री  बन्नुभएको छ । 

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्नुभएको छ ।  तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री,  प्रदीप पौडेल स्वास्थ्य मन्त्री,  बद्री पाण्डे पर्यटन मन्त्री  र रामनाथ अधिकारी कृषि मन्त्री बन्नुभएको छ । 

त्यसैगरी एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,  मानवीर राई रक्षामन्त्री  बन्नुभएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी  बन्नुभएको छ भने शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ । 

लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री  र  जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक तथा  प्रदीप यादव खानेपानी मन्त्री  बन्नुभएको छ ।